पुष्कर खड्का
काठमाडौँ । काठमाडौं गौशालाबाट दुई वर्षीय बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–५ घर भएका राज नेपाल रहेका छन् ।
उनले काठमाडौँ महानगरपालिका–८ स्थित पशुपतिनाथ मन्दिरको १ नम्बर गेटबाट दुई वर्षीय बालिकालाई लिएर गएका हुन् । आरोपीले पठाओमा चढाएर बालिकालाई भक्तपुरस्थित दधिकोटमा लगेर राखेको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिनु भयो ।
उहाँको जानकारी अनुसार सिन्धुपालचोक घर भई हाल भक्तपुरको गोठाटार बस्दै आएकी बालिका पुस १० गते मंगलबार गौशालाबाट अपहरणमा परेकी थिइन् । बालिकाका अभिभावक पशुपतिनाथ मन्दिरको गेटमा चिया पसल चलाउँछन् र ‘ यद्धपी बालिकाको सकुशल उद्धार भइसकेको एसपी रेग्मीले बताउनुभयो ।
पीडित परिवारले चिया खान आएकाहरुले जबरजस्ती बालिका बोकेर लगेको प्रहरीलाई बताएका छन् । आरोपीले भने प्रहरीसँग ती बालिका आफ्नै बच्चा भएको र चिया पसलेले लगेर राखेको जिकिर गरेका छन् ।
प्रहरीले सिसिटिभीको सहायताले अनुसन्धान गरेर उनलाई पक्राउ गर्न सफल भएको जनाएको छ । आरोपीविरुद्ध अपहरण तथा शरिरबन्धक सम्बन्धी कसुरमा मुद्धा दर्ता गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिनुभयो ।