काठमाडौं । बिहीबार कपिलवस्तुको पिपराबाट काठमाडौं आएका सविनजंग कार्कीले आफ्नो दिदीको लागि ६ किलो चिनी लिएर आए । काठमाडौं बसेर पढ्दै गरेका उनलाई काठमाडौंमा रहेकी दिदीले चिनीको हाहाकार भएको भन्दै सीमा क्षेत्र र तराईमा चिनी पाइन्छ भने ल्याइदिन भनेकी रहिछन् ।
‘काठमाडौंमा चिनी नपाइएपछि चिया समेत मिश्री हालेर पकाउनुपरेको भनेर दिदीले भन्नुभयो,’ कार्कीले भने, ‘उता सस्तो पनि रहेछ । ६ किलो चिनी ल्याइदिएको छु, तिहारसम्मलाई पुग्छ होला ।
आफूले कपिलवस्तुको सामान्य किराना पसलमै किलोको ९० रुपैयाँमा चिनी पाएको उनले सुनाए ।
धादिङका विवेक कंडेल दशैं विदामा इलाम घुम्न गएका थिए । इलाम पुगेर फर्केर विराटनगर आइपुगेपछि उनीसंगै बसमा रहेकाहरुले चिनी लैजाने सल्लाह गरे । ‘यहाँ चिनी सस्तोमा पाइन्छ रे । उता हाहाकार छ तिहारलाई हुन्छ लैजाम’, केहीदिन अघि धादिङबाट २ किलो चिनी लिन काठमाडौंसम्म पुगेको र घण्टौं लाइनमा पुगेको समाचार सुनेको भन्दै कंडेल भन्छन्, ‘बसमा यात्रीहरुले गफिएको सुनेपछि म पनि झरेर १० किलो चिनी ल्याएको छु । तिहार र थप केही महिनालाई चिनी पुग्ला ।’
उनका अनुसार उनीसँग धादिङ हुँदै काठमाडौं आएका अधिकांश यात्रीले चिनीको पोको बोकेर काठमाडौं फर्किएका छन् ।
धिरेन्द्र राना बसुन्धारामा चिया पसल चलाउँछन् । दशैं अघिदेखि सुरु भएको चिनीको हाहाकारका कारण उनको पसलमा खुलेर चिया बिक्री गर्ने अवस्था छैन । ‘अहिले २ दिन बिराएर साल्ट ट्रेडिङको मुख्यालय कालीमाटी बुढाबुढी पुग्ने गरेका छौं’, रानाले भने, ‘लामो पट्यार लाग्दो लाइन लागेपछि पाइने २–२ किलो चिनी लिएर आउँछु र पसल जसोतसो चलेको छ ।
उनका अनुसार उनी बस्ने ठाउँका कतिपय उपभोक्ताहरुले मिश्री र सख्खरबाट समेत चिनीको गर्जो टारेका छन् ।
असार अन्तिमसम्म बजारमा ८५ रुपैयाँ किलोमा बिक्री भइरहेको चिनी ठूला चाडपर्व नजिकिएसंगै अभाव भएको हल्ला फिजाइँयो र मूल्य बढाइयो । सहुलियतमा चिनी बेच्ने सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र सरकारकै सेयर रहेको साल्ट ट्रेडिङको बिक्री केन्द्रमा चिनी सकिएको भन्दै चिनीको मूल्य ८५ रुपैयाँ किलोबाट बढाएर १६० रुपैयाँसम्म पुग्यो ।
दशैं अघिदेखि एकाएक सुरु भएको काठमाडौंको चिनी अभाव तिहारसम्म आइपुग्दा भयवह बनेको छ । काठमाडौं उपत्यकाका उपभोक्ता चिनीको हाहाकारले हैरान भइरहेका बेला महँगो मूल्यमा बजारमा जति पनि चिनी उपलब्ध छ । चिनी आवश्यक पर्ने ठूला उद्योग, मिठाइ पसल र व्यापारीलाई जति पनि चिनी उपलब्ध भएको छ । तर, ठूला चाडपर्वमा उपभोक्तलाई सरकारले चिनीको संकट र महँगी उपहार दिएको छ ।
