काठमाडौं । आजदेखि काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”को पहिलो राष्ट्रिय भेला सुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु हुने भेला भोलिसम्म चल्ने जानकारी प्राप्त भएको हो ।
रास्वपाका अनुसार भेलामा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य-मान्यता, उम्मेदवार क्लब-लिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ । सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् संगठन विभागका प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् ।
भेलाबाट राष्ट्रिय अभियान घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मिति समेत तय हुनेछ । भेलामा देशभरबाट निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक/उपसंयोजक, प्रदेशको समिति/विभाग, केन्द्रीय समिति/विभाग र आयोगहरूबाट प्रतिनिधित्व रहने पनि जानकारी हामीलाई प्राप्त भएको छ ।