Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जेनजी आन्दोलनको भावना सम्बोधन गर्न पुनर्गठित कांग्रेस लिएर चुनावमा जाऔं : गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २१ २०८२
  • 3.5K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आसन्न निर्वाचनअघि नै विशेष महाधिवेशन गरी ‘पुनर्गठित’ कांग्रेससहित जनतामाझ जान आह्वान गरेका छन् । उनले यसबाट जेन-जी आन्दोलनको भावना सम्बोधन हुने र कांग्रेसले जनताको विश्वास पुनः जित्ने विश्वास व्यक्त गरेका हुन् ।

थापाले एक भिडिओ सन्देशमार्फत भनेका छन्, ‘यो अधिवेशन गरेर गयौं भने नेपाली कांग्रेसको के कुरामा प्रष्टता देखिन्छ भने कांग्रेस अडियो, कांग्रेस घोरियो, कांग्रेसले स्वीकार गर्‍यो, हामीले त्यो गल्ती गरेका थियौं, हामीले नागरिकका कुरा सुन्यौं, हामीले सुधारको संकल्प गर्‍यौं, हामी नयाँ भएर आएका छौं । हामीले नयाँ सुरुवात गर्ने एउटा बाचा गरेर आएका छौं, संकल्प गरेर आएका छौं ।’

उनका अनुसार, यसपछि मात्र नागरिकसँग सम्वादको नयाँ ढोका खुल्नेछ र रिसाएका नागरिकहरूले कांग्रेसलाई फेरि एकपटक मौका दिने अवस्था आउनेछ । यसैका लागि विशेष महाधिवेशन अपरिहार्य रहेको उनको भनाइ छ ।

कांग्रेसभित्र अहिले नियमित वा विशेष महाधिवेशन गर्ने भन्नेमा चर्को बहस चलिरहेको छ । शीर्ष नेताहरू नियमित महाधिवेशनको पक्षमा उभिएका छन् भने महामन्त्री थापा समूहले विशेष महाधिवेशनको माग गर्दै आएको छ । विशेष महाधिवेशनको मागसहित संकलन गरिएका हस्ताक्षर असोज २९ गते पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो । महामन्त्री थापाले फागुन २१ को निर्वाचनअघि पुस १६ देखि १९ गतेसम्म विशेष महाधिवेशन गर्नुपर्ने कार्यतालिका प्रस्ताव गरेका छन् ।

यसको प्रत्युत्तरमा संस्थापन पक्षका नेताहरूको धोबिघाट भेलाले नियमित महाधिवेशनको कार्यतालिका पेस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मंगलबारको केन्द्रीय समिति बैठकमा सहमहामन्त्री महेन्द्र यादवले आगामी वैशाख २७ देखि ३० गतेसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए । यद्यपि, कांग्रेसले दुवै प्रस्तावमाथि कुनै निर्णय गरिसकेको छैन ।

महामन्त्री थापाले भदौ २३ गतेभन्दा अगाडि र पछाडिको परिस्थितिमा धेरै ठूलो उथलपुथल आइसकेकाले नयाँ परिस्थितिमा नयाँ कांग्रेस लिएर जनतामा जानुपर्ने आवश्यकता औंल्याएका छन् ।

उनले कांग्रेस भन्नासाथ धेरैको दिमागमा सत्ता र शक्ति मात्र स्मरणमा आउने गरेको भन्दै, अब कांग्रेसले गरेका सुधारबारे बताउनुपर्ने र कांग्रेससँग भएका गुनासाहरू पनि सम्बोधन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । ‘यसकानिम्ति एकपटक हामी उनीहरूसँग बस्नुपर्ने छ । हामी बोल्ने होइन, हामी उनीहरूका कुरा सुन्नुपर्ने छ, सम्वाद गर्नुपर्ने छ, उनलाई ठाउँ दिनुपर्ने छ, उनीहरूलाई सहभागी गराउनुपर्ने छ,’ महामन्त्री थापाले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४