Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

किर्ते कागजात बनाएर दुर्गा प्रसाईंले प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाए !प्रसाईंमाथि किर्ते र साइबर अपराधको मुद्दामा अनुसन्धान हुने !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर ४ २०८१
  • 5K
    SHARES

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले किर्ते कागजात देखाएर प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिंजाउँदै प्रसाईंले सोमबार केही कागजात सार्वजनिक गरेका थिए । ती विवरणहरु सामाजिक सञ्जालमा भाइरल समेत भएका थिए । केही मिडियाले समेत त्यसको सत्य परीक्षण नगरी भ्रम विस्तारमा सघाउ पुर्‍याएका थिए ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख दीपक थापाका अनुसार, प्रारम्भिक जाँचका क्रममा सार्वजनिक गरेका सबै कागजात किर्ते रहेको देखिएको छ ।

‘फर्जी कागज बनाएर प्रधानमन्त्रीमाथि गम्भीर आक्षेप लगाएको प्रष्ट देखिएपछि प्रसाईंलाई नियन्त्रणमा लिएका छौं’ थापाले भने, ‘उनले ती विवरण सार्वजनिक गरेलगत्तै हामीले अनुसन्धान थालेका थियौं ।’

थापाका अनुसार, प्रसाईंलाई भक्तपुरस्थित घरबाट पक्राउ गरेर लाजिम्पाटस्थित सीआईबी कार्यालयमा ल्याइँदैछ । उनीमाथि अब किर्ते र विद्युतीय अपराध नियन्त्रण ऐन अन्तर्गतको कसुरमा अनुसन्धान सुरु हुनेछ ।

मंगलबार नै अदालतमा उपस्थित गराएर उनलाई हिरासतमा राख्न म्याद लिने प्रहरी तयारी छ ।

अनुसन्धानमा के देखियो ?

कम्बोडियाको स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा प्रधानमन्त्री ओलीले २१ करोड अमेरिकी डलर बराबरको लगानी गरेको दाबी गर्दै प्रसाईंले फैलाएको भ्रमपूर्ण तस्वीर सामाजिक सञ्जालमा शेयर भइरहेको छ । तर, उनले प्रमाण ल्याएको भन्दै स्क्रिनमा सार्वजनिक गरेको ती कागजातका कुनै पनि विवरण विश्वसनीय नरहेको अनुसन्धान अधिकृतहरुको प्रारम्भिक निष्कर्ष छ ।

प्रारम्भिक जाँचमै उनले सार्वजनिक गरेको विवरण फर्जी जस्तो देखिएपछि सीआईबी र त्यसअन्तर्गतको साइबर ब्यूरोले चासो देखाएको एक अधिकृतले बताए । प्रहरी अधिकृतहरुका अनुसार, प्रसाईंले प्रमाण भन्दै सार्वजनिक गरेको तस्वीरमा भएको प्रधानमन्त्री ओलीको हस्ताक्षर समेत फर्जी देखिएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयबाट प्राप्त उनको नागरिकता प्रमाणपत्रमा उल्लिखित नामसँग पनि प्रसाईंले सार्वजनिक गरेको विवरण मेल खाँदैन । नागरिकतामा उनको अंग्रेजी नाम केपी शर्मा र कोष्ठक चिह्नमा ओली लेखिएको छ ।

तर, प्रसाईंले सार्वजनिक गरेको कागजातमा अंग्रेजी रोमनमा Khadka Prasad Oli उल्लेख गरिएको छ ।

‘हामीले पनि त्यो विवरण हेरेर धेरै विषयहरु शंकास्पद पाएका छौंं’ एक प्रहरी अधिकृतले थपे, ‘प्रसाईंले गुगलबाट प्रमाणित गरेर ल्याएको भने पनि गुगल सर्च इञ्जिन भएकाले तेस्रो स्रोतका विवरणहरु पनि आउँछन् र त्यसलाई गुगलले भेरिफाइ गर्ने भन्ने नै हुँदैन ।’

प्रहरीले प्रसाईंले ल्याएका विवरण कहाँबाट ‘ओरिजिनेट’ भयो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको बताएको छ ।

