काठमाडौं । चर्चित म्युजिक भिडियो निर्देशक संगीत सागर बुर्जाको निर्देशनमा निर्माण भइरहेको नयाँ टेलिसिरियल ‘दासी’ ले नेपाली दर्शकको ध्यान तान्न थालेको छ। सामाजिक यथार्थमा आधारित यो सिरियलले विशेषगरी किशोरी तथा नारीका संघर्ष, पीडा र सामाजिक व्यवहारलाई गहिरो ढंगले चित्रण गर्ने उद्देश्य राखेको छ।
हाल सिरियलको छायांकन सुरु भइसकेको छ र केही भागहरू छायांकन समेत सम्पन्न भएका छन्। नयाँ तथा अनुभवी कलाकारहरूको सम्मिश्रणमा निर्माण भइरहेको ‘दासी’ छोटो समयमै लोकप्रिय हुने अपेक्षा गरिएको छ।
सिरियलमा कृतिका जोशी र प्रयास विश्वकर्माले डेब्यु गर्दैछिन् भने अन्य प्रमुख कलाकारमा मञ्जु श्रेष्ठ, लक्ष्मीनाथ तिमल्सिना, श्रेया दुलाल, प्रयास विश्वकर्मा, बिरेन्द्र राना, स्वच्छ्या कठायत, तुलसा राई, विमला भुजेल, बिना पौडेल, संगीत सागर बुर्जा र विक्रम तामाङ छन्।
कथालेखनमा राजु कटेल, शब्द र संगीतमा संगीतकार बाबुल गिरी, छायांकन र सम्पादनमा विश्वास भण्डारी को विशेष योगदान रहेको छ। निर्देशक बुर्जाले यसअघि थुप्रै फिल्म र तिनसयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरी आफ्नो पहिचान स्थापित गरिसकेका छन्।
‘दासी’ सिरियल “दासी अफिसियल” युट्युब च्यानलमार्फत चाँडै सार्वजनिक हुने तयारीमा छ। भावनात्मक विषयवस्तु, सशक्त अभिनय र उत्कृष्ट निर्माण पक्षले यो सिरियल नेपाली मनोरञ्जन क्षेत्रमा एक नयाँ छाप छोड्ने विश्वास गरिएको छ।
