Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारी जागिर मात्र जीवन जिउने अन्तिम आधार होईन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ३१ २०८१
  • 14.5K
    SHARES

अर्चना घिमिरे

खोटाङ ।  शनिबारको दिन भएकाले घरमा सबै परिवार हुनुहुन्थ्यो। मध्यान्न १२ बजे घरमा घण्टी बज्यो। हतार हतार गर्दै दाइ गेट खोल्न जानु भयो। छिमेकी आन्टी आउनु भएको रहेछ। हातमा मिठाईको बट्टा पनि थियो। मिठाई आमालाई दिँदै भन्नुभयो, ‘मेरो छोराले शाखा अधिकृतमा नाम निकालेको खुसीमा मिठाई दिन आएकी।’

यति भनेर आन्टी आफ्नो घरतर्फ लाग्नु भयो।

आन्टी गएपछि आमाले मतर्फ हेर्दै भन्नुभयो, ‘छोरी, त्यो पल्ला घरे आन्टीको छोरा र तिमी सँगै पढेको साथी हो है ? हेर त सँगैको साथी शाखा अधिकृत भइसके, तिमीले लोक सेवाको परीक्षा दिन थालेको पनि दुई वर्ष भइसक्यो। खोइ नाम त निस्केन ! सँगैका साथीले पहिलो प्रयासमा नाम निकालिसके। उसले ६ महिनाको तयारीमा नाम निकालेको अरे, तिम्रो त दिमाग नै कमजोर हो कि मेहनत नगरेको हो ?

आमाको कुरा सुनेर मन भारी भयो। मनलाई शान्त पार्दै मैले आमालाई जवाफ दिएँ, ‘आमा, अरूको छोराछोरीले प्रगति गरे आफ्ना छोराछोरीले केही गर्न सकेनन् भनेर किन पिर लिनु हुन्छ ? सरकारी जागिर मात्र जीवन जिउने अन्तिम आधार होइन। जीवन जिउने अरू पनि त थुप्रै आधार छ। सरकारी जागिर खान प्रयास गरेको हो मैले, कोसिस गर्दा गर्दै सकिनँ भने केही व्यापार गर्छु। सरकारी जागिरले भन्दा व्यापारीले पैसा कमाएका छन्। हाम्रा काइँला काकालाई हेर्नु। उहाँ व्यापार गर्नु हुन्छ, आफ्नो कम्पनीको मालिक आफैँ हुनुहुन्छ। अरूलाई रोजगार पनि दिनु भएको छ। काठमाडौँमा घर छ, गाडी छ, घडेरी छ। म पनि केही व्यापार गर्छु। अरू केही भएन भने पनि चटपटे, पानीपुरी बेचेर भए नि यो जिन्दगी चलाउने हिम्मत छ। किन पिर लिनु हुन्छ आमा ?

मेरो जवाफ सुनेर मुसुक्क हाँस्दै आमाले भन्नुभयो, ‘ब्याचलर पास गरेर पनि चटपटे, पानीपुरी बेचेर बस्ने त छोरी ?
उहाँको प्रश्न सुनेर म पनि मुसुक्क हाँसेँ। भनेँ, ‘आमा, हाम्रो घर नजिकको चोकमा एकजाना दाइले पानीपुरी बेचेर महिनाको पचास हजारभन्दा धेरै कमाउनु हुन्छ अरे। के ब्याचलर पासले पानीपुरी, चटपटे बेच्नु हुन्न र ?’

मेरो प्रश्न सुनेर ‘छोरी तिमीसित बोलेर सकिन्न’ भन्दै आमा भान्सा कोठातिर लाग्नु भयो।

आमा छोरीको लामो संवादपछि दाइले कसैसँग फोनमा कुरा गर्दै गरेको सुनेँ। दाइ फोनमा कुरा गरिसकेपछि मेरो छेउमा आएर बस्नु भयो अनि भन्नुभयो, ‘बुने, विराटनगरबाट दिदीको फोन आएको थियो। एक जना केटा छ अरे। केटा नायब सुब्बा अरे। तिमीले बिहे गर्छौ कि सोध्न फोन गर्नु भएको छ, के छ विचार तिम्रो ? केटो राम्रै रहेछ। तिमीले त नाम निकाल्न सकिनौ सुब्बामा, अब सुब्बासँग बिहे गरेर सुब्बिनी भएर बस।
दाइको कुरा सुनेर मेरो मन खिन्न भयो। मनलाई शान्त पार्दै दाइलाई जवाफ दिएँ, ‘दाइ, मलाई म सक्षम हुनु छ। म सरकारी जागिरे नभएसम्म अधिकृत नै आए पनि गर्दिनँ म बिहे। जागिर नभए पनि अरू कुनै माध्यमबाट आफू सक्षम भएपछि मात्र बिहे गर्छु।

दाइले आमालाई बोलाउँदै भन्नुभयो, ‘आमा, बुनेलाई सम्झाउनु। यतिको केटो भेट्दा बिहे गरिन भने दुःख पाउँछे भनेर।
यति भन्दै दाइ आफ्नो कोठातिर लाग्नु भयो।

आमाले भान्सा कोठाबाट खाना खान बोलाउनु भयो। खाना पस्किँदै गर्दा आमाले भन्नुभयो, ‘छोरी, दाइले राम्रै भनेको हो नि। केटा सरकारी जागिरे रहेछ। एक दिन बिहे गर्नु नै पर्छ। बिचार गर्नू तिमीले। अब त २५ वर्षको पुग्यौ। बिहे गर्ने उमेर पनि भएको हो।’ आमालाई मलिन स्वरमा भनेँ, ‘के छोरीको उमेर बढ्दै गएपछि आमाबुवा माइतीलाई छोरी बोझ हुन्छे हो ?

‘घरमा पनि बिहेको कुरा घरभन्दा बाहिर निस्कियो। छिमेकले पनि हालखबरभन्दा पहिला बिहे कहिले गर्ने भनेर सोध्छन्। म यो बिहेको कुराले वाक्क दिक्क भइसकेँ आमा’ भनेँ।
आमाले मेरो अनुहारमा हेर्दै भन्नुभयो, ‘आमा बुवाको लागि छोरी कहिले पनि बोझ हुँदैन। यो त संसारको रीत नै हो, छोरी मान्छेले एक दिन न एक दिन जन्म घर छोडेर जानु पर्छ।’
‘आमा तपाईं जेसुकै भन्नु, सरकारी जागिर नखाएसम्म म बिहे गर्दिनँ,नत्र केहि व्यपार गर्छु , अब २ वर्ष सरकारी जागिरमा कोसिस गर्छु। सरकारी जागिर खाएँ भने खाएँ नत्र एउटा व्यापार थालेपछि मात्र बिहेको कुरामा सोचौँला, आमालाई भनेँ।

मेरो कुरा सुनेर आमाले मुसुक्क हाँस्दै भन्नुभयो, ‘५ वर्षमा त तिमी बुढी हुन्छौ। फेरि तिमीसित को बिहे गर्छ ? मुसुक्क हाँस्दै भनेँ, ‘सबैको जोडी भगवानले बनाएका हुन्छन् अरे, मेरो लागि पनि कोही बनेको होला नि किन पिर लिनु हुन्छ ? मेरो बिहे हुन जुरेको छैन भने पनि, मलाई सरकारी जागिरे हुन लेखेको छैन भने पनि अन्तिममा वृन्दावन गएर भगवानको भक्तिमा जीवन कटाउँला।’

आमाले फेरि भन्नुभयो, ‘छोरी, तिमीसित बोलेर सकिन्न।’ यति भनेर आमा भान्सा कोठाबाट बाहिर निस्कनु भयो, म पनि आफ्नो कोठातिर लागेँ।
कोठाको टेबलमा बसेर किताब हेर्न थालेँ। मनमा अनेक कुरा खेलिरहेको थियो। पढेको कुरा दिमागले टिपेन। किताब बन्द गरेर आफ्नो ओछ्यानमा पसेँ। ओछ्यानमा कोल्टी फेर्दै जसले जेसुकै भनोस् म असफल हुँदा उठाएको प्रश्नको जवाफ अरूको छोराछोरीले प्रगति गर्दा आफ्नो छोरीको प्रगति नहुँदा खिन्न भएको आमाको मन एक दिन अवश्य शान्त पार्छु भनेर आफ्नो मनलाई बुझाएँ। अनि मनलाई बुझाउँदै बत्ती निभाएर निदाउने प्रयास गरेँ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४