काठमाडौं । छ वर्ष अघि नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको गोली हानेर हत्या भएयता उपत्यकामा गुण्डाहरु संलग्न हाई–प्रोफाइल घटना भएका थिएनन् । बरु गुण्डागर्दीमा संलग्नविरुद्ध प्रहरीको निर्मम कारबाहीपछि आपराधिक पृष्ठभूमिका व्यक्तिहरुले वैकल्पिक पेशा रोज्न थालेका थिए ।
गौचन हत्यामा संलग्न समीरमान सिंह बस्न्यात (प्रहरीले छुट्टयाएको ‘क’ वर्गका गुण्डा नाइके) पक्राउ परेपछि त उपत्यकाका डन भनिएकाहरु संरक्षण खोज्दै खुला रूपमा राजनीतिक ओत लिन थालेका थिए ।
कुनै समयमा बस्न्यातका सहयोगी रहेका रुपन्देहीका गुण्डा नाइके मनोजबहादुर बुढामगर उर्फ मनोज पुन २ फागुन २०७४ मा प्रहरी मुठभेडमा मारिए । उनीमाथि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई ४ पुस २०७३ मा गोली हानेर हत्या गरेको आरोप थियो । तिवारी हत्यापछि भारतमा लुकेर बसेका बेला उनकै निर्देशनमा २१ पुस २०७४ मा फेरि तिवारीका साथी बलु पौडेलको पनि हत्या भएको थियो ।
त्यसबीच प्रहरीले चलाएको आक्रामक अपरेशनका कारण उपत्यकाका गुण्डाहरुले टाउको उठाउन पाएका थिएनन् । दिनेश अधिकारी ‘चरी’, कुमार श्रेष्ठ ‘घैंटे’, प्रवीण खत्री जस्ता कुख्यात व्यक्तिहरु प्रहरी मुठभेडमा मारिए । टिके डाँका, जसवन्त राई लगायत प्रहरीको गोलीबाट घाइते भए ।
गुण्डा नाइके रमेश बाहुन र समीरमानहरु बालबाल बचे । रमेश बाहुन अहिले आफू सुध्रिएर रमेश पौडेलका रुपमा चिनिने बाटोमा रहेको सार्वजनिक रुपमै बताउन थालेका छन् । यो बीचमा काठमाडौं मात्र होइन, नेपालमै गुण्डागर्दी शून्य जस्तै देखिएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी दानबहादुर कार्कीको विश्लेषण छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले लगभग नेपालमा गुण्डागर्दी शून्य जस्तै रहेको सुनाए ।
के हो ‘ब्रोकन विन्डो प्रिन्सिपल’ ?
एसएसपी दानबहादुर कार्कीले भनेको ‘ब्रोकन विन्डो’ सिद्धान्त सन् १९९० को दशकमा अमेरिकाको न्यूयोर्कमा चर्चित पुलिसिङ शैली हो । समाजशास्त्री जेम्स विल्सन र जर्ज केलिङले १९८२ मा सिर्जना गरेको सिद्धान्तमा आधारित भएर न्यूयोर्क सिटी पुलिसका तत्कालीन कमिश्नर विलियम ब्याटन र मेयर रुडी गुलियानले ‘ब्रोकन विन्डो’ पुलिसिङ सिद्धान्त अघि सारेका थिए ।
यो सिद्धान्तमा एउटा खाली घरलाई त्यसै छाडिदियो र कसैले सीसी फुटायो भने त्यो पत्ता लगाएर तत्काल कारबाहीको दायरामा ल्याइएन भने छिट्टै अरु सीसा पनि फुट्छन् भन्ने मान्यता थियो । अर्थात्, कुनै पनि कुरालाई सानो कसूर भनेर छाड्दा त्यसले उग्र रुप लिन्छ भन्ने यसको मान्यता हो ।
‘जस्तै एउटा कुनामा चाउचाउको खोल फालियो भने एक हप्ताभित्र त्यहाँ फोहोरको डंगुर हुन्छ, त्यस्तै फाटाहाहरुलाई समयमै कारबाही गरेर बाहिर देखाउन सकिएन भने परिस्थिति झन् बढ्दै जान्छ भन्ने बुझाइ हो’, यो सिद्धान्तबारे स्पष्ट पार्दै एसएसपी कार्की भन्छन्, ‘त्यसैले सानो ठूलो कुनै किसिमका उछृंखलतालाई निरुत्साहित गरिहाल्ने नीति हो ।’
पुलिसिङमा ‘ब्रोकन विन्डो’ सिद्धान्तलाई स–साना कसुरमा पनि आक्रामक कारबाही गरेर ठूला घटना हुन नदिने रणनीति बुझिन्छ । यसमा अपराधको दर उच्च भएको क्षेत्रमा स–साना कसुर गर्नेलाई पहिल्यै कारबाहीको दायरामा ल्याएर अप्रिय घटना हुन नदिने प्रयास गरिन्छ । त्यही अनुसार काठमाडौंमा कुनै पनि अपराधलाई सानो ठूलो नभनी प्रहरीले निर्ममतापूर्वक अनुसन्धान अघि बढाएको एसएसपी कार्की बताउँछन् । भन्छन्, ‘अपराध भइसकेपछि अनुसन्धान गर्ने मात्र होइन, हुनै नदिनेतर्फ पनि प्रयासरत् छौं ।