Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेको उल्टो यात्रा : युवा फकाउने अभियान, बुढालाई अवसर


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार ३ २०८०
  • 1.3K
    SHARES

काठमाडौं । केन्द्रीय नेताहरुको जिम्मेवारी व्यापक हेरफेर गरेर नेकपा एमाले असारको सुरुवातसँगै एक वर्षे अभियानमा जुटेको छ । फेरिएको जिम्मेवारी अनुसार, तोकिएको क्षेत्रमा नेताहरू पुग्ने क्रम चलिरहेको छ । केही नेताहरु तोकिएको क्षेत्रमा पुग्न बाँकी होला, तर सबै प्रदेशमा अभियान सुरु भइसक्यो’ केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारी भन्छन् । उनका अनुसार, नयाँ इन्चार्जको नेतृत्वमा बैठक राख्नेदेखि कार्यतालिका तयार पार्नेसम्मका काम सुरु भइसकेको छ ।

एमालेले यसअघि सञ्चालन गरेको दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको निष्कर्षलाई आधार मानेर अर्को एक वर्षे अभियान सुरु गरेको हो । यो अभियानलाई एमालेले मिसन–२०८४ को चुनाव पनि भनेको छ ।

एकपछि अर्को अभियानमा एमाले नस्किनुको कारण भने गत चुनावमा दाबी गरे बमोजिम नतिजा नआउनु हो । पार्टी विभाजनको चोटसहित आमचुनावमा सहभागी एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेको थियो । तर दोस्रो शक्तिमा खुम्चिएपछि गत १० फागुनदेखि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान चलायो । त्यो अभियानबाट पार्टीले मत नपाउनुको ४९ समस्या पत्ता लागेको गत २३ जेठमा जारी अन्तर पार्टी निर्देशन–७ मा उल्लेख छ । ती सबै समस्या हल गरेर आउने चुनावमा पहिलो शक्ति बन्ने उद्देश्य लिएको एमालेले यो एक वर्षे अभियानलाई ‘मिसन–५१ प्रतिशत’ समेत भनेको छ ।

त्यो ५१ प्रतिशतको बहुमत ल्याउन एमालेले यसै वर्ष गर्ने १२ काम निर्धारण गरेको छ । तीमध्ये प्राथमिकतामा छ, युवा आकर्षण बढाउने । ‘अभियानमा युवाहरुको उपस्थिति कतिपय ठाउँमा नगन्य रहेको र पार्टी संगठनमा समेत युवा सहभागिता न्यून भएको हुँदा युवालाई पार्टीमा संगठित गर्ने, परिचालित गर्ने र जिम्मेवारी दिने विषयहरु अबको मुख्य कार्यभारभित्र पर्नुपर्दछ’ अपानिमा उल्लेख छ ।

अपानि हेर्दा एमालेमा युवा आकर्षण नदेखिनु र उपस्थिति कमजोर बन्नुलाई चुनौतीको रुपमा लिएको देखिन्छ । तल्ला कमिटीको एक तिहाइ सदस्य ३५ वर्ष मुनिका युवा रहने, ‘वडावडाः भावी युवा नेता’ र ‘देशैभर–छोराछोरी’ अभियान लगायत कार्यक्रमले एमालेमा युवा आकर्षण बढाउनुपर्ने चिन्ता रहेकै पुष्टि हुन्छ ।

अपानिमा पटकपटक युवा सहभागिता न्यून भएको, पुराना पार्टीमा आकर्षण नरहेको जस्ता समस्या समावेश गर्नुले पनि आगामी एक वर्ष एमाले युवा पंक्ति रिझाउन केन्द्रित हुने प्रष्ट छ । ‘हामी पार्टी संरचनामा पाका उमेर समूह र युवा उमेर समूहका नेता कार्यकर्ताको संख्यामा असन्तुलन देखिँदैछ । त्यसैले पार्टीमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न नयाँ अभियान आवश्यक छ’, एमालेको निष्कर्ष छ ।

यही निष्कर्षका आधारमा एमालेले युवा आकर्षण बढाउन पार्टी प्रशिक्षण, तल्लो कमिटीको अधिवेशन मार्फत् युवा सहभागिता बढाउने, सम्भावना भएका युवाहरुलाई क्लोज क्याम्पमा राख्ने, नेताका छोराछोरीलाई जिम्मेवारी दिनेदेखि हरेक वडामा भावी युवा नेता तयार पार्ने कार्यक्रम यो वर्षभर सञ्चालन गर्दैछ ।

