काठमाडौं । स्वास्थ्य बीमा बोर्डले देशभरका विभिन्न २२ वटा स्थानीय तह र २६ वटा अस्पतालसँग स्वास्थ्य बीमा सेवा सम्झौता गरेको छ ।
स्वास्थ्य बीमा बोर्डले विभिन्न स्थानीय तह र अस्पतालबिच सेवा सम्झौता गरेको हो । बोर्डले थप २२ वटा स्थानीय तहका २६ वटा अस्पतालसँग सेवा सम्झौता गरेको छ । बोर्डका अनुसार स्वास्थ्य बीमा ऐन २०७४ को दफा ९ को उपदफा ६ बमोजिम प्रथम सेवा बिन्दु प्रयोजनका लागि प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सेवा प्रदायक स्वास्थ्य संस्था रहनुपर्ने व्यवस्था रहेको छ ।
जसअनुसार बोर्डको आह्वान तथा स्थानीय तहको अनुरोधमा ती स्वास्थ्य संस्थालाई सेवाका लागि सूचीकृत गरेको हो । जसमा स्वास्थ्य बीमा बोर्डसँग प्रथम सेवा बिन्दुको रुपमा सेवा दिने गरी सेवा सम्झौता भएको हो । यो सँगै प्रथम सेवा बिन्दु भएका स्थानीय तहको संख्या ३ सय ७६ पुगेको बोर्डले जनाएको छ ।
जसअनुसार काठमाडौं महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालसँग सम्झौता भएको छ । जसमा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र–१६ चमती, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र–१० लाखेचौर, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र–१२ चल्खुमार्ग लगायत ५ वटा शहरी स्वास्थ्य केन्द्रसँग सम्झौता भएको हो ।
त्यसैगरी रामेछापको गोकुलागंगा गाउपालिकामा रहेको गोकुलगंगा अस्पताल, दोलखाको शैलुङ नगरपालिकामा रहेको शैलुङ अस्पताल लगायत २६ वटा स्वास्थ्य संस्थासँग सम्झौता भएको स्वास्थ्य बीमा बोर्डले जानकारी दिएको छ ।



