Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्रिकेट खेलाडीलाई पुरस्कार दिन पैसा छैन भन्छ सरकार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र २४ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । सरकारले राष्ट्रिय क्रिकेट टिमका सदस्यलाई दिने घोषणा गरेको पुरस्कार १७ लाख रुपैयाँ पुगेको छ । पछिल्लो ७ महिनामा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पाएको सफलतापछि सरकारले क्रिकेट टिमका सदस्यलाई दिने घोषणा गरेको रकम थपिँदै १७ लाख पुगिसक्दा पनि खेलाडीले पाउन सकेका छैनन् ।

फेब्रुअरी र मार्चमा भएका आईसीसी वर्ल्ड कप लिग २ क्रिकेटका ३ वटा सिरिजको प्रति सिरिज ३ लाख रुपैयाँका दरले ९ लाख रुपैयाँ, प्रधानमन्त्रीले घोषणा गरेको थप २ लाख र नेपालले एसीसी प्रिमियर कप जित्दै एसिया कप क्रिकेटमा छनोट भएपछिको ६ लाख गरी कुल १७ लाख रुपैयाँ क्रिकेट खेलाडीले पाउन बाँकी छ ।

सरकारले घोषणा गरेको पुरस्कार नपाउनेमा सिनियर टिमका मात्र होइन, उमेर समूहका खेलाडीसमेत छन् । यू–१९ टिम गत पाmगुनमा २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएर फर्किएको थियो । त्यस्तै यू–१६ टिमले इस्ट जोन कप जितेर फर्किएको थियो । यी दुवै टिमका सदस्यलाई पनि सरकारले पुरस्कार घोषणा गरेको थियो ।

जसमा यू–१९ टिमका खेलाडीले सरकारबाट ३ लाख र क्यानबाट १ लाख गरी जनही ४ लाख पाउनुपर्ने हो । यू–१६ टिमका खेलाडीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने सरकारी घोषणा थियो ।

पुरस्कार रकम समयमै नपाउँदा उमेर समूहका खेलाडी निराश छन् । नाम नखुलाउने शर्तमा यू–१९ टिमका एक खेलाडीले भने, ‘विश्वकपमा छनोट भएर आउँदा नगद पुरस्कार पनि पाइने भयो भनेर सुन्दा खुसी भएका थियौं, खै आजसम्म पाइएन, अब त के पाइएला र ?’

पुरस्कार रकम नपाएकाले बेला बेलामा राष्ट्रिय टिमका खेलाडीले कप्तान रोहित पौडेललाई हाम्रो पुरस्कारको रकम खोई भनेर सोध्ने गरेका छन् । एसिया कप खेलेर फर्किएका सोमपाल कामीले अनलाइनखबरसँगको कुराकानीमा भनेका छन्, ‘हामीले त रोहितलाई पुरस्कारको पैसा खोई भन्छौं ।’

टिमका साथीहरुले पुरस्कार रकम सोध्न थालेपछि कप्तान रोहितले पनि बेला बेलामा सञ्चारमाध्यममा पुरस्कार रकम नपाएको गुनासो गर्छन् । खेलाडीले मात्रै पुरस्कार नपाएको गुनासो गरेका छैनन् । उनीहरुलाई घोषणा गरेको पुरस्कार छिटो दिइयोस् भनेर संसदमा पनि कुरा उठेको छ ।

एसिया कपमा नेपालले भारतसँग खेल्ने दिन संसदमै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले खेलाडीले पुरस्कार रकम नपाएको कुरा उठाएका थिए ।

युवा तथा खेलकुद मन्त्रालयले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेर खेलाडीहरुले पाउने पुरस्कारलाई पोहोर नै संस्थागत गरेको थियो । कार्यविधिमा खेलाडी, प्रशिक्षक र खेल संघले समेत सरकारबाट नगद पुरस्कार पाउने उल्लेख छ ।

