काठमाडौं । देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभरको मौसम सामान्यतया सफा रहे पनि केही पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ ।
आज बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भेगमा आंशिक बदली रह्यो भने बाँकी भूभागमा मौसम मुख्यतया सफा देखियो ।
दिउँसोपख कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ । यसैगरी, कोशी र गण्डकी प्रदेशका हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
आज राति भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको विशेष बुलेटिनमा उच्च पहाडी तथा हिमाली भेगमा यात्रा गर्ने यात्रुहरूलाई सतर्क रहन आग्रह गरेको छ ।