काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनैपनि बेला फुट्न सक्ने बताएका छन् ।
सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै उनले त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने टिप्पणी गरेका छन् । बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले आफूहरूले दिएको सुझाव नसुनेर सरकारले दम्भ देखाइरहेको आरोप समेत लगाएका छन् ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको जिकिर पनि गरेका छन् । उनले नेपाली काँग्रेस महासमिति बैठकले संविधान संशोधनको कुरा गरेपनि सम्भव नभएको बताएका छन् । नेपाली काँग्रेस एक्लैले संविधान संशोधन गर्नसक्ने अवस्था नरहेको ओलीको भनाई रहेको थियो ।
अध्यक्ष ओलीले भने ‘नेकपा एमालेसँग मेजरिटी छैन । हामी सरकार भन्दा बाहिर छौं । प्रतिपक्षमा छौं । त्यसकारण हामीले सुझाव दिने हो । त्यो सुझाव त अब गठबन्धनको दम्भले सुनिराखेको छैन पहिलेदेखि पनि गठबन्धन त ५ वर्षसम्म जान्छ कि जाँदैन ? म भन्न सक्दिन । किनभने यो खरानीको डल्लो हो । यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ । त्यो उसको ८७ सिटले संविधान संशोधन हुन्छ ? नेकपा एमालेले नेपाली काँग्रेसलाई केमा सहयोग गर्ने ? प्रतिगमनका लागि नेपाली काँग्रेस जति प्रतिगामी सोच राख्छ, त्यसका लागि ? नेपाली काँग्रेस अग्रगामी सोचका साथ अघि बढिराखेको छैन । प्रतिगामी सोचका साथ अघि बढिराखेको छ । जनपक्षीय, प्रगतिशील हुनुपर्ने, अगाडि बढ्नुपर्ने ठाउँमा पछाडि फर्कन खोजिराखेको छ नेपाली काँग्रेस ।
अध्यक्ष ओलीले नेपाली काँग्रेसले प्रतिगामी सोच राखेकाले नेकपा एमालेले सहयोग गर्ने कुनैपनि ठाउँ नरहेको बताएका छन् ।