‘अहिलेका युवाहरु ‘आफैं नेता, आफैं प्रधानमन्त्री’ जस्ता न्यारेटिभ्सबाट प्रभावित देखिन्छन्, सम्भावना भएका युवाहरु पहिचान गरी उनीहरुको यो अपेक्षालाई समेत सम्बोधन गर्ने’ अपानिमार्फत् निर्देशन नै दिइएको छ ।

गत मंसिरको चुनावी नतिजाले पनि एमालेलाई यस्तो निष्कर्षमा पुर्‍याएको हुनसक्छ । किनकि एमालेसहित पुराना पार्टीहरुलाई धक्का दिँदै उदाएका नयाँ शक्तिहरुको नेतृत्वमा ५० वर्ष ननाघेका युवा छन् । माओवादी केन्द्रकै हाराहारी समानुपातिक मत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने जम्मा ४८ वर्षका छन् । तराई–मधेशमा अप्रत्यासित मत पाएको जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत ४५ वर्ष र पश्चिम नेपालमा अप्रत्यासित मत ल्याएको नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी ४५ वर्षका मात्रै छन् ।

यी तीनवटै पार्टीले लगाएको एक प्रमुख नारा थियो, युवा । डेढ वर्ष अगाडि खुलेको नागरिक उन्मक्तिले त पार्टी विधानमै ६५ वर्षे उमेर हदको व्यवस्था गरेको छ । रास्वपा र जनमत पार्टीलाई चुनावका बेला चलेको ‘नो, नट अगेन’ को ह्यास ट्यागले ठूलो सहयोग गरेको देखिन्छ ।

७० वर्ष वा त्यो भन्दा माथिका बृद्ध नेताहरुले नेतृत्व गरिरहेको नेपाली कांग्रेस, एमाले र माओवादीलाई शहरी क्षेत्रमा ठूलो धक्का दिनुले पनि युवा मत नयाँ पार्टीतिर गएको बुझ्न सकिन्छ । युवा मत नयाँतिर लाग्ने संकेत एमाले अध्यक्ष केपी शर्मा ओली चुनाव अगाडि नै पाएको घटनाक्रमले देखाउँछ ।

ओली मध्यरातमा एलओडीमा नाच्न पुग्नेदेखि र्‍यापमा चुनावी गीत निकाल्नुको अर्थ युवाहरुलाई एमालेमा तान्ने प्रयास नै थियो । तर युवा पंक्तिले ओलीलाई विश्वास गरेको देखिएन । ‘अहिले एमालेमा ३५ वर्षमुनिका युवाहरु त देखिनै छाड्यो । मिसन ग्रासरुटमा पनि युवाहरु नदेखिएपछि त्यसतर्फ हाम्रो ध्यान गएको छ’ एमालेका एक पदाधिकारी भन्छन् ।

बुढोमै विश्वास

पार्टी संरचनामै युवा समेटेर फरक सन्देशसहित नयाँ पुस्ताको आकर्षण बढाउने नीति लिएको एमालेले एक वर्षे अभियानका लागि १०५ पृष्ठ लामो अपानि जारी गरेको छ । सम्भवतः पार्टी इतिहासकै लामो अपानि पठाउनुमा भने नेताहरुलाई फरक भूगोलको जिम्मेवारी दिइनु, गत चुनावमा दोस्रो शक्तिमै खुम्चिनुपर्ने कारण पत्ता लगाउनु र युवाहरुलाई समेट्ने गरी कार्यक्रम समावेश गर्नु हो । तर गत १९ जेठको सचिवालय बैठकले गरेको एउटै निर्णयले एमालेको युवा अभियान सुरुमै रक्षात्मक बन्न पुगेको छ ।

त्यसदिन केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी विधानमा रहेको ७० वर्षे उमेर हदको व्यवस्था निलम्बन गर्ने निर्णय गरेको थियो । पार्टीको विधान विपरीत यस्तो निर्णय लिनुपर्ने कारणबारे त्यतिखेर मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य मनोनित गर्न बाधक भएको तर्क गरिएको थियो ।

