Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हृदयघात भइसकेपछि तत्काल के गर्ने, के नगर्ने ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र २८ २०८०
  • 6.4K
    SHARES

काठमाडौं । हृदयघात यस्तो आपतकालीन स्वास्थ्य अवस्था हो, जसमा बिरामीलाई तुरुन्तै अस्पताल लैजानुपर्छ । यस्तो अवस्थामा बिरामीले समयमै चिकित्सकीय सहयोग नपाएमा मृत्युको जोखिम बढ्छ । त्यसैले विज्ञहरूले हृदयघातका सानातिना लक्षणलाई पनि बेवास्ता नगर्न सल्लाह दिन्छन् ।

तत्काल चिकित्सकीय सहयोग पाएमा मुटुलाई क्षति पुग्नबाट जोगाउन सकिन्छ, जसले बिरामीको ज्यान जोगाउन सकिन्छ । त्यसैले हृदयघातको कुनै संकेत पाउन सकिन्छ कि सकिंदैन ? हृदयघात भइहाले के गर्ने लगायतको विषयमा वीर अस्पतालमा मुटुरोग विशेषज्ञ डा. विनायक गौतमसँगको कुराकानीको सम्पादित अंश :

हृदयघातअघि कुनै लक्षण देखिन्छ ?

छाती भारी हुने वा दुख्ने, चिट्चिट् पसिना आउने, धड्कन बढ्ने, आत्तिने, कहिलेकाहीं दुखाइ हाततिर तथा घाँटीतिर सर्दै जाने, छिटोछिटो हिड्दा र भर्‍याङ मात्र चढ्दा पनि स्वाँस्वाँ आउने, भारी सामान उचाल्दा असजिलो महसुस हुने, छाती पोल्ने समस्या हृदयघात हुनुअघि देखिने लक्षण हुन् । यस्तो लक्षण हप्ता दिन वा एक-दुई महिनाअघिदेखि देखिन सक्छ । तर धेरैले यसलाई बेवास्ता गरिरहेका हुन्छन् ।

हृदयघात नै भएको भनेर कुनै संकेत पाउन सकिन्छ ?

हृदयघात हुँदा देखिने सबैभन्दा सामान्य लक्षण छाती दुखाइ हो । छातीको मुख्य भागबाट दुखाइ सुरु भएर सर्दै हातमा र शरीरको अन्य भागमा पनि दुख्न सक्छ । दुखाइसँगै पसिना आउने, रिंगटा लाग्ने जस्ता संकेत पनि देखियो भने हृदयघातको संकेत हुन सक्छ ।

हृदयघातको सामान्य लक्षण छाती दुख्ने भए पनि वृद्ध अवस्था, मधुमेहको समस्या भएका व्यक्तिहरुमा छाती दुख्ने लक्षण नदेखिन पनि सक्छ । यस्तो व्यक्तिलाई सास फेर्न गाह्रो हुने, पसिना आउने, अचानक बेहोस हुने जस्ता लक्षण देखिन सक्छ ।

हृदयघात भएमा प्राथमिक उपचार के गर्ने ?

हृदयघात भएमा पहिलो उपचार भनेको बिरामीलाई सकेसम्म चाँडै अस्पताल पुर्‍याउनु हो । अर्को भनेको एस्प्रिन ३०० एमजी भन्ने औषधि खान सकिन्छ । यो औषधि दीर्घरोग भएकाहरुले बोकेर हिंड्नु उचित हुन्छ । किनकि हृदयघातलगत्तै यो औषधि खुवाउन सकेमा बिरामी राहत मिल्छ । त्यसपछि तुरुन्तै नजिकैको अस्पताल पुर्‍याएर ईसीजी गराइहाल्नुपर्छ ।

हृदयघात भएको व्यक्तिलाई कस्तो ठाउँमा राख्ने, के–के गर्ने ?

हृदयघात भएको व्यक्तिलाई पहिलो होहल्ला नहुने ठाउँमा लगेर राख्नुपर्छ । त्यस्तै यदि बिरामी घरमै छ भने हावा आउने कोठामा बिरामीलाई सिधा पारेर सुताउन सकिन्छ । साथै शरीरमा टाइट लुगाकपडा लगाएको भए फुकालिदिनुपर्छ । त्यस्तै बिरामीलाई आराम गराउनुपर्छ ।

कस्ता व्यक्तिलाई हृदयघातको जोखिम बढी हुन्छ ?

प्रायजसो लामो समयसम्म उच्च रक्तचाप, मधुमेहको सुगर लेबल नियन्त्रण नभएमा, मधुमेहको औषधि छुटाएका बिरामी, शरीरमा खराब कोलेस्टेरोल बढेमा (एलएडी), शारीरिक व्यायामको कमी, असन्तुलित खानपान, जंकफुड धेरै सेवन, धुम्रपान र मद्यपान धेरै गर्ने व्यक्तिमा हृदयघात हुने जोखिम बढी हुन्छ । परिवारमा कसैलाई हृदयघात भएको छ भने अरुलाई पनि हृदयघातको जोखिम हुन सक्छ ।

हृदयघात हुनासाथ के गर्ने ? 

कसैलाई हृदयघात भए सम्भव भएसम्म छिटो बिरामीलाई अस्पताल पुर्‍याउनुपर्छ । अस्पताल पुर्‍याउन एम्बुलेन्स आउनुभन्दा अघि बिरामीलाई सजिलो समतल स्थानमा राख्नुपर्छ, जहाँ आराम महसुस गर्न सकोस् ।

हृदयघात भएको अवस्थामा मुटुले काम गर्न बन्द गर्छ र शरीरको अन्य अंगमा रगतको आपूर्तिका लागि बिरामीलाई सीपीआर (कार्डियोपल्मनरी रिसस्सिटेसन) दिनुपर्छ । बिरामीको छातीमा थिचेर मुखले सास दिनुलाई सीपीआर भनिन्छ । यसले शरीर र मस्तिष्कलाई अक्सिजन प्रदान गर्न सहायता गर्छ । यस्तो स्थितिमा प्रशिक्षण लिए पनि, नलिए पनि छातीमा थिच्दै सीपीआरको प्रक्रिया सुरु गरेर प्राथमिक उपचार गर्न सकिन्छ ।

हृदयघात हुँदा के गर्नै हुँदैन ?

