Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भलिबलमा कप्तान र सेटर परिवर्तनले एसियन गेम्समा कस्तो पार्ला प्रभाव ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २५ २०८०
  • 5K
    SHARES

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय भलिबल टिममा अहिले युवा र नयाँ खेलाडीहरुको बाहुल्य छ । सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा हुने १९औं एसियन गेम्सको तयारीमा रहेको टोलीका १२ मध्ये ३ खेलाडी नयाँ छन् । यी ३ खेलाडीले गत महिना मात्र कीर्गिस्तानमा काभा नेसन्स लिगमा डेब्यू गरेका थिए । टोलीमा रहेका दुई जना खेलाडी मानबहादुर श्रेष्ठ र विशालबहादुर बिकसँग मात्रै एसियन गेम्स खेलेको अनुभव छ । मानबहादुर टोलीका कप्तान छन् । रविन चन्द, दुर्गाबहादुर खड्का र टेकराज अवस्थीले सन् २०१९ मा र विनोद चन्दले २०२१ मा डेब्यू गरेका थिए ।

नेपाली टोलीमा कप्तान र सेटर नयाँ छन् । गत महिना भएको काभा नेसन्स लिगबाट नेपालको कप्तानी गरेका सेटर हरिहजुर थापा सातौं प्रधानमन्त्री एनभीए राष्ट्रिय क्लब लिग भलिबलमा कप्तानी भूमिका राम्रोसँग निभाउन नसकेको भन्दै कारबाहीमा परे । आर्मी र गण्डकीबीचको खेल तनाव हुँदा धनबहादुर भट्टले दर्शक नै कुटेका थिए । त्यसपछि संघले धनबहादुरलाई ६ र राजेन्द्र विष्ट र धनपति कुँवरलाई तीन महिना निलम्बन गरेको छ । त्यही कारबाहीपछि मानबहादुर हरि हजुरको स्थानमा नयाँ कप्तान बनेका हुन् ।

काभा नेसन्स लिग खेलेका हरिहजुरसँगै धनबहादुर भट्ट, हरि अधिकारी, राजेन्द्र विष्ट, भिम गाहा मगर एसियन गेम्स खेल्ने टिममा छैनन् । उनीहरुको स्थानमा तीन नयाँ खेलाडी धिरोज बस्नेत, सम्राट भण्डारी र मनिष मानन्धर टिममा छन् भने विशाल विक र विनोद चन्दले पुनरागमन गरेका छन् ।

हरिको स्थानमा लोकेन्द्र

हरि हजुरलाई कप्तानबाट हटाए पनि भलिबल संघले १९औं एसियन गेम्सका लागि अन्तिम टोलीमा राखेको थियो । तर उनले आफू अस्वस्थ भएको भन्दै प्रशिक्षणमा उपस्थित हुन नसक्ने बताए । धेरैले हरिहजुरलाई टिममा नजानुको कारण कप्तानको विषय नै रहेको बताएका छन् । तर हरिहजुरले भने आफू अस्वस्थ भएर नै टिमबाट नाम फिर्ता लिएको बताए । ‘बाहिर हल्ला गरेजस्तो होइन । मेरो ढाडको समस्या भएकोले नाम फिर्ता लिएको हो’,  हरिहजुरले भने, ‘एसियन गेम्स गुमाउँदा पीडा त छ नै । यो हल्लाले झन् पीडा दिएको छ । म स्वस्थ भएर पक्कै टिममा फर्कनेछु ।

भलिबल संघले एसियन गेम्सका लागि हरि हजुरको स्थानमा एपीएफका सेटर लोकेन्द्र गिरीलाई टिममा राखेको छ । लोकेन्द्रले पनि गत महिना कीर्गिस्तानमा काभा नेसन्स लिगमा डेब्यू गरेका थिए । लोकेन्द्रबाहेक टिममा अर्का सेटर सम्राट भण्डारी छन् । आर्मीकै खेलाडी सम्राटले घरेलु प्रतियोगितामा समेत मुख्य भूमिकामा खेल्न पाएका छैनन् । सम्राटले गत वर्ष बंगलादेशमा भएको यू-२३ सेन्ट्रल जोनमा नेपालको यू-२३ टिमबाट खेलेका थिए । त्यसकै आधार उनी राष्ट्रिय टिममा समावेश भएका हुन् । पहिलो पटक राष्ट्रिय टिममा परेका उनले सिधै एसियन गेम्स खेल्नुपर्नेछ ।

समग्र टिमलाई नै चलाउने खेलाडी हो सेटर । त्यसैले सेटर अनुभवी र टिमलाई नै काँधमा बोके हिँड्न सक्ने खालको हुनुपर्छ । ‘पहिलो कुरा सेटर त भलिबलकै ‘कि’ खेलाडी नै हो । सेटरले नै पूरा खेल कसरी खेलाउने भन्ने निर्भर गर्छ,’ राष्ट्रिय टिमका पूर्व कप्तान तथा एक दशक नेपालको लागि सेटर भूमिकामा खेलेका इमबहादुर मगरले  भने, ‘सेटरले खेलाउन सकेन भने अन्य पोजिसनमा जति नै राम्रो खेलाडी भए पनि आफ्नो प्रदर्शन देखाउन सक्दैनन् ।’

 

नेपाल पुलिस क्लबका इमले सुरुमा स्पाइकरको भूमिकामा खेले पनि पछि सेटरमा खेलेका थिए । उनी अघि पुलिसकै प्रेम भण्डारी र आर्मीका पशुपति चौधरी सेटरको भूमिकामा थिए । इमले २०१० को दक्षिण एसियाली खेलकुद स्पाइकरको भूमिकामा खेलेका थिए भने त्यसपछि सेटर बनेका थिए । इमले सेटरको भूमिकामा सिनियर खेलाडी हुँदा टिमलाई खेलाउन सजिलो हुने बताए । ‘अर्को भनेको सेटर सिनियर नै हुनुपर्छ । जसले टिमका अन्य खेलाडीलाई सजिलै चलाउन सक्छ । सिनियर खेलाडी हुँदा केही गल्ती भए पनि टिमलाई मोटिभेट गर्न सक्छ । जुनियर खेलाडीलाई सुरमै अली गाह्रो हुन सक्छ’, उनले अनुभव सुनाए ।

कप्तान मानबहादुर श्रेष्ठले अनुभवी सेटरहरु टिममा नहुँदा केही असर पर्ने बताए । यसमा उनले अवसर र चुनौती दुवै देखेका छन् । ‘अनुभवी सेटर नहुँदा टिमलाई असर त पर्छ । तर नयाँ सेटरहरु पनि छन् उनीहरुलाई पनि यो राम्रो अवसर हुन सक्छ’, मानबहादुरले भने, ‘हामीले लामो समय राष्ट्रिय टिमको प्रशिक्षण गर्न पाएको यही एसियन गेम्सको लागि हो । लामो समय राष्ट्रिय टिमसँग प्रशिक्षण गरेर अन्तर्राष्ट्रिय खेल खेल्दा उनीहरुलाई पनि नयाँ अनुभव हुन्छ । नयाँ सेटर बनाउनले यो राम्रो मौका पनि हो ।’

अहिले टिममा भएका सेटर लोकेन्द्र गिरीले घरेलु भलिबलमा राम्रो गरे पनि अन्तर्राष्ट्रिय खेल धेरै खेलेका छैनन् । ‘लोकेन्द्रले घरेलु प्रतियोगितामा राम्रो खेलेका छन् । उनले टिमलाई खेलाउन सक्छन् । तर उचाइले समस्या पार्न सक्छ’, इमले भने ।

यू-२३ टिमबाट खेल्दै राष्ट्रिय टिममा पुगेका सम्राटका लागि भने एसियन गेम्स अनुभव र एक्सपोजर लिने अवसर हुने इम बताउँछन् ।

ठूलो प्रतियोगितामा नयाँ खेलाडीहरु टिममा हुँदा कस्तो खेल्छ ठ्याक्कै भन्न कठिन हुने इमले बताए । ‘गत महिना खेलेको काभा नेसन्स लिगमा नेपालले राम्रो प्रदर्शन गरेको थियो । तर त्यसमा पनि अहिले खेलाडी परिवर्तन भएको छैन । धेरै जसो खेलाडी नयाँ छन् । त्यसैले ठ्याक्लै यही लयमा जान्छ भन्न गाह्रो छ ।’ एसियन गेम्समा नेपाल भन्दा धेरै बलिया र वरियतामा पनि अघि रहेका टिम सहभागी हुने छन् । विश्व वरियताको शीर्ष टिम इरान रहेकै समूहमा नेपाल परेको छ । त्यसैले यो सहभागिता पदक जित्ने भन्दा पनि अनुभव बटुल्ने र एक्सपोजरका लागि राम्रो मौका हुने इमले बताए । ‘एसियन गेम्समा हामीले पदक जित्ने भन्दा पनि सकेसम्म राम्रो खेलेर वरियता सुधार गर्ने हो ।

 एसियन गेम्स खेल्ने भलिबल टिम :

मानबहादुर श्रेष्ठ (कप्तान), टेकराज अवस्थी, धिरोज बस्नेत, रबिन चन्द, दुर्गाबहादुर खड्का, हेमन्तबहादुर मल्ल, बिशालबहादुर विक, बिनोद चन्द, सम्राट भण्डारी, मनिष मानन्धर, सफल बिक, लोकेन्द्र गिरी

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४