काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको छ ।
बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगललाई तत्काल पक्राउ गर्न आदेश दिएको हो ।
इजलासमा आदेश सुनाउँदै न्यायाधिश खतिवडाले भने, ‘संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको योगराज ढकाल रिगलको बाँकी कैद मिनाहा संविधान र कानुन विपरीत देखिएकोले बदर हुने ।
चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट बाँकी कैद माफी पाएर संविधान दिवसको दिन छुटेका थिए ।
चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले उक्त निर्णयविरूद्ध गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
व्यक्ति हत्यामा दोषी ठहर भएका योगराज ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले कैद छुट दिने वा मिनाहा गर्ने निर्णय गर्दा कानुनले तोकेको प्रतिशतका अतिरिक्त पीडितको सहमति अनिवार्य लिनुपर्ने फैसला गरेको हो ।
कामु प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले बिहीबार सुनाएको फैसलामा पीडितको हक संरक्षित हुने गरी, सहमति तथा मञ्जुरीसमेत लिई पीडितलाई सामाजिक पुनर्स्थापना र क्षतिपूर्तिसहितको न्याय प्राप्त भएको अवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै सर्वोच्च अदालतबाट विगतमा भएका आदेश, प्रतिपादित नजिरसहित कानुनमा उल्लेख भएका शर्तहरुको अनुशरण गरेर सार्वजनिक हित, चासो र सरोकारका विषय समेत विचार गरेर कैद छुट तथा मिनाहा गर्नुपर्ने सर्वोच्चको फैसला छ ।
यसरी गरिने निर्णयमा वस्तुगत आधार र उचित कारण अभिव्यक्त रुपमा खुलाएर मात्र निर्णय गर्ने गर्नु भनी प्रत्यर्थीहरुको नाममा परमादेश जारी हुने ठहर्छ’, फैसलामा भनिएको छ ।