काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले बहिस्कार गरेको छ । राष्ट्रपति पौडेलले बिहान साढे ८ बजे शीतल निवासमा बोलाइएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नभएको हो ।
राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएकाले सर्वदलीय बैठकमा पार्टीबाट कोही नजाने नेकपा एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका हुन् । यता दिउँसो ३ बजे बोलाइएको प्रतिनिधि सभाको बैठकमा भने नेकपा एमालेले अवरोध नगर्ने भएको छ ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको नेकपा एमालेले आज अवरोध नगर्ने सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । ‘समिति गठनको प्रक्रिया अघि बढेकाले आजको संसद बैठक सन्चालन हुन्छ,’ उनले भनेका छन् ।
सोमबार राति प्रधानमन्त्री कार्यालयमा बसेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकार तयार भएपछि नेकपा एमाले पनि संसद बैठक सञ्चालन गर्न दिन तयार भएको हो ।