काठमाडौं । राष्ट्रिय सभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ। सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि यसपटक अधिवेशन संघीय संसद् सचिवालयमै सञ्चालन गर्न लागिएको हो।
अधिवेशनको तयारीस्वरूप राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसक्नुभएको थियो। आजको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। साथै हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गरिनेछ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को पुस २८ गतेको सिफारिसमा माघ ४ गते आइतबार बिहान ११ बजेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको हो। यसअघि राष्ट्रियसभाको १८औँ अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो।
यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रियसभाका १९ सदस्यका लागि हुने निर्वाचनको तयारी अघि बढाएको छ। आयोगका अनुसार एक जना सदस्य भने निर्विरोध निर्वाचित भइसक्नुभएको छ।
प्रतिनिधिसभा तथा राष्ट्रियसभामा नयाँ सदस्यहरू चयन हुने प्रक्रियासँगै सुरु हुन लागेको यो अधिवेशनलाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ।