७५ रुपैयाँसम्म बढ्यो मूल्य
नेपाल खुद्रा व्यापार संघकाअनुसार असारसम्म बजारमा चिनीको होलसेल मूल्य ८५ रुपैयाँ किलो थियो । तर, भदौसम्म चिनीको मूल्य खुद्रा बजारमा १२७ रुपैयाँ पुगेको खुद्रा व्यापार संघका सहकोषाध्यक्ष ध्रुव अधिकारी बताउँछन् ।
उनका अनुसार बजारमा दशैं अघिसम्म कतिपय ठाउँमा १६० रुपैयाँसम्ममा चिनीको बिक्री भएको थियो । ‘तिहार लागेको छ । चिनी लगायतका वस्तु खपत बढ्ने बेला छ’, अधिकारी भन्छन्, ‘तर चिनी खरिद गर्न पनि मुश्किल छ । बिक्री गर्न पनि मुश्किल छ ।
अधिकारीका अनुसार चिनी किनेको होलसेल पसलले बिल दिन मान्दैनन् । त्यसैले खुद्रा ब्यापारीले पनि चिनी नबेच्ने गरेका हुन् ।
सरकारले गराएको चिनी अभाव
बजारमा अभाव सिर्जना गरेर चिनीको मूल्य सरकारले नै बढाएको व्यापारीहरु बताउँछन् ।
होलसेल तथा खुद्रा व्यापार संघका अधिकारीहरुको यस्तो आरोपमा सरकारको पूर्ण स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र केही प्रतिशत सेयर रहेको साल्ट ट्रेडिङ पनि सहमत छ । उनीहरुका अनुसार सरकारले निश्चित उद्योगीहरुको स्वार्थमा काम गर्दा अहिले काठमाडौंका सर्वसाधारण चिनी अभाव झेलिरहेका छन् ।
असारसम्म औसत ९० देखि ९५ रुपैयाँ होलसेलमा बिक्री भइरहेको चिनीको भण्डार रित्तिँदै गएपछि ठूला चाडपर्वमा अभाव हुने भन्दै वाणिज्य मन्त्रालयमा खाद्य र साल्ट ट्रेडिङले चिनी खरिदको निवेदन साउनमा गरेका थिए । साउन पहिलो साता गरिएको उक्त निवेदन पछि वाणिज्य मन्त्रालयले ६० हजार मेट्रिक टन चिनी अभाव हुन सक्ने भन्दै आयातका लागि १८ साउनमा अर्थ मन्त्रालयमा पत्राचार गरेको थियो ।
‘चिनी अभाव हुन सक्ने देखेरै हामीले भन्सार महशुल छुटका लागि अर्थ मन्त्रालयमा निवेदन दियौं’, मन्त्रालयका एक अधिकारी भन्छन्, ‘१८ साउनका पत्रको जवाफ नआएपछि ३१ साउनमा पुनः अर्को पत्राचार भयो तर पनि अर्थले तत्काल सहमति दिएन ।’
बजारमा सरकारी सहुलियतको चिनी सकिँदै जानु र उद्योगहरुले चिनी छैन भनिसकेको अवस्थामा अर्थ मन्त्रालयले फाइल अड्काएको मन्त्रालयको भनाई छ । छिटो खरिद प्रक्रिया सकेर चाडपर्वअघि नै चिनी ल्याउन अर्थकै कारण ढिलाइ भएको अधिकारीहरु बताउँछन् ।
तर, २७ भदौमा मात्रै अर्थ मन्त्रालयले जम्मा २० हजार मेट्रिकटन चिनी आयातका लागि सहुलियत दिने निर्णय ग¥यो । साल्ट ट्रेडिङ र खाद्य व्यवस्थाले १०–१० हजार मेट्रिक टनका दरले आयात गर्ने भनिए पनि सो चिनीको खरिद प्रक्रिया पुरा भएको छैन । ४५ दिने बोलपत्र आह्वान गरेर खरिद प्रक्रिया थाले पनि चिनी आउन अझै समय लाग्ने दुवै कम्पनीले जनाएका छन् । जसका कारण अहिले बजारमा चिनीको हाहाकार छ ।
