काठमाडौँ । आज तिहारको तेस्रो दिन गाईको पूजा गरी मनाइँदैछ ।
गाई हिन्दु धर्मावलम्बीका लागि पवित्र जनावर मानिन्छ । यसर्थ गाईलाई पूजा गर्ने परम्परा वैदिक सनातन कालदेखिको चलिआएको हो ।
गाईलाई गौमाता पनि भन्ने गरिन्छ । गाईको दूध आमाको दूध जस्तै पोषिलो हुने भएकाले गाईलाई गौमाता भनिएको हो । गाईको दूधका साथै गाईको गहुँत र गोबर पनि पवित्र मानिन्छ ।
आज गाईलाई पूजा गरी मीठा परिकारहरु खान दिइन्छ । कार्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने चलन भएपनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

गाई जगत जननी भएकाले पनि हिन्दु संस्कार अनुसार पूजा गर्ने गरेको जनविश्वास छ। गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिन्छ।
आजको दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ। गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ।
आजको दिनलाई गाई तिहार र हलीतिहार समेत भन्ने गरिन्छ। आज गाई, गोरु र हलीलाई समेत मीठा कुरा खान दिइन्छ। आजैका दिन बेलुकी घरघरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ।
नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिए।
आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।