Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन पक्राउ परेसँगै कहाँसम्म जोडिन्छ राजनीतिक कनेक्सन ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार १८ २०८१
  • 3.4K
    SHARES

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा पक्राउ परेसँगै यो विषयमा तेस्रो चरणको अनुसन्धानले गति लिएको छ ।

नेपाल प्रहरीको विशेष टोलीले बेचनलाई भारतबाट समातेर शुक्रबार जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाएको छ ।

डा. मनोज केसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख रहेका बेला उनैले यो अनुसन्धान अघि बढाएका थिए । उनी अहिले प्रहरीको विशेष ब्युरोमा कार्यरत छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु भएदेखि नै फरार रहेका झाको संलग्नता भने धेरै पछि खुलेको थियो । छानबिनका क्रममा उनको नाममा हिमालय बैंकको २ करोड रुपैयाँको चेक रामशरण केसीले काटिदिएको खुलेको थियो ।

प्रकरणका मुख्य आरोपीमध्येका सानु भण्डारीले ‘१३ मंसिर २०७८ को मन्त्रिपरिषद् बैठकबाट भुटानी शरणार्थीबारे हामीलाई फाइदा हुने गरी निर्णय गर्दैछ, यो काम बेचन झाले गराएकाले उनलाई चेक काटिदिनू’ भनेपछि लेनदेन भएको केसीले बयानमा बताएका छन् ।

केसीले ८ मंसिर २०७८ को राति ८ बजे मध्य बानेश्वरमा झालाई दुई करोडको चेक दिएको केसीले बयानमा खुलाएको प्रहरीको भनाइ छ । उक्त चेकको फोटो प्रेमराज पन्थीलाई समेत आफूले पठाएको केसीले बताएका थिए । झाको ठेगाना नखुलेको र खुलेका बखत पुनः पूरक जाहेरीमार्फत अनुसन्धान अघि बढाउने गरी अन्यलाई मुद्दा चलाइएको थियो ।

‘सम्बन्धको हिसाबले कांग्रेसका उच्च तहका नेताहरुसँग बेचनको निकै राम्रो देखिन्छ । तर भुटानी शरणार्थी प्रकरणबारे भने को–सँग के सम्बन्ध भयो भन्ने खुल्न बाँकी छ’, पहिलो चरणमा अनुसन्धान गरेका एक अधिकृतले भने ।
भुटानी शरणार्थीको मुद्दा दायर भएको १३ महिनापछि बेचन पक्राउ परेका छन् । उनी पक्राउ परेसँगै यसको थप राजनीनिक कनेक्सन खोतल्न सहज हुने अनुसन्धान अधिकृतहरुको विश्वास छ । पहिले नाम, थर र ठेगाना नखुलेकाले खुलेका बखत थप अनुसन्धान गर्ने गरी अभियोग लगिएकाले उनलाई फेरि ६० दिन हिरासतमा राखेर विस्तृत अनुसन्धान गर्ने मौका प्रहरीलाई छ ।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पनि बयानमा बेचन झाको संलग्नता खुलाएका थिए । हाल पुर्पक्षमा रहेका तत्कालीन गृह सचिव पाण्डेले भनेका छन्, ‘मन्त्रालयमा राजनीतिक रुपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ ।’

प्रहरी अधिकारीहरु पनि बेचनको राजनीतिक कनेक्सन हुन सक्ने बताउँछन् । उनको मधेश केन्द्रित दल र नेपाली कांग्रेसका नेताहरुसँग राम्रो सम्बन्ध रहेको अनुसन्धान अधिकारीहरु बताउँछन् ।

काठमाडौंको नयाँ बानेश्वरमा घर भएका उनी निर्माण व्यवसायी हुन् । ठेक्कापट्टाको कामकै क्रममा उनले राजनीतिक व्यक्तिसँग सम्बन्ध बनाएको प्रहरी अधिकारीहरु बताउँछन् ।

सर्वोच्च अदालतले २८ असार २०७८ मा संसद् विघटन खारेज गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचनको प्रवेश भएको देखिएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

३० जेठ २०७६ मा पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वमा भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै कार्यदल गठन भएको थियो । उक्त प्रतिवेदनमा नक्कली भुटानी शरणार्थीको समेत नाम समावेश गराएर अमेरिका पठाउने भन्दै रकम असुलिएको थियो । तर यही बीचमा सरकार परिवर्तन भएको थियो र त्यसमा बेचन पनि जोडिएका थिए ।

