Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनका बर्खास्त विदेशमन्त्री कहाँ छन् ? पूर्वविदेशमन्त्री वाङ यीलाई पुरानै जिम्मेवारीमा फर्काइयो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन १० २०८०
  • 2.6K
    SHARES

काठमाडौं । विगत तीन सातायता सार्वजनिक मञ्चबाट बेपत्ता चिनियाँ विदेशमन्त्री छिन काङ बर्खास्त भएका छन् । अमेरिकाका लागि पूर्व राजदूत रहेका काङ गत डिसेम्बरमा भएको चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनबाट सीधै विदेशमन्त्री बनेका थिए । सीका विश्वासपात्र भएकै कारण उनलाई उच्च तहको जिम्मेवारी दिइएको थियो ।

‘छिन काङ विदेशमन्त्रीबाट हटाइएका छन्’ उनको बर्खास्तीबारे सिन्ह्वाले भनेको छ, ‘उनलाई हटाउने निर्णयमा राष्ट्रपति सी जिनपिङले समेत हस्ताक्षर गरेका छन् ।’

साउन चाइना मर्निङ पोस्टका अनुसार उनको सट्टामा अब आक्रामक कूटनीति गर्ने पूर्वविदेशमन्त्री वाङ यीलाई पुरानै जिम्मेवारीमा फर्काइएको छ । काङ बेपत्ता भएका बखत दक्षिण अफ्रिकामा ब्रिकेस राष्ट्रको विदेश मन्त्रीहरूको सम्मेलनमा चीनको प्रतिनिधित्व गर्दै वाङ यी नै पुगेका थिए ।

उच्च तहका चिनियाँ कूटनीतिज्ञ काङले बेइजिङमा श्रीलंका, भियतनाम र रुसका कूटनीतिज्ञसँग भेट गरेपछि जून २५ देखि कतै देखिएका छैनन् । उनले यसअघि रूसका उपविदेशमन्त्री आन्द्रे रुदेन्कोसँग भेट गरेका थिए । वागनर समूहले आक्रमण गरेपछि रूदेन्को त्यहाँ पुगेका थिए ।

बेइजिङको कूटनीतिक व्यस्तता बढेको समयमा काङ यसरी हराउनु निकै आश्चर्यको विषय भएको कम्युनिस्ट पार्टी पत्रिकाको पूर्व सम्पादक देङ युवेन बताउँछन् । ‘विश्वमा चीनको प्रभाव थप विस्तार गर्नुपर्ने र कूटनीतिक व्यस्तता बढेको समयमा विदेशमन्त्री सार्वजनिक वृत्तबाटै गायब हुने विषय निकै आश्चर्यजनक छ’ उनले भने, ‘उनी विगत २० दिनदेखि कहीं देखा परेका छैनन् ।’

सार्वजनिक वृत्तमा लामो समय देखा नपरेका काङबारे प्रश्न गर्दा चिनियाँ विदेश मन्त्रालयकी पाँचौं प्रवक्ता ह्वा चुनयिङ भन्छिन्, ‘चीनको कूटनीति विगतमा झैं सामान्य रूपमा नै अघि बढिरहेको छ । काङबारे कुनै पनि खबर अहिले मसँग छैन ।’

बेइजिङमा अमेरिकी उच्च अधिकारी जेनेट यलेन र जोन केरी पुग्दा पनि काङको उपस्थिति थिएन । काङले युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलसँग भेट गर्ने कार्यक्रम तय भएको थियो ।

तर चीनले संघले प्रस्ताव गरेको मितिका लागि भेटको संभावना नभएको जवाफ फर्काएको थियो । चीनले यो जवाफ बोरेलको भ्रमणको ठीक दुई दिनअघि ५ जुलाइमा मात्रै पठाएको थियो ।

काङले दक्षिणपूर्वी एशियाली मुलुक आसियानका विदेशमन्त्रीको वार्षिक सम्मेलनमा पनि सहभागिता जनाएनन् । उनको साटो पूर्व विदेशमन्त्री समेत रहेका वाङ यी उपस्थित भएका थिए ।

गत मंगलबार पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयले काङको अनुपस्थितिबारे भन्यो, ‘स्वास्थ्य समस्याका कारण काङ आसियानको विदेश मन्त्रीको सम्मेलनमा उपस्थित भएनन् ।’

तर यो विषय आधिकारिक वक्तव्यमा भने कहींकतै उल्लेख छैन । संवेदनशील विषयका सवालमा चीनको विदेश मन्त्रालयले सधैं नै लिखित वक्तव्य आफ्नो वेबसाइटमा राख्ने गर्छ ।

विदेश मन्त्रालयको वक्तव्य ‘निराधार अड्कलबाजी’ खण्डन गर्न असमर्थ छ । चीनको राजनीतिक प्रणाली नै पारदर्शी नभएका कारण यस्तो समस्या बेलाबखत देखापर्ने गरेको पूर्व सम्पादक देङ बताउँछन् ।

ठूला निर्णयहरू बन्दकोठामा हुने र त्यसको सूचना नचुहिने परिपाटीका कारण यस्ता दृश्य बारम्बार दोहोरिने गरेको उनको टिप्पणी छ ।

सीको पालामा राजनीतिक अपारदर्शिता थप बढेको कतिपय जानकारको मत छ । उनले सम्पूर्ण शक्ति आफ्नो हातमा लिंदा यस्ता समस्या देखापरेको उनीहरूको तर्क छ । देङ भन्छन्, ‘अधिनायकवादी शासनमा सर्वोच्च नेताले नै सबै निर्णय लिने हुँदा त्यहाँ पारदर्शिता हुँदैन ।’

केही अप्रिय स्थितिमा उच्च तहका नेतासँग सम्बन्ध बिग्रिएको अड्कलबाजी हुने देङ बताउँछन् । काङको सवालमा पनि यस्तै अड्कलबाजी भइरहेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीले भ्रष्टाचार विरूद्ध कडा नीति लिएपछि यस्तो अवस्था बारम्बार दोहोरिएका छन् । उनीहरूलाई अनुसन्धानका लागि गोप्य रूपमा हिरासतमा लिने काम बढेको छ । अहिले काङ पनि गिरफ्तारमा परेको हुनसक्ने अनुमान भइरहेको छ ।

‘काङ सीकै एकल निर्णयले विदेशमन्त्री बनेका हुन् । केही समस्या काङमाथि परेमा त्यसको असर सीमाथि पनि पर्नेछ किनभने विदेशमन्त्रीका रूपमा उनले सही व्यक्ति छनोट गर्न सकेनन्’, देङ भन्छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४