काठमाण्डौं। बिगत लामो समयसम्म चर्चित टेलिसिरियल ‘जुठे’ मा दर्शकहरुको मन जित्न सफल भएका पात्र ‘गोथे’ अब ‘सकस’ सिरियलमार्फत पुनः पर्दामा देखिने भएका छन्। ‘गोथे’ पात्रले नेपाली दर्शकमाझ गहिरो छाप छोडेका थिए, तर जुठे सिरियल टुंगिएपछि उनी पर्दाबाट हराएका थिए।
यसपटक भने ‘गोथे’ पात्रलाई आफ्नै नयाँ सिरियल ‘सकस’ मा समेट्ने निर्णय गरेका छन् कलाकार, लेखक तथा निर्देशक राजु पौडेल (राजु मास्टर) ले। पौडेलकै लेखन, निर्देशन र अभिनयमा तयार भइरहेको सकसमा अब ९४ औं भागदेखि ‘गोथे’ पात्रलाई मुख्य भूमिका मा देख्न पाइनेछ।
राजु पौडेल भन्छन्, “जुठेमा गोथे नदेखेपछि दर्शकहरूबाट निरन्तर म्यासेज र प्रतिक्रिया आइरहेका थिए। उनीहरूको त्यो माया र आग्रहलाई सम्मान गर्दै मैले ‘सकस’मा गोथेलाई फर्काउने निर्णय गरेको हुँ।”
‘सकस’ सिरियलले सामाजिक यथार्थ, संघर्ष र परिश्रमका कथाहरूलाई केन्द्रमा राख्दै आएको छ। यसअघि राजुले निर्माण गरेका पात्रहरू पनि सिरियलमा यथावत रहनेछन भने गोथे पात्रलाई कथामा सजीव र सान्दर्भिक ढंगले प्रस्तुत गरिने बताइएको छ।
हाल ‘सकस’को छायांकन पोखरामा भइरहेको छ। राजु पौडेलले जानकारी दिएअनुसार, पुराना कलाकारहरू कायम छन् भने पोखराबाट केही नयाँ कलाकार पनि समावेश गरिएको छ।
दर्शकमाझ गहिरो प्रभाव पारेका पात्र ‘गोथे’को पुनरागमनसँगै ‘सकस’ले अझ रोचक मोड लिने अपेक्षा गरिएको छ।