काठमाडौं । बास नेपालको आयोजनामा सूचनाको हक सम्बन्धी दुई दिने तालिम आजदेखि सुरु भएको छ । अनलाइन माध्यमबाट सञ्चालन गरिएको उक्त तालिम बास नेपालका पदाधिकारी, प्रदेश, शाखा तथा उपशाखाका प्रतिनिधि र सक्रिय सदस्यहरूलाई लक्षित गरी आयोजना गरिएको हो ।
तालिममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले प्रमुख प्रशिक्षकका रूपमा प्रशिक्षण दिइरहेका छन् । कार्यक्रमको सहजीकरण बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले गरेका थिए भने बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत मन्तव्य व्यक्त गर्दै तालिमको उद्देश्यबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा प्रशिक्षण दिँदै पूर्व प्रमुख सूचना आयुक्त बास्कोटाले सूचनाको हकलाई लोकतन्त्रको ‘बायुप्राण’का रूपमा व्याख्या गर्दै पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्न यसको महत्वपूर्ण भूमिका हुने बताए । उनले सूचनाको हकको प्रभावकारी प्रयोग र प्रवर्द्धनले सार्वजनिक निकायलाई उत्तरदायी बनाउने तथा नागरिक सहभागिता बढाउने धारणा व्यक्त गरे ।
उनले सरकारी निकाय, सार्वजनिक संस्था तथा नागरिक समाजबीच सूचना प्रवाहलाई व्यवस्थित र पारदर्शी बनाउन कानुनी व्यवस्था तथा व्यवहारिक अभ्यास दुवै आवश्यक रहेको उल्लेख गरे । सूचनाको हकसम्बन्धी कानुनी प्रावधान, सूचना माग गर्ने प्रक्रिया, सूचना व्यवस्थापन तथा अधिकार प्रयोग गर्दा ध्यान दिनुपर्ने पक्षबारे समेत तालिममा विस्तृत जानकारी गराइएको छ ।
तालिममा बास नेपालका ३० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । सहभागीहरूले सूचनाको हकको प्रयोग, सुशासन प्रवर्द्धन तथा नागरिक सचेतना अभिवृद्धि सम्बन्धी अनुभव र जिज्ञासा राख्ने अवसर पाएका छन् ।
आयोजकका अनुसार तालिम भोलिसम्म सञ्चालन हुनेछ । तालिमबाट सहभागीहरूलाई सूचनाको हक सम्बन्धी ज्ञान, सीप र व्यवहारिक क्षमता अभिवृद्धि भई पारदर्शिता र सुशासन प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।