काठमाडौं । राष्ट्रिय सभागृहमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित आदिवासी जनजाति ज्ञान सम्मेलनमा राउटे समुदायले बनाएका परम्परागत काठका भाँडा आकर्षणको केन्द्र बनेका छन् । सुदूरपश्चिमबाट आएका राउटे समुदायका प्रतिनिधिहरूले आफ्नै हस्तकलामा तयार गरेका ‘कोशी’ (काठका भाँडा) बिक्रीका लागि प्रदर्शनीमा राखेका छन् ।
सुदूरपश्चिमका दीपक राउटेले आफूहरूले बनाएको काठको भाँडा ‘कोशी’ निकै उपयोगी रहेको बताउँदै एक हजार रुपैयाँ मूल्य तोकिएको जानकारी दिए । उनका अनुसार भाँडामा जुनसुकै खानेकुरा राख्न सकिने र यसको गुणस्तर पनि राम्रो रहेको छ ।
सम्मेलनमा चार जना राउटेले करिब ७० वटा काठका भाँडा बिक्रीका लागि ल्याएका भए पनि किन्नेभन्दा उनीहरूसँग फोटो खिचाउने र जिज्ञासा राख्ने आगन्तुकहरूको भीड बढी देखिएको छ । आगन्तुकहरूले राउटेहरूको बसोबास, पहिरन, जीवनशैलीलगायत विषयमा चासो राख्दै विभिन्न प्रश्न सोधिरहेका थिए ।
दीपक राउटे यसअघि पनि काठमाडौं आइसकेका छन् । उनीहरूले गाउँमा काठका भाँडा बनाएर चामल, मकै र धानसँग साटासाट गरेर जीवनयापन गर्ने गरेको बताए । तर काठमाडौंमा अन्न बोकेर फर्कन असहज हुने भएकाले नगद रुपैयाँ पाए सहज हुने अपेक्षा उनले व्यक्त गरे ।
राउटे समुदायमा परम्पराअनुसार रुपैयाँ नछुने मान्यता रहे पनि बदलिँदो परिवेशमा त्यो सम्भव नभइरहेको दीपकको अनुभव छ । ‘अब पैसा नछोई कसरी बाँचिन्छ ?’ भन्ने प्रश्न उनले उठाए । सहरको भीडभाड, कोलाहल र फरक जीवनशैलीसँग घुलमिल हुन आफ्नो समुदायलाई कठिन हुने उनले सुनाए ।
सम्मेलनमा राउटे समुदायसहित विभिन्न आदिवासी जनजाति समुदायका कला, संस्कृति, खानपान, परिकार तथा जीवनशैली झल्किने सामग्रीहरू प्रदर्शनमा राखिएको छ । यसले परम्परागत ज्ञान, संस्कृति र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घको कृषि तथा खाद्य सङ्गठन (एफएओ) नेपालले पनि सम्मेलनमा परम्परागत खाद्य प्रवर्द्धन गर्न विशेष प्रदर्शनी राखेको छ । कोदो, फापर, मकै, गहुँजस्ता अन्नबालीका नमूनामार्फत स्वस्थ्यवद्र्धक तथा पौष्टिक आहारबारे सचेतना फैलाउने प्रयास गरिएको एफएओ नेपालका कार्यक्रम प्रमुख मधुकुमार विश्वकर्माले जानकारी दिए ।
यस सम्मेलनले आदिवासी जनजातिका ज्ञान, सीप, संस्कृति र जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।