काठमाडौं । नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि लामो प्रतिक्षापछि अन्ततः मतदान प्रक्रिया सुरु भएको छ । अध्यक्ष पदका प्रत्यासीद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले विद्युतीय मेसिनमा मतदान गरेर परीक्षण गरेसँगै प्रतिनिधिहरूका लागि मतदान खुला गरिएको हो ।
भृकुटीमण्डपस्थित निर्वाचन स्थलमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली उपस्थित भएलगत्तै मतदान प्रक्रिया अघि बढेको थियो । अर्का उम्मेदवार ईश्वर पोखरेल भने बिहान सबेरैदेखि मतदानस्थलमा उपस्थित भई प्रतिनिधिहरूसँग मत मागिरहेका थिए ।
पूर्व निर्धारित तालिका अनुसार हिजो बिहान १० बजे नै मतदान हुनुपर्ने थियो । समय सार्दै राति ९ बजे पुर्याइए पनि विद्युतीय भोटिङ मेसिनमा उम्मेदवारहरूको संशोधित नामावली प्रविष्ट गर्न ढिलाइ हुनु र ‘फन्ट’ सपोर्ट नगर्ने जस्ता प्राविधिक समस्या देखिएपछि निर्वाचन आज बिहानका लागि सारिएको थियो ।
महाधिवेशनमा नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । केन्द्रीय निर्वाचन आयोगको तथ्यांक अनुसार ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्न २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधिहरूले मताधिकार प्रयोग गर्नेछन् । केही पदहरूमा भने निर्विरोध चयन भइसकेको छ ।
पाँच जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ भने महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । त्यस्तै, ३ उपमहासचिव पदका लागि ७ जना र ९ सचिव पदका लागि २० जना नेताहरू चुनावी मैदानमा छन् ।
मतदान प्रक्रियालाई छिटो र छरितो बनाउन आयोगले ८० वटा विद्युतीय भोटिङ मेसिनको व्यवस्था गरेको छ । यद्यपि, उम्मेदवारको लामो सूचीका कारण एकजना प्रतिनिधिलाई मतदान गर्न करिब ३५ देखि ४० मिनेट लाग्ने अनुमान गरिएको छ ।
भीड व्यवस्थापन गर्न आयोगले एक पटकमा ५० जनालाई मतदान कक्षमा पठाउने व्यवस्था मिलाएको छ । मतदानका लागि महिला र पुरुषको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ ।