Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“प्रचण्डको असल सल्लाहकार सीता एक अध्यायको अन्त्य “


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असार २७ २०८०
  • 2.8K
    SHARES

               २०६४ सालमा बेगनास तालमा प्रचण्ड र सीता दाहाल । 


२ असार २०६३ मा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला कास्कीको सिक्लेस पुगे । त्यहाँ थिए, माओवादी ‘सुप्रिमो’ प्रचण्ड दम्पती । सोही दिन प्रचण्ड दम्पती सहित माओवादी नेताहरू बालुवाटार उत्रिए । यो यात्रा र अवतरणको जग ७ मंसिर २०६२ मा सम्पन्न सात राजनीतिक दल र विद्रोही नेकपा माओवादीबीचको १२ बुँदे समझदारीले निर्माण गरेको थियो ।

सिक्लेसबाट काठमाडौं उड्नुअघि माओवादी नेता कार्यकर्ता लाइनमा उभिएर प्रचण्ड लगायत माओवादी नेतृत्वलाई बिदाइ गर्दै थिए। सबैसँग हात मिलाउँदै बिदा भइरहँदा प्रचण्डले सेल्टरमा केही कुरा बिर्सिएछन् । ‘मैले एउटा सामान बिर्सिएछु, लिएर आउँछु है’ प्रचण्डले भनिरहँदा एक महिलाले भनिन्, ‘यो बिर्सने बानी कहिल्यै नजाने भयो है, यो बानीले दुःख पाउनुहुन्छ ।

देशको राजनीतिमा उथलपुथल ल्याउने युद्धको नेतृत्व गरिरहेका सुप्रिमोलाई यसरी ‘सचेत’ गराउने ती महिला थिइन्, सीता दाहाल । त्यसो त, पार्टीभित्र संकट चुलिएको बेला उनी पार्टीका शीर्ष नेताहरूलाई पार्टी विभाजन नगर्न चेतावनी दिन्थिन् । २०६१ भदौमा रोल्पामा सम्पन्न फुन्टिवाङ बैठक अघि सीता दाहाल उपचारको क्रममा भारतमा थिइन् । उक्त बैठकपछि माओवादी विवाद उत्कर्षमा पुग्दै विभाजन उन्मुख बन्यो । खबर पाउनासाथ उनी नेपाल फर्किइन्, प्रचण्ड र बाबुराम दुवैलाई सकेजति सम्झाइन् । ‘माओवादीले गर्दा संसार पनि हल्लिएको छ । तर तपाईंहरू झिनामसिना कुरामा अड्किएको जस्तो लाग्यो मलाई’ उनले भनेकी थिइन्, ‘तपाईं (बाबुराम) को पनि गल्ती छ । उहाँ (प्रचण्ड) ले पनि थोरै कमजोरी गर्नुभएको छ ।’

चुनवाङ बैठकमा पनि सहभागी उनले प्रचण्ड–बाबुरामलाई नै भनिन्, ‘यत्रो जनताको रगत बगिसकेको छ । तपाईंहरूको के हो यस्तो ताल ? यस्तो गर्न पाउनुहुन्न । यस्तै गर्ने हो भने त तपाईंहरूलाई जनता र विदेशी मित्रहरूले पनि छाड्दैनन् । एक गृहिणीबाट भूमिगत राजनीतिमा सक्रिय सहभागी भएर पार्टी सदस्य हुँदै केन्द्रीय सदस्य र सल्लाहकारको भूमिकामा पुगेकी सीताले आवश्यक परेका बेला कुन तहको सल्लाह दिन्थिन् भन्ने बुझाउने यो एउटा उदाहरण हो । यस्तै भूमिकाले पार्टीभित्र उनलाई पहिलो पुस्तामा अधिकांशले भाउजु र दोस्रो–तेस्रो पुस्ताका नेताले आमा भनेर सम्बोधन गर्थे ।

पार्टी पंक्तिभित्र सीता आमाको पहिचान बनाएकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीताको आज निधन भएको छ । चिकित्सकका अनुसार, पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित दाहाल हृदयघातबाट बितिन् । बाहिरबाट हेर्दा उनी रोगले बितिन्, तर रोग जन्माउने विभिन्न घटनाको लामो र कष्टपूर्ण उनले बाँचेको जीवन अत्यासलाग्दो छ ।

