काठमाडौं । मनसुनी प्रणाली कमजोर हुँदा दुई दिनसम्म झरी पर्ने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् ।
मौसमविद् बिनु महर्जनले भनिन्, ‘अहिले एक-दुई दिनमै अस्ति-अस्तिको जस्तो ठूलो सिस्टम आउने जस्तो देखिंदैन, पानी पर्ने क्रम अहिले जस्तो छ, लगभग त्यस्तै रहने देखिन्छ ।
हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालतर्फ सरदर स्थानको आसपास रहेकाले र भारतको मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले पूर्वको तुलनामा पश्चिम नेपालमा भने धेरै पानी परेको छ । भोलि (सोमबार) राति पनि पश्चिम नेपालका धेरै स्थानमा पानी पर्ने मौसमविद्को प्रक्षेपण छ ।
मौसमविद् महर्जनले भनिन्, ‘भोलि (सोमबार)को राति चाहिं सुदूरपश्चिममा एरियल कभरेजको हिसाबले अलिकति बढी पानी पर्नेजस्तो देखिएको छ । तर देशैभर कभर गर्ने गरी ठूलो सिस्टम आउने दुई-तीन दिनसम्मलाई देखिंदैन ।’
मनसुनको न्यूनचापीय रेखा पूर्वी नेपालतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ । त्यसैले पूर्वी नेपालमा भने कम पानी परेको छ । तर, दुईदिन पछि भने पुन: मनसुनको न्यूनचापीय रेखा सरदरस्थानबाट उत्तर (नेपाल)तर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मनसुनी रेखा सरदरस्थानभन्दा जति उत्तरतिर सर्यो, नेपालमा त्यति धेरै पानी पर्दछ ।
यद्यपि आज राति कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले आज जारी गरेको बुलेटिनमा उल्लेख छ ।
हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश सहित देशका पहाडी भू-भागको केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
