काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू १५औँ महाधिवेशनको सभापतिको उम्मेदवार भएको स्पष्ट गर्दै सभापति बन्ने दाबी गरे। महाधिवेशन केवल नेतृत्व परिवर्तनका लागि नभई पार्टीलाई नयाँ दिशामा लैजानुपर्ने समय आएको उनको भनाइ थियो।
महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरण तथा विवरण पठाउने काममा भइरहेको ढिलाइप्रति आपत्ति जनाए। यद्यपि उनले कसैलाई दोष नदिएको उल्लेख गर्दै अझै पनि समयमै काम सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरे।
उनले पार्टी सभापति शेरबहादुर देउवालाई महाधिवेशन समयमै गर्नुपर्ने विषयमा आफूले निरन्तर ध्यानाकर्षण गराइरहेको बताए। महाधिवेशन निर्वाचनअघि नै हुनुपर्नेमा आफू स्पष्ट रहेको र त्यसका लागि जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको उनले बताए।
महामन्त्री थापाले नियमित अधिवेशन वा आवश्यक परे विशेष महाधिवेशन भए पनि महाधिवेशन बिना नेपाली कांग्रेस निर्वाचनमा नजाने तर्क प्रस्तुत गरे।