Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विदेशबाट फर्केर सेल पकाउन थालिन्, तिहारमा कमाइन् १ लाख


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक २४ २०८१
  • 2.4K
    SHARES

काठमाडौँ । नेपालगञ्ज उपमहानगरपालिका–१० आदर्शनगर निवासी रीता गुरुङ वैदेशिक रोजगारीबाट फर्किएर अहिले स्वदेशमै उद्यममा लागेकी छन् ।

उनले दुई वर्षदेखि सेलरोटी बनाएर बिक्री गर्दै आएकी छन् । ‘म यही उद्यम गर्नमा रमाइरहेको छु । सेलरोटी नेपालगञ्जका होटल र क्याफेमा बिक्री हुने गरेका छन्’, उनले भनिन् ।

दैनिक रुपमा मागअनुसार ५० देखि एक सय सेलरोटी पकाएर बिक्री वितरण गर्ने गरेको उनी बताउँछिन् । गुरुङलाई तिहारमा रोटी पकाउन भ्याइनभ्याइ हुन्छ ।

‘अन्य बेलाभन्दा दशैंतिहारलगायत चाडपर्व र कार्यक्रममा सेलरोटीको माग बढी हुने गरेको छ’, उनले भनिन्, ‘सेलरोटीका लागि अहिले नेपालगञ्ज बाहिर कोहलपुर, खजुरा, राँझा विमानस्थलबाटसमेत माग भइरहेको छ ।’

केही समय वैदेशिक रोजगारीको सिलसिलामा खाडीमुलुक कुवेत गएर फर्किएकी गुरुङले यो वर्षको तिहारमा सेलरोटी, फिनी रोटी र झिनिया बिक्री गरेर एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरिन् ।

उनले यो तिहारमा लागि झिनिया (सिन्कामारी), फिनी, सेल तथा बतासा रोटी बनाएर बिक्री गरेकी थिइन् । ‘मैले प्रत्येक वर्ष तिहारका लागि झिलिङ्गा (सिन्कामारी), फिनी, सेल तथा बतासा रोटी बनाउने गरेको छु, ग्राहक यहीँ आउनुहुन्छ’, गुरुङले भनिन्, ‘एकपटक आएका ग्राहक बारम्बार आउने गर्नुभएको छ ।’

उनले यो वर्षको तिहारमा झिनिया (सिन्कामारी) रोटी प्रतिगोटा ३०, फिनीरोटी प्रतिगोटा ४०, सेलरोटी प्रतिगोटा ३० र बतासा रोटी प्रतिगोटा १५ मा बिक्री गरिन् । सिजनमा रोटी व्यवसायबाट राम्रो आम्दानी हुनुका साथै घरखर्च चलाउन निकै सहज भएको उनको भनाइ छ ।

‘म केही वर्षअघि रोजगारीका लागि विदेशसमेत गएर फर्किएँ, विदेशमा काम गर्न अत्यन्तै गाह्रो हुँदोरहेछ, आफूले सोंचेको र भनेको जस्तो नहुँदो रहेछ’, गुरुङले भनिन्, ‘विदेशमा दुःख पाउनुभन्दा बरु आफ्नै देशमा फर्केर सानोतिनो भए पनि केही काम गर्छु भनेर नेपाल फर्के, यहाँ अहिले आफ्नै मेहनतले राम्रै आम्दानी भएको छ ।’

विदेशबाट फर्केर खोलेको खाजा नास्ता पसलसँगै सेलरोटी बनाउने उद्यमले अहिले रिताले आफ्नो घरपरिवार पाल्नेदेखि छोराछोरीको पढाइ खर्च जुटाएकी छन् ।

‘खाजा नास्तासँगै चाडबाडमा, त्यसमा पनि तिहारका बेलामा रोटी बिक्रीबाट राम्रो आम्दानी पनि भइरहेको छ, अहिले त अर्डर पुर्‍याउन पनि गाह्रो भइरहेको छ, बिहानैदेखि रातिसम्म रोटी बनाउन भ्याइनभ्याइ छ’, उनले भनिन्, ‘यो तिहारमा राम्रै बिक्री भयो, ठ्याक्कै हिसाब त गरेको छैन तर एक लाखभन्दा धेरै नै आम्दानी भयो ।’

रोजगारीका लागि भौतारिएर ठूलो रकम खर्च गरेर विदेश जानभन्दा सानोतिनो लगानीमा स्वदेशमै केही उद्यम व्यवसाय गर्नसके विस्तारै राम्रो आम्दानी हुने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४