काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएकी छन्। चुनावी सुरक्षामा कुनै पनि प्रकारको कमजोरी हुन नदिन र विगतका अनुभवबाट सिक्दै अझ प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन उनले विशेष जोड दिएकी हुन्।
महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सुरक्षा संयन्त्रहरूबीच बलियो समन्वय कायम गर्न आवश्यक रहेको बताइन्। विगतका केही निर्वाचनका क्रममा सुरक्षा निकायहरूबीच कतिपय अवस्थामा देखिएका समन्वयगत त्रुटि वा रिक्तताबाट पाठ सिक्दै अब त्यस्तो अवस्था दोहोरिन नदिन सचेत रहन उनले आग्रह गरिन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार हो। यसलाई सुरक्षित, निष्पक्ष र विश्वसनीय बनाउन सुरक्षा निकायहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। अघिल्ला चुनावका अनुभव, वर्तमान सुरक्षा चुनौती तथा आसन्न निर्वाचनका विविध आयामको विश्लेषण गरी सबै सुरक्षा निकायबीच समन्वय गरेर त्रुटिरहित ढङ्गले काम गर्नुपर्छ।”
उनले नेपाल सरकारबाट स्वीकृत ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिँदै नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागबीच सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने बताइन्। उक्त योजनाअनुसार प्रत्येक निकायको जिम्मेवारी स्पष्ट भएकाले त्यसको कार्यान्वयनमा ढिलाइ वा कमजोरी हुन नदिन उनले जोड दिइन्।
प्रधानमन्त्री कार्कीले जनतालाई सुरक्षाको अनुभूति दिलाउनु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै निर्वाचन अवधिमा सबै राजनीतिक दल तथा उम्मेदवारहरूले आफ्ना कार्यक्रम, प्रचारप्रसार तथा गतिविधि निर्बाध रूपमा सञ्चालन गर्न सक्ने वातावरण तयार गर्न आग्रह गरिन्। उनले सुरक्षा निकायलाई निष्पक्षता, पारदर्शिता र व्यावसायिकता कायम राख्दै कार्यसम्पादन गर्न निर्देशन दिइन्।
बैठकमा नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरू, पृतनापतिहरू तथा उच्च सैन्य अधिकारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत मन्तव्य राख्दै समग्र सुरक्षा तयारी, चुनौती र आगामी रणनीतिबारे जानकारी गराएका थिए। उनले निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक जनशक्ति, तालिम, स्रोतसाधन तथा समन्वय प्रक्रियालाई प्राथमिकतामा राखिएको बताए।
सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयका अनुसार बैठकमा सहभागीहरूले आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान सुरक्षा अवस्था, हालसम्म सम्पन्न भएका कार्यहरूको समीक्षा, सम्भावित चुनौती तथा समाधानका उपायबारे विस्तृत प्रस्तुति दिएका छन्। साथै समसामयिक सुरक्षा चुनौती, सीमावर्ती क्षेत्रको सुरक्षा, संवेदनशील मतदान केन्द्रको व्यवस्थापन तथा आकस्मिक परिस्थितिको सामना गर्ने तयारीबारे समेत छलफल भएको जनाइएको छ।
निर्वाचन अवधिमा गलत सूचना, अफवाह, साइबर सुरक्षा चुनौती तथा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सामग्रीप्रति पनि सुरक्षा निकाय सचेत हुनुपर्ने प्रधानमन्त्री कार्कीले बताइन्। उनले सूचना प्रविधिको बढ्दो प्रयोगसँगै नयाँ प्रकारका सुरक्षा चुनौती देखा परेकाले त्यसको सामना गर्न आधुनिक प्रविधि र दक्ष जनशक्तिको प्रयोग आवश्यक रहेको उल्लेख गरिन्।
सरकारले आगामी निर्वाचनलाई शान्तिपूर्ण, पारदर्शी र विश्वसनीय बनाउन बहुआयामिक तयारी गरिरहेको जनाउँदै प्रधानमन्त्री कार्कीले सुरक्षा निकायको सक्रियता, समन्वय र जिम्मेवारी निर्वाह नै सफल निर्वाचनको आधार हुने बताइन्। उनले सबै सुरक्षा निकायलाई राष्ट्र र जनताको भरोसा कायम राख्ने गरी जिम्मेवारी पूरा गर्न आग्रह गरिन्।
यसैबीच, सुरक्षा विश्लेषकहरूले पनि निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन पूर्वतयारी, अन्तरनिकाय समन्वय, सूचना आदान–प्रदान तथा जनसहभागिता महत्वपूर्ण हुने बताएका छन्। आगामी निर्वाचनलाई भयरहित र विश्वसनीय बनाउने लक्ष्यका साथ सरकारले सुरक्षा तयारीलाई उच्च प्राथमिकतामा राखेको छ।