सरकारकै कारण ८२ रुपैयाँको चिनी ११५ पुग्यो
चिनी उत्पादक संघले गत वैशाखमै यो वर्षका लागि चिनी अभाव हुने कुरा सरकारलाई बताएको दाबी गरेको छ । गत महिना कुरा गदै संघका अध्यक्ष शशीकान्त अग्रवालले आफूहरुसंग चिनी सकिएपछि सरकारलाई आयात गर्न भनेको दाबी गरेका थिए ।
तर, ३ असोजमा वाणिज्य विभागले काठमाडौंको कुलेश्वरमा रहेको गुह्वेश्वरी ट्रेडिङमा छापा मारेर ७० हजार किलो चिनी बरामद गर्यो । साउनदेखि नै बजारको मुख्य बिक्री केन्द्रमा अभाव भइरहेको तर कहीँ कतै निकै महँगोमा बेचिएको चिनी सोही सप्लायर्सले बेचेको अनुसन्धानमा खुल्यो ।
अनुसन्धान गर्दै जाँदा सन्तोष खेतानको सोही कम्पनीले नेपाली चिनी उद्योगहरुसंग चिनी खरिद गरेर भण्डारण गरेको पनि देखियो । सोही सप्लायर्सलाई पछ्याउँदै जाँदा वाणिज्य विभागले चिनी उद्योग संघका अध्यक्ष अग्रवालकै २ वटा मिलले चिनी भण्डारण गरेर राखेको पनि खुल्यो । तर, सो चिनी अन्य उद्योगहरुले खरिद गरिसकेको उनले दाबी गरे ।
नेपाल खुद्रा व्यापार संघका एक अधिकारी भन्छन् ‘मिलहरुमै भण्डारण गरिएको चिनी जबरजस्ती अभाव सिर्जना गरेर खेतान र चिनी उत्पादक संघले मूल्य बढाइरहेका थिए । १२७ रुपैयाँमा चिनी बेचेर १०५ रुपैयाँको बिल बनाइरहेका थिए ।’
वाणिज्यले बरामद गरेको चिनी ८२ रुपैयाँ किलो होलसेलमा खरिद गरेर भण्डारण गरिएको आरोप खुद्रा व्यापार संघका सहकोषाध्यक्ष ध्रुब अधिकारीको छ । पहिले सन्तोष खेतानको सप्लायर्सबाट बरामद भएको चिनी साल्टले किनेर २ किलोका दरले ९७ रुपैयाँमा बिक्री गरेको छ ।
लामो लाइन लागेका उपभोक्तालाई दैनिक २ किलोका दरले ९७ रुपैयाँ किलोमा चिनी बिक्री गरेको साल्ट टे«डिङका सूचना अधिकारी कुमार राजभण्डारीले बताए ।
‘लामो लाइन छ २ किलोका दरले बिक्री गरिरहेका छौं’, उनले भने, ‘थप ३ हजार मेट्रिकटन चिनी आउने कुरो छ यसको मूल्य ११५ रुपैयाँ पर्छ सक्छ ।’
सन्तोष खेतानले ८२ रुपैयाँमा किनेर कालोबजारीका लागि भण्डारण गरेको चिनी जफत गर्नुपर्नेमा वाणिज्य विभागले यसलाई झनै मूल्य बढाएर उपभोक्तामाझ बिक्रीमा पठायो ।
उता शशिकान्त अग्रवालको उद्योगमा भेटिएको १ लाख ८८ हजार क्वीन्टल चिनीमध्ये ३ हजार मेट्रिक टन चिनी प्रधानमन्त्री कार्यालय समेतको मिलेमतोमा ११५ रुपैयाँ मूल्य तोकेर दशैंको मुखैमा बजारमा पठायो ।
चिनी बजार पठाएर अभाव चिरेको दाबी सरकारको छ । तर, उपभोक्ता अधिकारकर्मी तथा खुद्रा व्यापार संघका सदस्यहरु कालोबजारीको चिनीमा सरकारले नै मूल्यमा दलाली गरेको आरोप लगाउँछन् ।