कार्यविधिमा ओलम्पिक, एसियाली खेलकुद, दक्षिण एसियाली खेलकुददेखि सम्बन्धित खेलका अन्तर्राष्ट्रिय फेडेरेसनले गरेका प्रतियोगिता, विद्यालय खेलकुद, युथ ओलम्पिकलगायतका प्रतियोगितामा पदक विजेता खेलाडीले पाउने पुरस्कार रकम तोकिएको छ ।

कार्यविधि बनाएरै तोकेको र प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार दिन पैसा नभएको सरकारले बताउने गरेको छ ।खेलकुद मन्त्रालयका प्रवक्ता कुमारप्रसाद दाहालले बजेट नभएकै कारण खेलाडीलाई पुरस्कार दिन नसकेको बताए । ‘हामीसँग खेलाडीलाई पुरस्कार रकम वितरण गर्न पर्याप्त बजेट छैन’, उनले अनलाइनखबरसँग भने ।

मन्त्रालयले कार्यविधि अनुसार खेलाडीलाई वितरण गर्ने पुरस्कार रकम अर्थमन्त्रालयसँग मागिसकेको छ । तर अर्थबाट रकम निकासा भएको छैन । ‘हामीले व्यहोरा खुलाई अर्थमन्त्रालयमा रकम निकासाका लागि पत्र पठाइसकेका छौं’, प्रवक्ता दाहालले भने, ‘सायद अर्थ मन्त्रालयमा पनि बजेटको अभावका कारण रकम निकासामा ढिलाइ भएको होला ।’

अर्थमन्त्रालयबाट रकम निकासा हुनेबित्तिकै खेलाडीलाई दिने उनी बताउँछन् । खेलाडीलाई सरकारले घोषणा गरेको रकम दिलाउन नपाउँदा निकै असहजता महसुस गरिरहेको उनले बताए ।

राष्ट्रिय खेलकुद परिषद पनि मन्त्रालयबाट निकासा हुने बजेटको प्रतिक्षामा छ । राष्ट्रिय खेलकुद परिषदका शाखा प्रमुख चन्द्र राई भन्छन्, ‘हामी मन्त्रालयबाट फाइलको प्रतीक्षामा छौं । खेलाडीको रकम निकासा गर्न हामी पनि आतुर छौं ।’

नेपाल क्रिकेट संघ क्यान भने जिल्ला र प्रदेशको चुनाव सकेर केन्द्रीय चुनावको चटारोमा छ । चुनावमा लागेका क्यानका पदाधिकारी मन्त्रालय र राखेपबाट निकासा भएपछि मात्रै खेलाडीलाई पुरस्कार दिन सकिने बताउँछन् ।

खेलकुद मन्त्रालय, राखेप र क्यानले रकम नभएर पैसा दिन नसकेको बताए पनि भारत र पाकिस्तानविरुद्धको खेलमा चौका र छक्का हान्ने तथा विकेट लिने खेलाडीलाई नगद पुरस्कार घोषणा गरेको अर्ना बियरले भने पुरस्कार दिइसकेको छ ।

उसले एसिया कप खेलेर आउने सबै खेलाडीलाई जनही ५० हजार रुपैयाँ, टिमका पदाधिकारीलाई जनही २५ हजार रुपैयाँ र हरेक छक्का बापत १ लाख, १ विकेट बराबर १ लाख र १ चौका बराबर २५ हजार रुपैयाँ वितरण गरेको छ । जसमा सर्वाधिक पुरस्कार सोमपाल कामीले पाएका छन् । उनले ३ लाख २५ हजार रुपैयाँ पाएका छन् ।

एउटा व्यापारिक संस्थाले घोषणा गरेको पुरस्कार एक हप्तामै हात पारेका क्रिकेट खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार ६–७ महिनासम्म नपाउनु बिडम्बनापूर्ण रहेको खेलकुद क्षेत्रका जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४