काठमाडौं । ललितपुरको विकास र राजनीतिमा अमिट छाप छोडेका पूर्वमन्त्री तथा तत्कालीन ललितपुर नगरपालिकाका मेयर बुद्धिराज बज्राचार्यको निधन भएको छ । उनको ८९ वर्षको उमेरमा शनिबार शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उनको निधनको पुष्टि गर्दै एक अनुभवी र सम्मानित व्यक्तित्व गुमाएको बताएका छन् । स्वर्गीय बज्राचार्यको पार्थिव शरीर हाल महाराजगञ्जस्थित अस्पतालमा नै राखिएको छ । उनका कान्छा छोरा विदेशबाट फर्किएपछि आज अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
विसं २०२७ मा तत्कालीन ललितपुर पञ्चायत वडा नं. १७ को वडाध्यक्षबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका बज्राचार्यले करिब पाँच दशकभन्दा लामो समय सक्रिय राजनीतिमा बिताए । उनी २०३२ सालमा पहिलो पटक ललितपुरको प्रधानपञ्च बने । २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापनापछि उनी नेकपा (एमाले) बाट २०५४ सालमा भएको स्थानीय निर्वाचनमा ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।
राजनीतिक जीवनको उत्तरार्धमा, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा बज्राचार्यले महत्त्वपूर्ण जिम्मेवारी पाए । उनी २०६० सालमा ललितपुरको नगरप्रमुखमा मनोनीत भएका थिए भने २०६१ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भएका थिए । उनको निधनले ललितपुरले एक अनुभवी, दूरदर्शी र अभिभावकीय भूमिका निर्वाह गर्ने महत्त्वपूर्ण व्यक्तित्व गुमाएको छ ।