काठमाडौँ । आगामी फागुन ३ गते देशभर श्रद्धा र भक्तिपूर्वक मनाइने महाशिवरात्रि पर्वलाई लक्षित गर्दै भक्तजनहरू आ–आफ्नो तयारीमा जुट्न थालेका छन्। विशेषगरी यस अवसरमा रसुवा जिल्लामा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डप्रति श्रद्धालुहरूको आकर्षण दिनानुदिन बढ्दै गएको छ।
समुद्री सतहदेखि करिब ४ हजार ३८० मिटर उचाइमा अवस्थित गोसाइँकुण्ड धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले अनुपम तीर्थस्थलका रूपमा परिचित छ। धार्मिक मान्यताअनुसार यहाँ भगवान् शिव स्वयं विराजमान रहनु भएको विश्वास गरिन्छ। महाशिवरात्रिका दिन कुण्डमा स्नान गरी पूजा–आराधना गरेमा मनोकामना पूरा हुने जनविश्वास रहँदै आएको छ।
पौराणिक कथाअनुसार समुद्र मन्थनका क्रममा उत्पन्न भएको कालकूट विष भगवान् शिवले ग्रहण गरी सम्पूर्ण सृष्टिको रक्षा गरेका थिए। यही कारण शिवलाई ‘नीलकण्ठ’ भनिएको मान्यता छ। हिमवत्खण्डमा समेत जीवनमा सके तीन पटक र नसके कम्तीमा एक पटक भए पनि गोसाइँकुण्डको दर्शन गर्नुपर्ने उल्लेख गरिएको छ, जसले यसको धार्मिक महत्वलाई थप पुष्टि गर्दछ।
गोसाइँकुण्ड पुग्न काठमाडौँबाट रसुवाको धुञ्चेसम्म सवारीसाधनमार्फत यात्रा गर्न सकिन्छ। धुञ्चेबाट तिवारीबगर, खन्ति, डिम्सा, चन्दनबारी, चोलाङपाटी र लौरीविनायक हुँदै पैदल यात्रा गरेर कुण्डमा पुगिन्छ। धुञ्चेपछि उकालो यात्रा सुरु हुने र लौरीविनायकभन्दा माथि लेक लाग्ने भएकाले चन्दनबारीमा एक रात विश्राम गरी यात्रा अगाडि बढाउँदा सहज हुने होटल व्यवसायी सुब्बा लामाले जानकारी दिए।
गोसाइँकुण्डमा विशेषगरी जनैपूर्णिमा र कगंगा दशहराका अवसरमा ठूलो मेला लाग्ने गर्दछ। यी पर्वमा हजारौँ भक्तजन कुण्डमा स्नान गर्न पुग्ने गर्दछन्। मेलाका समयमा श्रद्धालुको सुरक्षाका लागि विशेष सुरक्षा व्यवस्था मिलाइने रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बताए।
२०७२ सालको विनाशकारी भूकम्पपछि गोसाइँकुण्ड जाने युवाको संख्या उल्लेख्य रूपमा बढेको छ। बाह्रै महिना भक्तजन पुग्न थालेपछि धार्मिक पर्यटनले निरन्तरता पाएको देखिन्छ। शिवरात्रिको अवसरमा नीलाद्री पर्वत पुगेर भगवान् शिवको दर्शन गर्नुपर्ने रसुवाका पुरोहित टङ्कप्रसाद ढकालले भक्तजनलाई सुझाव दिएका छन्।
यात्रालाई सहज बनाउन नमस्ते पासाङ ल्हामु यातायात प्रालिले आवश्यक यात्रुवाहक सवारीसाधन सञ्चालन गर्दै आएको छ। साना सवारीसाधन शिवपुरी, ढिकुरे, विदुर हुँदै धुञ्चे पुग्ने गरेका छन् भने ठूला सवारीसाधन माछापोखरी–नागढुङ्गा–गल्छी–त्रिशूली मार्ग हुँदै सञ्चालन भइरहेका छन्। साथै, लौरीविनायकको उकालो यात्रालाई सहज बनाउन हेलिकप्टर सेवासमेत उपलब्ध गराइएको सेवा सञ्चालकहरूले जनाएका छन्। शिवरात्रि तथा अन्य धार्मिक पर्वका अवसरमा अधिकांश हेलिकप्टर कम्पनीले धार्मिक उडान भर्दै आएका छन्।
गोसाइँकुण्डको डिलमा सिम्रिक एयर कम्पनीले शिवको मूर्ति स्थापना गरेपछि पूजा–आराधनामा भक्तजनलाई थप सहज भएको उनीहरूको भनाइ छ। यहाँ स्नान तथा पूजा गरेमा रोगव्याध हट्ने, पारिवारिक सम्बन्ध सुदृढ हुने र सन्तानको शिक्षामा सकारात्मक प्रभाव पर्ने जनविश्वास रहेको छ। यही आस्थाका कारण गोसाइँकुण्ड केवल तीर्थस्थल मात्र नभई आध्यात्मिक ऊर्जा प्राप्त गर्ने केन्द्रका रूपमा समेत परिचित छ।
हाल कुण्डमा पानी जमेर बरफ बनेको अवस्था रहेको छ। बरफमाथि हिँड्दा चिप्लिएर कुण्डभित्र खस्ने जोखिम भएकाले विशेष सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
गोसाइँकुण्ड क्षेत्र रामसार सूचीमा सूचीकृत पवित्र तीर्थस्थल भएकाले यसको संरक्षण सबैको साझा दायित्व भएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए। उनले कुण्डमाथि हिउँ खेल्ने वा हिँड्ने बहानामा भगवान् शिव विराजमान रहनु भएको स्थानमा नटेक्न सम्पूर्ण भक्तजनलाई आग्रह गरेका छन्।
पूर्वाधार विकाससँगै अहिले काठमाडौँको माछापोखरीदेखि सिधै यातायात सञ्चालनमा आए पनि केही सवारीसाधनले बढी भाडा असुल्ने गुनासो आएकाले यात्रुले सजगता अपनाउन प्रशासनले आग्रह गरेको छ।
चिसो मौसमका कारण गोसाइँकुण्ड यात्रा गर्दा तातो लुगा, कागती, अदुवा, सातु, औषधि लगायत सामग्री साथमा लैजान उपयुक्त हुने बताइएको छ। भक्तजनको सुविधालाई ध्यानमा राख्दै बागमती प्रदेशको भौतिक तथा पूर्वाधार मन्त्रालयले दीर्घकालीन गुरुयोजनाअन्तर्गत गोसाइँकुण्ड क्षेत्रको पूर्वाधार विकास अघि बढाएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।
यात्राका क्रममा कुण्डमा स्नान गर्दा भिजेको लुगा वा कुनै पनि फोहर जथाभावी नफ्याँक्न, पैदल मार्गमा देखिने रेडपाण्डालगायत वन्यजन्तुलाई क्षति नपुर्याउन तथा लौरीका नाममा वनजंगलका वनस्पति नकाट्न सबै भक्तजनलाई अनुरोध गरिएको वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए।
धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचान बोकेको गोसाइँकुण्डको संरक्षण गर्दै श्रद्धापूर्वक दर्शन गर्नु नै साँचो शिवभक्ति हुने जानकारहरूको निष्कर्ष छ।