काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”का सभापति रवि लामिछाने माथि भएको धरपकडको विरोध गर्नु भएको छ ।
नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको गृहमन्त्री भएको अवस्थामा पनि तानाशाही तवरबाट देशको चौथो ठुलो दलको पार्टी सभापति तथा पूर्व उपप्रधान तथा गृह मन्त्रि रवि लामिछाने माथि दुर्व्यवहार भएको भन्दै उहाँले विरोध गर्नु भएको हो ।
कुनै पनि व्यक्तिलाई अनुसन्धानको नाममा धरपकड गर्ने, बिरामी हुँदा पनि अस्पतालसम्म जान नदिने, उपचार पाउनु पर्ने नागरिकको हकमा बन्देज गर्ने, अनुसन्धानको नाममा मानसिक तनाव दिने, दुर्व्यवहार गरी मानव अधिकार उल्लङ्घन गर्ने जस्ता कार्य निन्दनीय तथा खेदजनक भएको शर्माले फेसबुकमार्फत बताउनु भएको थियो ।
‘नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको गृहमन्त्री हुनु भएको अवस्थामा पनि तानाशाही तवरबाट रवि लामिछानेलाई गरिएको वर्तावको भर्त्सना गर्दछु ’, उहाँको भनाइ रहेको छ , ‘अनुसन्धानलाई जतिसक्दो चाँडो पुरा गरी न्यायालयमार्फत न्यायिक निरूपण हुनु पर्ने र न्यायालयको फैसलालाई सबैले सम्मान गर्नुपर्ने यथार्थमा नाटकीय ढंगबाट प्रहरी हिरासतको शृङ्खलाले सबैलाई सशङ्कित पारेको छ ।’
यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि रविमाथि भएको दुर्व्यवहारको विरोध गर्नु भएको थियो ।