प्रसाईंले नेपालका ‘नेताहरुको पैसा कम्बोडिया, मंगोलिया, तुर्केमेनिस्तान, दक्षिण अफ्रिका, केन्या, दुबई र सिंगापुरमा छ’ भन्ने अभिव्यक्ति समेत दिएका थिए । ती विषयमा समेत उनीसँग सोधपुछ गरिने प्रहरीले जनाएको छ ।

प्रसाईंले यसअघि पनि ओलीमाथि कम्बोडियामा लगानी रहेको भन्दै आरोप लगाउँदै आएका थिए । र, प्रमाणविनै मिथ्या अभिव्यक्ति दिएको आरोप लाग्दै आएको थियो । यसपटक भने उनले आफ्नो विगतका अभिव्यक्ति पुष्टि गर्ने भन्दै युट्युबरहरुलाई बोलाएका थिए ।

पोखरामा १३ कात्तिकमा आयोजित एमाले गण्डकी प्रदेशको कार्यक्रममा ओलीले व्यंग्यात्मक रुपमा आफूमाथि लगाइएको आरोपको प्रतिवाद समेत गरेका थिए ।

‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने बिजनेस दिन्छु’ उनले भनेका थिए, ‘देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुहोस्, धेरै त छैन, एक हजार रुपैयाँ थपेर सबै दिन्छु ।’

विवादास्पद पृष्ठभूमि

आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने प्रसाईंलाई प्रहरीको साइबर ब्यूरोले ६ असोजमा पनि भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो । त्यसबेला उनीमाथि एक जना महिलाको चरित्र हत्या हुने गरी अभिव्यक्ति दिएको आरोप लागेको थियो ।

जिल्ला अदालत, काठमाडौंले उनलाई ९ दिनपछि १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । त्यो मुद्दा अझै अदालतमा विचाराधीन छ । त्यसो त ५ चैत २०८० मा पनि प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो । उनले त्यसबेला बैंकको ऋण तथा ब्याज तिर्नुपर्दैन भन्दै कालोमोसो अभियान चलाएका थिए ।

पछि अत्याधुनिक हतियार र एक सय राउण्ड गोली सहित पक्राउ परेका उनका दुई सुरक्षागार्डमाथि मुद्दा चल्यो । त्यसबेला उनका सुरक्षागार्ड लाइसेन्सप्राप्त हतियार लिएर अदालत पुगेका थिए । तर, जाँचका क्रममा एउटा हतियारको लाइसेन्स लिएर अर्कै बोकेको भेटिएको थियो ।

प्रसाईंले कुनै निश्चित समुदायलाई लक्षित गरेर समेत गम्भीर टिप्पणी गर्दै आएका छन् । उनले केही वर्ष पहिले विदेशमा रहेका नेपाली महिलाबारे गम्भीर र असंवेदनशील टिप्पणी समेत गरेका थिए ।

ती मामलामा उन्मुक्ति पाउँदै आएका प्रसाईं पछिल्लो समय थप अराजक बन्दै आएका थिए ।

सीआईबीका पूर्वप्रमुख डीआईजी हेमन्त मल्लका अनुसार, लोकतन्त्रमा जोसुकैमाथि प्रश्न उठाउन पाइने भए पनि संवेदनशील विषयमा आधारहीन विषय बोल्न मिल्दैन । ‘अझ तपाईं सार्वजनिक व्यक्ति हो भने त झन् बोलीमा नियन्त्रण हुनै पर्छ’, मल्ल भन्छन् ।

प्रसाईं माओवादी, एमाले हुँदै पछिल्लो समय राजावादी समूहसँग नजिक थिए । यद्यपि, पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई ‘स्पेस’ नदिएको भन्दै उनले राष्ट्र राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियान चलाइरहेका छन् ।

साम्प्रदायिक भड्काउ र हुलहुज्जतको शैलीमा देखा परिरहेका दुर्गा प्रसाईंलाई कानुनबमोजिक कारबाही गर्न ढिला भइरहेको भन्दै राज्यपक्षको आलोचना भइरहेका बेला उनी नियन्त्रणमा परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४