Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टी–२० विश्वकप : ग्राण्ड प्रेरीले टीयूको झल्को दिने अपेक्षा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १९ २०८१
  • 2.3K
    SHARES

काठमाडौं । खेलकुदमा जुनसुकै टोली घरेलु मैदानमा अतिरिक्त बलियो हुन्छन् । त्यसको मुख्य कारण समर्थकको साथ हो । त्यसैले क्रिकेटमा समर्थकलाई १२ औं खेलाडी भनिन्छ । कमजोर वा खराब प्रदर्शनमा समर्थकको साथले खेलाडीमा अतिरिक्त उर्जा र प्रेरणा मिल्दा विपक्षीलाई दबाब बढाउँछ ।

त्रिवि (टीयू) क्रिकेट मैदान भनेपछि धेरैको मनमा भरिभराउ नेपाली दर्शकको याद आउँछ । अन्तर्राष्ट्रिय खेलहरुमा त्रिवि क्रिकेट मैदान भित्र र बाहिर खुट्टा टेक्नै नसक्ने गरी समर्थकहरु आउँछन् । प्रमुख खेलहरुमा टिकट नपाएर मैदान जान नसक्ने पनि त्यति नै हुन्छन् ।

नेपालमा मात्रै होइन विदेशमा पनि समर्थकको साथ देखिन्छ । रोजगार वा पढाइको कारण गएका नेपालीहरु मैदानमै पुगेर समर्थन गर्दछन् । तर संख्या केही मात्रामा हुने गर्छ । आईसीसी टी–२० विश्वकप २०२४ आइतबारदेखि अमेरिका र वेष्टइण्डिजमा सुरु हुनेछ । धेरै नेपालीहरुको सपनाको शहर अमेरिकामा नेपाली टोलीले समर्थकबाट राम्रो साथ पाउने अनुमान गरिएको छ ।

मंगलबार विश्वकपमा नेपालको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध हुने डालसस्थित ग्राण्ड प्रेरी रंगशालालाई दोस्रो टीयु ग्राउण्ड भन्न थालिएको छ । अमेरिका टी–२० विश्वकप खेल्दैछ । अमेरिकी बासीहरुमा त्यो उत्साह र खुसी खासै देखिदैन । त्यसको मुख्य कारण अमेरिका टोलीमा बाहिरी देशका खेलाडी बढी हुनु हो ।

तर नेपाली समुदायमा विश्वकपको रौनक नै फरक देखिन्छ । अघिल्लो साता नेपालले ह्युस्टनमा दुई टी–२० अभ्यास खेल खेल्दा केही मात्रामा नेपाली समर्थक मैदानमा पुगेका थिए । चर्को गर्मीका बाबजुद मैदान पुगेका हरेक समर्थकको भनाइ खेलाडीलाई विश्वकपमा ४ जुनमा ग्राण्ड प्रेरीमा भेटौंला भन्ने थियो ।

‘६ महिनादेखि हामी यसै खेलको पर्खाइमा छौं । नेपालको जर्सीमा हुटिङ गर्न आतुर छौं । नेपालले नेदरल्यान्ड्सलाई हराउँछ भन्नेमा हामीलाई ठूलो आशा छ । नेपाल विश्वकपमा आउनु नै ठूलो कुरा हो । डालसमा खेल हुनु हाम्रो लागि एउटा भाग्य जस्तै हो’, कुशराज पोखरेलले भने ।

उनका अनुसार अमेरिकामै जन्मिएका बच्चाहरुलाई नेपाली क्रिकेटबारे कम जानकारी छ । तर नेपालमा जन्मिएर अमेरिका आएकालाई नेपाली क्रिकेटबारे धेरैथोरै जानकारी छ । यो रंगशालाको दर्शक क्षमता १५ हजार छ । त्यसमा १२ हजार भन्दा बढी नेपाली दर्शक हुने पोखरेल दाबी गर्छन् ।