हृदयघात भएको अवस्थामा बिरामीलाई हिंड्न र कुद्न लगाउनु हुँदैन । बिरामीलाई गाडीसम्म छिटोछिटो हिडौं भनेर दौडाउनु हुँदैन । बिरामी र बिरामीसँगै भएको व्यक्ति आत्तिनु हुँदैन । यस्तो गरेमा बिरामीको मुटुको चाल गडबडी भई घटनास्थलमै मृत्यु हुने जोखिम उच्च हुन्छ ।

हृदयघात भइहालेमा कुनै औषधि खुवाउन मिल्छ ?

हृदयघात हुने लक्षण देखा परेमा एस्प्रिन भन्ने औषधि चपाएर खान सकिन्छ । अन्य औषधि खुवाउन मिल्दैन । तर बिरामी बेहोस छ भने कुनै पनि खुवाउन मिल्दैन ।

हृदयघात हुने कारण

प्रायजसो लामो समयसम्म उच्च रक्तचाप, मधुमेहको सुगर लेबल नियन्त्रण नभएमा, मधुमेहको औषधि छुटाएका बिरामी, शरीरमा खराब कोलेस्टेरोल बढेमा (एलएडी), शारीरिक व्यायामको कमी, असन्तुलित खानपान, जंकफुड धेरै सेवन, धुम्रपान र मद्यपान धेरै गर्ने व्यक्तिमा हृदयघात हुने जोखिम बढी हुन्छ । परिवारमा कसैलाई हृदयघात भएको छ भने अरुलाई पनि हृदयघातको जोखिम हुन सक्छ ।

यस्ता बिरामीले समय-समयमा ब्लड प्रेसर, मधुमेहको उपचार गराइराख्नुपर्छ । जसले हृदयघात हुनुबाट जोगाउन मद्दत गर्छ ।

हृदयघात कस्तो व्यक्तिलाई हुन सक्छ ?

प्रायजसो दीर्घरोग भएका व्यक्तिमा अचानक हृदयघात हुने जोखिम बढी हुन्छ । जस्तै, मधुमेह, उच्च रक्तचाप, कोलेस्टेरोल जस्ता दीर्घरोग भएकाले व्यक्तिलाई हुने सम्भावना बढी हुन्छ ।

हृदयघात हुँदा के–के जटिलता हुन्छ ?

हृदयघात हुँदा मुटुमा रगत जाने रक्तनली बन्द भएर मुटु फुट्न सक्ने सम्भावना हुन्छ । समयमा उपचार नभए बिरामीको मृत्युसमेत हुन सक्छ ।

के गर्नु हुँदैन ?

छातीको दुखाइ वा पेटको माथिल्लो भागको दुखाइमा कतिपयले ग्यास्ट्रिकको औषधि खाएर, पेन किलर खाएर लक्षणलाई हेलचेक्र्याइँ गरेर बस्छन् त्यो एकदमै गलत हो । हृदयघातको लक्षणलाई हेलचेक्र्याइँ गर्नु हुँदैन ।

हृदयघातको लक्षण देखिए अस्पताल जान ढिलाइ गर्नु हुँदैन, छिटो अस्पताल जानुपर्छ । हृदयघात भएको बिरामी तथा बिरामीको आफन्त आत्तिनु हुँदैन । बिरामी आत्तिए भने मुटुको धड्कन बढेर मुटुमा अक्सिजन झन् बढी चाहिन सक्छ ।

कति अवधिमा अस्पताल पुर्‍याउनुपर्छ ?

कुनै पनि व्यक्तिलाई हृदयघात भए कति अवधिभित्रमा अस्पताल पुर्‍याउनुपर्छ भन्ने प्रश्न धेरैको हुन्छ । तर हृदयघात भएको खण्डमा यति उतिभन्दा पनि जति सक्दो छिटो अस्पताल पुर्‍याउनुपर्छ । छिटोभन्दा छिटो अस्पताल पुर्‍याइयो भने उपचार गर्न सहज हुन्छ ।

हृदयघात भनेको मुटुका नसा धमनीहरु बल्क हुने हो । जसले गर्दा मांसपेशीहरुमा रक्तसञ्चार हुँदैन । त्यसैले अस्पताल पुग्न जति ढिलो भयो मांसपेशीहरु मर्छ । त्यसैले छिटोभन्दा छिटो अस्पताल पुर्‍याउनुपर्छ ।

अस्पताल सबैतिर सहज छैन, त्यस्तो अवस्थामा के गर्ने ?

ग्रामीण क्षेत्रतिर स्वास्थ्यचौकी तथा प्राथमिक स्वस्थ केन्द्रमा हृदयघातको लक्षण लिएर आउनु भएको बिरामीहरूलाई ‘अस्पिरिन’ भन्ने चक्की दिन सकिन्छ । बाँकी उपचारका निम्ति ठूला अस्पतालमा रिफर गर्न सकिन्छ । यो औषधिले केही अवधिसम्म रक्तसञ्चालन गराउन मद्दत गर्छ र बिरामी ठूला अस्पताल नपुगुञ्जेलसम्मको अवधिसम्म ज्यान जोगाउन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४