काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा उहाँले पदबाट दिएकोे राजीनामा स्वीकृति गरिएको बताए । उपाध्यक्ष अर्यालले बिहीवार अध्यक्ष दाहालसमक्ष पदबाट राजीनामा दिएकी थिइन् ।
अध्यक्ष दाहालले भने–‘राष्ट्रिय सभाका माननीय उपाध्यक्षले पदबाट दिनुभएको राजीनामा सनाखत गराई स्वीकृत भएको व्यहोरा सभा समक्ष जानकारी गराउँदछु ।
नेकपा (माओवादी केन्द्र) को तर्फबाट उपाध्यक्ष रहनुभएकी अर्यालले नयाँ सत्ता समिकरणसँगै उपाध्यक्ष पद अन्य दलको भागमा परेपछि राजीनामा दिएकी हुन् ।
राजीनामा पत्रमार्फत उनले पदीय जिम्मेवारीमा रहँदा साथ दिएको भन्दै राष्ट्रिय सभाका अध्यक्ष, सांसदहरु र संसद सचिवालयका पदाधिकारीसहित सहयोगी सबैलाई धन्यवाद समेत दिइन् ।