पढेलेखेका दाहालसँग मागी विवाह

सीताको माइती दाहालको भन्दा सम्पन्न थियो । बिहेका लागि धेरै ठाउँबाट प्रस्ताव आइरहेका थिए, तर लेखपढ गरेको केटोसँग बिहे गरिदिए छोरीले सुख पाउली भनेर सीताका आफन्तले दाहालसँग बिहे गरिदिए । विवाहअगाडि सीताले दाहाललाई चिनेकी पनि थिइनन् । उनले ‘जनयुद्धका नायक’ पुस्तकमा दिएकाे एक अन्तर्वार्तामा विवाहबारे भनेकी छन्, ‘मलाई माग्न त धेरै ठाउँबाट आएका थिए । तर मेरो मामाले उहाँसँग नै विवाह गरिदिनुपर्छ भनेर जोड गरेपछि हाम्रो विवाह भएको हो ।’

अगाडि सीताले भनेकी छन्, ‘हाम्रो विवाह भएको लामो समयपछि मात्रै बोलचाल भयो । उहाँ पनि केटाकेटीमा लाज मान्ने, म पनि झन् महिला । विवाह हुँदा प्रचण्ड केवल १५ वर्षका थिए भने सीता पनि झण्डै ६ महिनाले जेठी । ‘बिहेपछि केटाकेटीदेखि नै सँगै जन्मेको, सँगै हुर्केको जस्तो भयो । सानैमा विवाह भएकोले हामीहरू साथी र दिदीभाइ जस्तो थियौं ।

बिहे हुँदा प्रचण्ड १० कक्षामा पढ्दै थिए । सीताले एक आमाले जसरी ‘यो गर्नुहोस्, त्यो नगर्नुस्’ भन्न थालिन् । १५ वर्षको उमेरमा सीता दश–बाह्र जना सदस्य रहेको परिवारको बुहारी बनिन् । भाँडा माझ्ने काममा र चुल्होमा म एक्लै पर्दथें । जब सुत्ने बेला हुन्थ्यो, अनि म सोच्थें, म बिहान उठ्न सक्छु कि सक्दिनँ ? बिहान उठेर दैलो पोत्न सकिनँ भने के गर्ने ? असाध्यै कष्टसाध्य जीवन बाँचेर हुर्केर आएकी महिला हुँ म’, उनले अन्तर्वार्तामा भनेकी थिइन् ।

बिहेपछि प्रचण्ड अधिकांश समय परिवारसँग रहेनन् । सुरुमा काठमाडौं पढ्न गए । पछि गोरखाको आरुघाटमा अढाइ वर्ष जति पढाए । त्यतिबेलासम्म घरपरिवार राम्रै चलेको थियो । जब उनी पूर्णकालीन भए, परिवारको बोझ सीताको काँधमा थपियो । संयुक्त परिवारमा छुट्टाभिन्ना सुरु भयो । सीताका सुरुवाती पाँच वर्ष निकै सकसपूर्ण बिते । पञ्चायती प्रशासनले घर खानतलासी गरिरहन्थ्यो । आम्दानीको स्रोत थिएन, श्रीमान् पार्टीमा पूर्णकालीन भए, साना साना सन्तान हुर्काउँदै घरगृहस्थी चलाउनुपर्ने थियो ।

पितृसत्तात्मक समाजमा बुहारीले भोग्ने शारीरिक कष्ट त छँदैथियो, लगातार तीन छोरी जन्माएपछि ‘छोरा’ जन्माउन नसकेको ‘आमा’को भूमिकामा पनि उनले मानसिक रूपमा फरक व्यवहार भोगेकी थिइन् । २०३८ सालमा प्रकाश जन्मिए ।

प्रचण्ड भूमिगत हुँदा प्रकाश केवल पाँच महिनाका थिए । उनले माइतबाट एउटा भैंसी ल्याइन्, घरमा अंशबण्डा गर्दा दुइटा भैंसी पाइन् । बस्तुभाउसँगै उनले खेतीपाती र बालबच्चा सम्हालिन् । त्यतिबेला पार्टीका नेता थिए, मोहनविक्रम सिंह । ‘महिलालाई पनि अगाडि बढाउनुपर्छ, श्रीमान्–श्रीमती एकै रथका दुईपांग्रा हुन्’ भन्दै उनले आवाज उठाइन् । विस्तारै कम्युनिष्ट पार्टीभित्र महिला नेतृत्व अगाडि आउने वातावरण बन्न थाल्यो तर उनले प्रचण्डलाई सघाउन आफूलाई घरमै सीमित गरिन् ।