सुजाता कोइराला परराष्ट्रमन्त्री हुँदा उनको सचिवायलयमा बसेर काम गरेका केशव दुलाल र बेचनबीच चिनजान थियो । दुलालमार्फत नै बेचन नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको पाइएको एक अनुसन्धान अधिकृतले बताए ।

‘सम्बन्धको हिसाबले कांग्रेसका उच्च तहका नेताहरुसँग बेचनको निकै राम्रो देखिन्छ । तर भुटानी शरणार्थी प्रकरणबारे भने को–सँग के सम्बन्ध भयो भन्ने खुल्न बाँकी छ’, पहिलो चरणमा अनुसन्धान गरेका एक अधिकृतले भने, ‘२ करोडको चेक बुझेपछि पनि कांग्रेसका उच्च तहका नेतासँग बेचनको भेट भएकोसम्म खुलेको छ । तर त्यो भेटमा भुटानी शरणार्थीबारे कुरा भयो/भएन यकिन हुन बाँकी छ ।’

देउवा नेतृत्वको सरकार गठन भएपछि नै शरणार्थीको फाइल अघि बढाउन भनेर सानुले भनेपछि केसीले २ करोडको चेक बेचनलाई दिएका थिए । बेचन झाको देउवा पत्नी आरजु राणासँग पनि राम्रो सम्बन्ध रहेको र भेट हुने गरेको एक अनुसन्धान अधिकृत बताउँछन् ।

आरजुका भाइ भूषण राणासँग बेचनको व्यवसायिक चिनजान थियो । भुषणमार्फत नै उनी आरजुसँग जोडिएका थिए ।

बेचन पक्राउ परेसँगै भुटानी शरणार्थी प्रकरणमा अन्य नेताहरुको पनि कनेक्सन खुल्न सक्ने अनुसन्धान अधिकारीहरु बताउँछन् । तर एक वर्षसम्म प्रमाण नष्ट भएको हुन सक्ने आशंका अनुसन्धान अधिकारीहरुको छ ।

‘बेचनले बयानमा खुलाए भने त्यसलाई पुष्टि गर्न सहज हुन्छ । तर बयानमा पनि नखुलाएको अवस्थामा प्रमाणबाट माथिल्लो नेक्सस पत्ता लगाउन गाह्रो छ । हामीले छुट्टै टिम बनाएर अनुसन्धान अघि बढाएका छौं’ काठमाडौं प्रहरी परिसरका एक अधिकृतते भने ।

बेचनको सम्बन्ध भएका अर्का व्यक्ति टोपबहादुर रायमाझी हुन् । उनी उर्जा मन्त्री भएको बेला बेचनसँग राम्रो सम्बन्ध थियो । बेचनको विभांशु ब्रदर्स नामक कम्पनी छ । उक्त कम्पनीमार्फत उनले ठेक्का पट्टाको काम गर्दै आएका थिए ।

बिजुलीको ट्रान्सफर्मरदेखि एअर कन्डक्टर खरिदमा बेचनले नै ठेक्का पाएका थिए । रायमाझी अहिले पुर्पक्षमा कारागारमै छन् ।

भारतीय नागरिक रहेका बेचनले पर्साबाट समेत नेपाली नागरिकता लिएको खुलेको प्रहरी दाबी छ ।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री बादलको पालामा ३० जठेमा २०७६ पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्व गठित कार्यदलमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए ।

अमेरिका पठाउने भन्दै बादलकै पालामा ठगी प्रकरण सुरु भएको थियो । पछि खाणको पालामा पन्थी कार्यदलको प्रतिवेदनमा अनसूची नै थपेर नक्कली नाम राख्दै ठगी भएको प्रहरीको निष्कर्ष छ ।

यो प्रकरणमा १० जना फरारसहित ३० जनाविरुद्ध २८ करोड, १ लाख ७४ हजार ५ सय बिगो कायम गर्दै १० जेठ २०८० मा मुद्दा दायर गरिएको थियो । टंक गुरुङ र लक्ष्मी महर्जनलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेको थियो । बाँकी पुर्पक्षमा कारागार चलान भएका थिए ।

पछि उच्च तथा सर्वोच्चको आदेशपछि खाँण, नरेन्द्र केसी, टेकनाथ रिजाल, शमशेर मिया, सन्दीप रायमाझीलगायत अहिलेसम्म ११ जना धरौटीमा रिहा भएर अहिले तारेखमा छन् ।

टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, केशवप्रसाद दुलाल, आङ टावा शेर्पा, सानु भण्डारी, सन्देश शर्मा, गोविन्दप्रसाद चौधरी, सागर राई गरी ९ जना पुर्पक्षमै कारागारमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४