कतिपय युवा नेताहरुले एकीकृत समाजवादी छाडेर एमाले फर्किएका न्यौपानेलाई पार्टीमा जिम्मेवारी दिन बाधक भएकाले ७० वर्षे उमेर हद निलम्बन गरिएको भएपनि आगामी महाधिवेशनले कायमै राख्ने तर्क गरिरहेका थिए । तर त्यस्तो अभिव्यक्ति दिने नेताविरुद्ध ओलीले नै सार्वजनिक चुनौती दिएका छन् । ‘कोही भन्दै हिँडेका छन्, यो महाधिवेशनमा हुन दिँदैनौं । अब यही कुरा बाँकी छ, हामीले गर्नुपर्ने ?’ शनिबार राजधानीमै आयोजित कार्यक्रममा ओलीले भने ।

उमेर हदका कारणले पार्टीमा प्रगति गर्न अप्ठ्यारो परेको समेत उनले तर्क गरे । ‘यसले प्रगति गर्न अप्ठ्यारो पार्‍यो । त्यसकारण हामीले हटाउने भन्यौं । यसमा फेरि हाम्रा साथीहरु किन यो ७० हटाउने ..’ ओलीले चुनौती दिए, ‘ए बाबा, चुनाव लड्नुस् आउँदो महाधिवेशनमा । हुनुुस् अध्यक्ष कसलाई मन लाग्छ, उपाध्यक्ष, महासचिव हुनुस् ।’ अर्थात युवा पुस्ताबाट कोही नेतृत्वमा आउन चाहे चुनाव जितेर आउनुपर्छ, ७० वर्षको उमेर हद भने अब रहन्न ।

७० वर्ष उमेर हदबारे ओली : दुनियाँमा कहीँ नभएको कुरा एमालेमा किन राख्ने ?

जबकी पार्टीमा उमेर हद राख्ने प्रस्ताव आउँदा ओली पक्षमा थिए । ‘निरन्तर नेतृत्व हस्तान्तरण, कक्षा दोहोर्‍याउदिनँ’ जस्ता नारा लगाए । तर ०७१ मा अध्यक्ष बनेका ओली अब भने आफू बाँचुञ्जेल नेतृत्वमा रहने गरी (?) पार्टी विधान संशोधनतिर लागेका छन् । ०७८ मंसिरमा सम्पन्न १० औं महाधिवेशनमा विधानको ७० वर्षे उमेर हदसम्बन्धी व्यवस्थालाई व्याख्या गराएर ओली अध्यक्ष दोहोरिएका थिए ।

०७७ फागुनमै ७० औं जन्मदिन मनाएका ओलीले पार्टी विधान संशोधन गरेर ७० वर्ष पार नभएकाले कमिटीमा बस्न पाउने भन्ने व्यवस्था गरेका थिए । त्यही संशोधनले अध्यक्ष दोहोरिएका ओलीले शनिबार उमेर हदको व्यवस्था पार्टीको प्रगतिमै बाधक भएको निष्कर्ष सुनाए ।

एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, अहिले यसबारे प्रतिक्रिया जनाइरहनु आवश्यक नरहेको बताउँछन् । ‘तलबाटै युवाहरु धेरै आउँदैछन्, उनीहरुले विधान महाधिवेशनमा निर्णय लिने हो’, ढकाल भन्छन् । तर त्यसबेला उमेर हदबारे जस्तो निर्णय लिएपनि एमालेमा तत्काल युवा आकर्षण बढाउन भने १९ जेठको निर्णय र त्यसपछिका ओलीको अभिव्यक्ति ठूलै बाधक बन्नेछ ।

किनकि पुराना पार्टीका नेताहरु जीवित रहेसम्म नेतृत्व नछोड्ने र छोड्नु परे पार्टी फुटाउने प्रवृत्ति रहेको बुझाइकै कारण युवा पुस्ताको आकर्षण नयाँ पार्टीतिर देखिएको छ । एमाले अध्यक्ष ओलीले भने आफू भन्दा बुढो उमेरका नेताहरुलाई उदाहरण दिएर ७० वर्षे व्यवस्था हटाउँदैमा फरक नपर्ने तर्क गरेका छन् ।

‘७० वर्ष कहीँ पनि छैन दुनियाँमा । अमेरिकामा छ ? ८० वर्षको मान्छेले राष्ट्रपति चलाइराखेको छ, अनि शेरबहादुर देउवाजी ७७÷७८ कति वर्ष हो ? चलाइराख्नुभएको छ’, ओलीले उदाहरण दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४