भूमिगत राजनीति

लामो संघर्षपछि २०४६ मा प्रजातन्त्र पुनर्स्थापना भयो । पञ्चायती दमनका दिन सकिए । सीता दाहाल चार सन्तान सहित भरतपुरबाट काठमाडौं डेरा सरिन् । पार्टीभित्र सशस्त्र जनयुद्धको लागि परिस्थिति परिपक्व छ/छैन भनेर विवाद थियो । अन्ततः प्रचण्डको नेतृत्वमा नेकपा माओवादीले जनयुद्ध घोषणा गर्‍यो । सीताको जीवनमा अर्को घुम्ती सुरु भयो । युद्धको नेतृत्वसँगै परिवारको व्यवस्थापन पनि चुनौतीपूर्ण नै थियो । दाहाल दम्पतीले दुई छोरीको विवाह एकसाथ भारतबाटै गरिदिए । जनयुद्धकालमा कहिले भारत, कहिले नेपालको बसाइ चलिरहेको थियो ।

१३ चैत २०६० मा तत्कालीन नेकपा माओवादीका स्थायी समिति सदस्य तथा पूर्वी कमान्ड इन्चार्ज मोहन वैद्य (किरण) भारतीय प्रहरीद्वारा सिलगुडीमा गिरफ्तार भएपछि प्रचण्डको परिवार पनि भारतबाट रोल्पा सर्‍यो । युद्धको जोखिमका बीच तत्कालीन माओवादीको आधार क्षेत्रमा उनीहरू एकसाथ रहे । त्यो समय हरेक दिन अप्रिय खबर सुन्नु त सामान्य जस्तै थियो ।

विभिन्न उतारचढाव पार गरेपछि युद्ध शान्तिपूर्ण राजनीतितिर अगाडि बढ्यो । दुईपटकसम्म पति प्रधानमन्त्री बन्दा पनि सीताले ‘लामो हात’ र ‘चर्को मुख’ गरेको आरोप खेप्नु परेन । बालुवाटार पुगेपछि हुर्कने राजसी ठाँटबाँट र घमण्डले उनलाई कहिल्यै शासन गर्न सकेन । प्रचण्डले पत्नीका कारण कुनै ठूला विवाद खेप्नुपरेन । देशमा भइरहेका राजनीतिक उथलपुथलको प्रतिबिम्ब पार्टीभित्र पर्थ्यो । नेताहरूबीच विवाद र हरेक राजनीतिक उथलपुथलको केन्द्रमा रहने राजनीति नियाल्ने अवसर पाइन् उनले ।

प्रधानमन्त्री–पत्नीका रूपमा उनी विश्वका शक्तिशाली राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने अवसर पाइन् । राष्ट्रिय राजनीतिका अनेकौं महत्वपूर्ण घटनाक्रमको साक्षी बनिन् । तर सीता आफूले देखेको/भोगेको राजनीतिका रोचक घटनाक्रमबारे संसारलाई बताउन नपाउँदै अस्ताएकी छिन् । युद्धको बेला भारत हुँदै रोल्पा–रुकुमका भूगोलमा सीताले प्रचण्डलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । सेल्टर नजिकै बमबारी हुँदा उनलाई लाग्थ्यो, ‘उहाँ (प्रचण्ड)को अनुपस्थितिमा जनता पनि टुहुरा हुन्छन् । त्यसैले उहाँलाई केही हुनुहुन्न ।’ तर आज सीता उनै प्रचण्डलाई नै टुहुरो बनाएर बिदा भएकी छिन् ।

वियोगपछि वियोगले लिएको परीक्षा

सन्तान वियोगबाट विक्षिप्त पत्नीको तन र मनको उपचार गर्न प्रचण्डले स्वदेश–विदेशका अस्पतालदेखि धार्मिक/आध्यात्मिक स्थलसम्म पुर्‍याए । कहिले प्रकृतिको काखसम्म पुर्‍याए त कहिले भगवानको शरणमा । विवादको ५०औं वर्षगाँठमा प्रचण्ड दम्पतीले विवाह समारोह नै आयोजना गरे । पत्नीको स्वास्थ्य लाभका लागि प्रचण्डले सक्दो प्रयास गरे । तर अहँ, उनी सम्हालिन सकिनन् । प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्दा त सीता थाहा नै पाउन नसक्ने गरी ओछ्यानमा ढलिसकेकी थिइन् ।

राजनीतिक उतारचढावका बीचमा उनको परिवार पनि अशान्त रह्यो । जेठी छोरी ज्ञानुको क्यान्सरबाट कष्टप्रद मृत्युले घाइते बन्दासम्म उनी सम्हालिएकी थिइन्, तर छोरा प्रकाशको प्रेम–विवाहको श्रृंखला हुँदै मृत्युसम्म आइपुग्दा उनी ओछ्यान नै परिन् । छोरीपछि छोरा गुमाउनुको पीडाले थलिएकी आमा अब कहिल्यै नउठ्ने गरी बिदा भएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४