‘सस्तो भण्डारणको चिनी जफत गरेर सस्तोमा उपभोक्तालाई उपलब्ध होला भन्ने कुर्दाकुर्दै सरकारले उल्टै ११५ रुपैयाँ सन्दर्भ मूल्य तोकेर बजारमा पठायो’, खुद्रा व्यापार संघका सहकोषाध्यक्ष अधिकारी भन्छन्, ‘८२ रुपैयाँको चिनीको मूल्य कृत्रिम भण्डारण पछि सरकारले नै ११५ रुपैयाँ तोकिदियो ।’
दशैंअघिको अभाव चिर्न भन्दै साल्ट ट्रेडिङलाई यस्तो ३ हजार मेट्रिकटन चिनी पठाइएको छ र बजारमा त्यो चिनी केही मात्रामा बिक्री पनि भइरहेको छ । यस्तै, चिनी उद्योग संघले अन्य उद्योगलाई बिक्री गरेको चिनी सापटी मागेको भन्दै थप ३ हजार मेट्रिकटन चिनी बजारमा पठाउन समझदारी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सो चिनीको मूल्य पनि ११५ रुपैयाँ तोकिएको छ ।
सरकारले भनेअनुसार चिनी बिक्री गर्न सुरु गरेको साल्ट ट्रेडिङले जनाएको छ । तर, उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना ८२ रुपैयाँको चिनीलाई अवैध जम्माखोरी गरेर ११५ रुपैयाँ कायम गरेर बिक्री गर्नु अपराध भएको बताउँछन् ।
‘अकुत नाफाका लागि जम्माखोरी गर्नेलाई कानुनले अपराध मानेको छ’, उनी भन्छन्, ‘तर चिनीमा पहिले आफैं चिनी अभाव सिर्जना हुने वातावरण बनाएर अहिले सरकारले आफैं मूल्य बढाएर आपूर्ति मिलाएको नाटक गरेको छ ।’
सरकारले चिनी आउन सक्ने सबै बाटो छेकेर कृत्रिम भण्डारणको चिनी मूल्य बढाउँदै बिक्री गरेर अवैध व्यापारलाई प्रश्रय दिएर उपभोक्तामाथि लुट मच्चाएको उनको आरोप छ ।
जीटूजीको चिनी तिहारअघि मुश्किल
बजारमा चिनीको हाहाकार भएपछि नेपालले भारतलाई जीटूजी (सरकार सरकारबीच खरिद) मा २५ हजार मेट्रिकटन चिनी दिन आग्रह गरेको थियो । तिहार अघि नै २५ हजार मेट्रिकटन चिनी उपलब्ध गराउन भारत सहमत भएपछि खरिदको प्रक्रिया थालेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र कुमार ठाकुर बताउँछन् ।
जसमध्ये २० हजार मेट्रिकटन चिनी तिहार अगाबै ल्याउने गरी खरिद प्रक्रिया थालेको छ र साल्ट ट्रेडिङले यस्तो पहल थालेको छ । तर, तिहार सुरु हुन ५ दिन मात्रै बाँकी रहँदा चिनी आउने सम्भावना लगभग सकिएको साल्ट ट्रेडिङले जनाएको छ ।
‘चिनी ल्याउन प्रक्रिया सुरु गरेको हो । भारत सहमत पनि भएको छ । तर, प्रक्रियागत झञ्झटका कारण तिहारअघि चिनी आउने सम्भावना छैन,’ साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले भने, ‘तिहारलाई चिनी सहज हुन मुश्किल नै छ । चिनी उपलब्धताको प्रक्रिया नै निकै ढिलो भयो ।