काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापित पार्टी कमिटीबाट अलग भएका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा पराजित भएपछि उनी प्राय: निष्क्रिय थिए ।
हालै उनले पार्टी कमिटीबाट अलग हुन चाहेको जानकारी नेताहरुलाई गराएका थिए । सोही आधारमा एमालेको सचिवालय बैठकले स्थापितलाई केन्द्रीय सदस्यबाट बिदा गरेको स्रोतले बतायो । एमालेले स्थापितसँगै सिरहाका प्रमोद यादवलाई पनि केन्द्रीय सदस्यबाट बिदा गरेको छ ।
केही नयाँ प्रयोग गर्दैछु : केशव स्थापित
तर यसबारे स्थापित भने औपचारिक रुपमा बोल्न चाहेनन् । उनले भने, ‘अहिले यसबारे केही नबोलौं । केही दिनपछि बोलौंला ।’
आफूले ‘केही नयाँ’ गर्न खोजेको भन्दै उनले भने, ‘यो पाँच-सात वर्षदेखि मैले केही नयाँ कुरा गर्दैछु, केही नयाँ प्रयोगहरु गर्दैछु ।’
राजनीतिमै रहेर कि नरहेर भन्ने जिज्ञासामा उनले भने, ‘त्यो पनि ठूलो राजनीति हो नि ।
राजनीतिक उतारचढाव
ओलीपछि स्थापित नै युवा संघको दोस्रो अध्यक्ष बनेका थिए। काठमाडौंका रैथाने केशव स्थापित २०४३ सालको काठमाडौं नगरपञ्चायतको चुनावमा तत्कालीन नेकपा मालेबाट उपप्रधानपञ्चको उम्मेदवार बनेका थिए ।
२०४७ सालमा नेकपा एमालेको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष केपी शर्मा ओली बन्दा केशव स्थापित महासचिव थिए ।
स्थापितले २०५१ सालमा पहिलो पटक राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिव पदमा राजनीतिक नियुक्त लिएर एक वर्ष काम गरेका थिए ।
२०५४ सालमा नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भए । ‘मेरो पौरख, मेरो गौरव, मेरो काठमाडौं’ भन्ने नारा उनैको पालामा ल्याइएको थियो । उनी मेयर भएकै बेला पशुपति, माइतीघर, तीनकुने लगायतका ठाउँमा निर्माण भएका अव्यवस्थित घर-टहराहरू भत्काइएको थियो ।
त्यतिबेला काठमाडौंको लोकप्रिय मेयरमा दरिएका स्थापित २०६१ माघमा भने तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि काठमाडौंको मेयरमा मनोनीत भएर ‘टिके मेयर’को रूपमा आलोचित बनेका हुन् ।
राजाको शासनकाल समाप्तीपछि उनी माओवादी बने र काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्तमा नियुक्त भएका थिए । तर तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘डेट एक्सपायर्ड’ भन्दै ९ महिनामै पदबाट हटाए । त्यसपछि नेपालको सबभन्दा पुरानो राजनीतिक संगठन प्रजापरिषद्को अध्यक्ष बनेर राजनीतिमा सक्रिय हुन खोजे पनि उनी असफल भए ।
संविधानसभाको दोस्रो निर्वाचनको बेला संघीय समाजवादी पार्टीमा लागेका उनी काठमाडौं क्षेत्र नं. ६ बाट उम्मेदवार बनेर नराम्ररी पराजित भए ।
अन्ततः उनी नेकपा एमालेमै फर्किएर नेकपा एमालेबाट बागमती प्रदेश सभा सदस्य बने । नेकपा एमालेले दोस्रोपटक काठमाडौंको मेयरको टिकट दिएपछि उनले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर चुनाव लडे । तर स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह “बालेन”मेयरमा निर्वाचित हुँदा उनी तेस्रो स्थानमा रहे ।
त्यसअघि बागमती प्रदेश (तत्कालीन ३ नम्बर प्रदेश)को भौतिक पूर्वाधार मन्त्रीसमेत बनेका उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेका थिए ।