न्यूयोर्कपछि डालसमा सबैभन्दा बढी नेपाली बसोबास गर्छन् भन्ने मानिन्छ । डालसमा झण्डै १ लाख नेपाली बसोबास गर्दछन् । युवा व्यवसाही राकेश सहनी ४ जुनको प्रतीक्षामा छन् । ‘१० वर्षपछि नेपालले टी–२० विश्वकप खेल्दैछ । आफ्नै ठाउँमा हुँदा उत्साहित छु । मलाई लाग्छ रंगशालामा सबै नेपालीले नै भरिभराउ हुन्छन् । साथीभाइ सबै जना कहिले त्यो दिन आउँछ भनेर बसेका छौं’, राकेश भन्छन् ।

नन्दनी आचार्य यसै साता डालसबाट दुई अभ्यास खेल हेर्न चार घण्टा ड्राइभिङ गरेर ह्युस्टन पुगेकी थिइन् । नेपाली क्रिकेटबारे नजिकबाट चासो राख्दै आएकी उनले ह्युस्टन हरिकेन्ससँग दुई अभ्यास खेलको क्रममा आफ्नो जर्सीमा विश्वकप खेल्ने खेलाडीबाट हस्ताक्षर गराउने मौका पाइन् ।

विश्वकप खेल्ने सबै खेलाडीबाट हस्ताक्षर गर्ने अवसर निकै कम समर्थकले पाउँछन् । नन्दनीलाई विश्वकपले नेपालमै बसेको अनुभव गराएको छ । ‘मलाई अहिले डालासमा नेपाल जस्तो माहोल भएको छ । घरदेखि १५ मिनेट टाढा मात्रै रंगशाला छ । धेरैपछि नेपालले टी–२० विश्वकपमा प्रतिनिधित्व गर्न लागेको हुँदा पनि म एकदमै उत्साहित छु । नेपाल नै गए जस्तो अनुभव हुन थालेको छ’, नन्दनीले भनिन् ।

नेपाल र नेदरल्यान्ड्सबीच हुने खेलको सबै टिकट बिक्री भइसकेका छन् । पहिला सस्तोमा धेरै टिकट किनेकाहरुले अहिले महंगोमा बेच्न थालेका छन् । ह्युस्टनपछि नेपाली टोली डालस आएको थियो । ग्राण्ड प्रेरीमा नै नेपालले गत सोमबार क्यानडासँग आईसीसी टी–२० विश्वकप वार्मअप खेल खेलेको थियो । १८४ रनको लक्ष्य पछ्याएको नेपाल १२० रनमा अल आउट भएको थियो ।

रंगशालामा विश्वकप तयारी र साजसज्जा भइरहेको हुँदा दर्शकलाई भित्र प्रवेश गर्न दिइएको छैन । तैपनि केही समर्थक खेल हेर्न पुगेका थिए । रंगशाला भित्र छिर्न नदिएपछि कतिपय समर्थक खेल सकिने बेलासम्म रंगशालाको गेटमै खेलाडीलाई पर्खेर बसिरहे । चार जना नेपाली समर्थक भने खेलको अन्त्यतिर रंगशाला भित्र प्रवेश गरेर खेल हेरे ।

नेपाली समर्थक देखेर कप्तान रोहित पौडेल पनि निकै उत्साहित छन् ।

‘अमेरिकामा आएपछि धेरै नेपाली समर्थकहरुसँग छलफल गरेँ । जति हामी तयार छौं त्यो भन्दा बढी उहाँहरु तयार हुनुहुन्छ जस्तो लाग्यो । सबै जनाले मंगलबार तपाईंहरु चिन्ता नलिनू हामी एकदमै सपोर्ट गर्छौ भन्नुभएको छ । त्यो हेर्दा एकदमै खुसी लागेको छ’, रोहितले उत्साहित हुँदै भने ।

रोहित पनि त्रिवि क्रिकेट मैदानपछि नेपाली समर्थक डालसमा हुने अनुमान गर्छन् । ‘अहिलेसम्म भेटेकाहरुले ९०/९५ प्रतिशत नेपाली समर्थकहरु हुन्छन् भन्नुभएको छ । अब त्यसै दिन थाहा हुन्छ’, रोहितले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४