काठमाडौं । संसद अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको १८ गतेको बैठकमा सम्बोधन गर्नुहुने भएको छ । शुक्रबार सभमुख देवराज घिमिरेसहित बसेको पमुख प्रतिपक्ष, प्रष्पिक्ष दल र सत्तापक्षीय दलका प्रमुख सचेतकहरु बीचको छलफलबाट यो सहमति जुटेको हो ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बदर्खास्त गरेको थियो । बर्खास्तीसँगै प्रतिपक्ष दलहरुले सदनमा अवरोध सिर्जना गर्दै संसद अवरुद्ध पारेका छन् । उनीहरुले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले चित्तबुझ्दो जवाफ दिनुभएपछि मात्रै सदनको अवरोध हटाउने बताएका छन् ।सरकार पक्षले भने सम्बन्धित मन्त्री र उपप्रधानमन्त्रीले सरकारको तर्फबाट उक्त विषयमा जवाफ दिने प्रश्ताव गरेको थियो । तर प्रतिपक्ष दलहरुले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै संसद अवरुद्ध पार्दै आएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बैठकमा १८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले जवाफ दिने र आईतवार बस्ने बैठक सहज रुपमा अघि बढ्ने सहमति भएको बताउनुभयो । उहाँले प्रतिपक्षी दलहरुको माग बमोजिम नै प्रधानमन्त्री ओलीले जवाफ दिनुहुने सहमति गर्दा समेत आजको बैठक बस्नबाट प्रतिपक्ष दलहरुले आनाकानी गरेको बताउनुभयो ।प्रमुख सचेतक बर्तौलाले सरकारले ल्याएका प्रतिष्थापन विधेयकहरु १७ गते रातिसम्म प्रक्रिया पूरा गरेर अघि बढाउनुपर्ने भएपनि प्रतिपक्ष दलहरुको अवरोधका कारण अहिलेसम्म अड्किएको बताउनुभयो ।