काठमाडौं । सरकारले चार जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूलाई अन्यत्र जिम्मेवारी दिने निर्णय गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत सहसचिव शेषनारायण पौडेललाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको छ ।
त्यस्तै, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थराज चिलुवाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।
डोटीका प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङलाई आदिवासी जनजाति आयोगको सचिव को जिम्मेवारी दिइएको छ ।
कोशी प्रदेश योजना आयोगका सचिव मिमांश अधिकारीलाई वन तथा वातावरण मन्त्रालयमा पठाइएको छ ।
सरकारले गरेको सरुवालाई नियमित प्रशासनिक चलनअनुसारको कदमका रूपमा लिइएको छ ।