काठमाडौँ । बाँकेका तीन स्थानीय तहमा पाठेघरको क्यान्सरविरुद्ध एचपिभी खोप लगाउन सुरु भएको छ।
जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सो खोप लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीका अनुसार अहिलेसम्म नेपालगञ्जमा १३२, बैजनाथमा १४१ र खजुरामा १८४ जनालाई पाठेघरको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइएको छ।
जिल्लामा विद्यालय जाने ६ हजार ५३१ र विद्यालय नजाने दुई हजार ५३ गरी कूल ८ हजार ५८४ जनालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएको छ।
खोप वितरण विवरण अनुसार:
राप्तीसोनारी गाउँपालिका: ७२० जना
कोहलपुर नगरपालिका: १,७०६ जना
बैजनाथ गाउँपालिका: ८८० जना
जानकी गाउँपालिका: ६७२ जना
नेपालगञ्ज उपमहानगरपालिका: २,४२४ जना
डुडुवा गाउँपालिका: ४४१ जना
नरैनापुर गाउँपालिका: ७२१ जना
स्वास्थ्य कार्यालयका अनुसार कोहलपुर नगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आजदेखि, जानकी गाउँपालिकामा भने २७ गतेदेखि खोप लगाइनेछ।
खासगरी कक्षा ६ मा अध्ययन गर्ने छात्रा, विद्यालय नजाने १० वर्षका किशोरी र गत वर्ष लक्षित समूहमा छुटेका कक्षा ७–१० का छात्रा तथा ११–१४ वर्ष उमेरका किशोरीलाई यस वर्षको खोप अभियानको लक्षित समूह मानिएको छ।
नेपालमा औसतमा प्रत्येक दिन पाठेघरको क्यान्सरका कारण चार महिला मृत्यु हुन्छन्। गत वर्ष बाँकेमा ३३,७५९ जनालाई खोप लगाइएको थियो। यस वर्षको अभियान माघ २५ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुनेछ।