Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘जंगली च्याउ, खाऊँ कि नखाऊँ ?’


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २३ २०८१
  • 3.1K
    SHARES

काठमाडौं । ओखलढुङ्गा चुप्लु गाउँ  साँझको करिब ६ बजेको समय  खोला छेउको सेतो ठूलो ढुङ्गो नजिकै एउटी सानी बच्चीको जन्म भयो ।

गाउँलेहरूले उनको नाम ‘सेतीमा’ राखिदिए । सेतीमा अर्थात् ‘सेतो ढुङ्गामा’ ।

गाउँमा सेतीमाका बुबा भक्तबहादुरको थुप्रै जग्गा जमिन थिए । भक्तबहादुरले जेठी श्रीमतीबाट सन्तान नभएपछि सालीलाई नै झ्याइँ झ्याइँ विवाह गरेर कान्छी बनाएका थिए । केही वर्षमा नै कान्छीले दुई छोरी र एउटा छोरालाई जन्म दिइन् ।

भक्तबहादुरका दुई श्रीमतीहरू कहिल्यै झगडा गर्दैनथे । उनीहरू सधैँ दिदी बहिनी जसरी नै मिलेर बसे । उनका दुई श्रीमतीहरू मध्ये जेठीले घर व्यवहार सम्हाल्थिन् भने कान्छीले गोठ र पशुचौपाया हेर्थिन् ।
यसरी पूर्ण बनेको थियो भक्तबहादुरको परिवार ।

कान्छी चाहिँको कोखबाट जन्मेकी ‘सेतीमा’ सबैको प्यारी थिइन् । सेतीमा चुलबुले स्वभावकी थिइन् । दाइ, दिदीहरूले पनि उनलाई असाध्यै माया गर्थे । उनी सबैकी प्यारी हुँदाहुँदै पनि गोठमा बस्ने आमाकी भने आँखाकी नानी नै थिइन् । त्यसैले उनको बास सधैँ आमासँगै गोठमा नै बित्यो ।

उनी आमाजस्तै गाईबस्तुको गोठालो गर्थिन् । आमासँगै घाँस, दाउरा जान्थिन्, कुटो-कोदालो चलाउँथिन् । आमालाई सघाउन उनी रुख चढ्थिन्, डाला-स्याउला झार्थिन् । खोलामा गएर गँगटा, माछा, पाहा मारेर आमालाई पकाएर खुवाउँथिन् ।

‘छि जहिले के-के मारेर ल्याउँछ यसले, मलाई घिन लागिसक्यो । अब त नलेरा है’ आमाले दिक्क मान्दै उनलाई भन्नुहुन्थ्यो । उनी बेलुकी गोठमा पुग्दा केही न केही सिकार लिएर पुगेकै हुन्थिन् ।

उनी ७ वर्षको उमेरमा नै आमासँगै मेलापातमा जान सिकिन् । त्यसपछि भने आमाले उनलाई ‘च्याउ’ चिन्न सिकाउनु भयो ।

जंगलमा वस्तुको गोठाले जाँदा कन्‍ये, सिताके, ग्यानोदर्मा (रातो च्याउ), गाईबस्तुको मल ओसार्न जाँदा मलको थुप्रो माथि भएको गोब्रे च्याउ गर्दै बिस्तारै बिस्तारै उनले थुप्रै च्याउहरू चिन्न थालिन् । झरी पर्ने मौसममा मकै गोड्न जाँदा उनी आमासँग मकै बारीको च्याउ टिपेर ल्याउँथिन् र गोठमा पकाएर उनीहरू मिठो गरि खान्थे ।

‘ती दिनहरू बितेको पनि आज ४५ वर्ष भइसकेछ ।’ अगेनोमा पाक्दै गरेको च्याउ लाई हेर्दै उनले सम्झिइन् ।

भित्र अगेनोमा सेतीमा खाना पकाउँदै थिइन् । भात पहिल्यै पाकिसकेको थियो । कराइमा च्याउ उम्लिने तरखरमा थियो । उनकी साना-साना दुई छोरीहरू अगेनोमा बसेर भकभक उम्लिँदै गरेको च्याउलाई हेर्दै थुक निल्थे । उनीहरू बेलाबेला आमालाई सोध्थे- ‘आमा च्याउ कतिखेर पाक्छ  ?’

सेतीमा उनीहरूलाई सम्झाउँदै भन्थिन्- ‘पाक, पाक, पाक, च्याऊँ पाक भन्नुपर्छ, अनि पाक्छ ।’
उनीहरू आमाले सिकाए जस्तैगरि भन्थे ‘पाक, पाक, पाक, च्याऊँ पाक। ’

श्रीमान् बितेसँगै एक्लिएकी सेतीमालाई बिहान-बेलुकीको छाक टार्न बढो मुस्किल पर्दथ्यो । उनी दिनभरि मेलापात र मजदुरी गरेर आउँथिन् र बेलुकी छोरीहरूलाई पेट भर्ने गरि खुवाएर मात्र आफू खाने गर्थिन् । कहिले त छोरीहरूलाई खुवाउँदै जाँदा भाक पुग्दैनथ्यो र उनी भोकै निदाउँथिन् । त्यसरात उनलाई राम्ररी निद्रा पर्दैनथ्यो ।

सेतीमालाई छोरीहरूलाई सम्झाउन त्यत्ति मुस्किल परेन जति च्याउ टिपेर ल्याउन मुस्किल परेको थियो । उनी सदाझैँ माइलीआमाको गोलभेँडा टनेलमा काम गर्न गएकी थिइन् । उनले त्यहाँ गोलभेँडा फेदमा टुपुक्क-टुपुक्क परेका छत्रे च्याउहरू सेतै फुलेको देखिन् ।

उनले आजको छाक उही च्याउले टार्ने सोच बनाइन् । त्यसैले नजिकै गएर सेता च्याउहरू टिपेर पछ्यौरीमा पोको पार्न थालिन् ।

ती सबै दृश्यलाई नजिकबाट हेरिरहेकी माइलीआमाले उनलाई कराउँदै भनिन् ‘सेतीमा नटिप यो च्याउ, यो त खाने च्याउ होइन ।’

‘आमा यो खाने च्याउनै हो, यो गोबरमा फल्ने च्याउ यही त हो ।’ सेतीमाले माइली आमाको कुरा नमानी च्याउ टिपी नै रहिन् ।

माइलीआमाले निकै सम्झाउने कोसिस गर्दा पनि उनले उनको कुरो मानिनन् । किनकि उनलाई जसरी पनि बेलुकीको गर्जो पनि टार्नु थियो । नत्र उनका छोरीहरू भोकै पर्थे ।

साँझ पर्‍यो । सेतीमा आफ्नो कामबाट छुटेर घर फर्किइन् । उनले च्याउलाई एउटा स्टिलको बाटामा हालेर मजाले पखालिन् र पकाउन थालिन् । त्यसरातको भोजन उनीहरूले मिठो मानेर खाए ।

अर्को दिन । बिहानीको घाम उठिसक्दा पनि सेतीमा उठिनन् । त्यसबेलासम्म उनका छोरीहरूको पनि आँखा उघ्रेनन् । एकाबिहानै माइलीआमा र माइला बा उनीहरूको आँगनमा आइपुगे । उनीहरूसँग दुई-चार जना गाउँलेहरू सँगै आएका थिए ।

घामले डाँडा काटिसक्दा पनि  सेतीमा र उनकी छोरीहरूको चहलपहल नदेखेपछि गाउँलेहरू डराए । हिजो बेलुकीको च्याउ खाएर ज्यान गयो भन्ने उनीहरूलाई लाग्यो ।

उनीहरूले जोड-जोडले सेतीमालाई बोलाउँदै ढोका ढकढक्याए ।

घगरक्क ..

काठको ढोका उघ्रियो । सेतीमालाई देखेर सबैजना तर्सिए । तन्द्रा अवस्थामा रहेकी सेतीमा पनि गाउँलेहरूलाई देखेर झस्किइन् । त्यसैबिच माइलीआमा उनलाई अङ्गाल्दै क्वा क्वा रुन थालिन् ।
सेतीमालाई ठिक अवस्थामा देखेर सबै गाउँलेहरूले सन्तोषको सास फेरे ।

भोलीपल्ट माइलीआमाको गोलभेँडा टनेलमा सेता च्याउहरू देखिएनन् । किनकि माइलीआमा सेता च्याउ खान पल्की सकेकी थिइन् । उनी हरेक साँझ-बिहान उही गोलभेडाबारीमा भएको च्याउ टिपेर पकाउने गर्थिन् । माइला बा ले पनि सेता च्याउको तरकारी खुबै मन पराउन थाले ।

सबै कथाका पात्र सेतीमा जस्ता प्रतिभाशाली र भाग्यवान् हुँदैनन् । सबैजनासँग च्याउ चिन्न सक्ने क्षमता हुँदैन । गत असार २० गते पनि जङ्गली विषालु च्याउ खाँदा मकवानपुरको भिमफेदी गाउँपालिकामा एकै परिवारका सातजना बिरामी परेका थिए । जङ्गलबाट ल्याएको च्याउ खाँदा भिमफेदी-६ उर्लाघारी निवासी ६५ वर्षीया मङ्गली स्याङतान, उनका ३२ वर्षीय छोरा बुद्धिबहादुर स्याङतान, बुहारी ३० वर्षीया पासाङमाया स्याङतान, नाति सात वर्षीय लासाङ स्याङतान, बुद्ध स्याङतानकी छोरी १९ वर्षीया लक्ष्मीमाया स्याङतान, १५ वर्षीया पार्वती स्याङतान र सात वर्षीया छोरी आरती स्याङतान सिकिस्त बिरामी परेका हुन् ।

यसरी नै नेपालमा प्रत्येक वर्ष जंगली च्याउ खाएर धेरै जनाको ज्यान जाने गरेको छ । यसका लागि हामी सबैले बेलैमा सचेतना अपनाउ आवश्यक देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४