काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरूले प्रतिनिधि सभा बैठकको शून्य समयमा समसामयिक विषय र आ–आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित विषयहरूमा धारणा राखेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरूले देशको समसामयिक विषयहरूमा आ–आफ्नो धारणा राखेका हुन् । त्यस्तै आ–आफ्नो क्षेत्रको विकास निर्माणका काम सम्बन्धी पनि सदस्यहरूले बोलेका छन् । प्रतिनिधि सभा सदस्य अजयकुमार चौरासियाले नागरिकताबिहिनहरुलाई अविलम्ब नागरिकता दिन सरकारसँग माग गरे । उनले नागरिकता नहुँदा नागरिकताबिहीनहरुलाई जीवनयापनमा समस्या भएको उनले बताए । प्रतिनिधि सभा सदस्य अनिता देवीले देशमा दाइजो र घरेलु हिंसाको समस्या बढिरहेको भन्दै समस्या समाधानमा सरकारले ध्यान दिनुपर्ने बताए ।
प्रतिनिधि सभा सदस्य अनिशा नेपालीले आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेट असमान र संवेदनहिन भएको बताए । सबै जिल्लामा समान व्यवहार गर्नुपर्ने भएपनि यसपटक तिन जिल्लाका लागि मात्रै विनियोजन भएको बताए । प्रतिनिधि सभा सदस्य अमरबहादुर थापाले विद्यालयका लेखापाल र कार्यालय सहयोगीहरू आन्दोलन रहेको भन्दै उनीहरूको माग सम्बोधन गर्न सरकारसँग माग गरे । उनले सहकारीबाट ठगिएका नागरिकहरू पनि आन्दोलित रहेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधि सभा सदस्य अमरबहादुर रायमाझीले विद्यालय कर्मचारीको समस्या यथाशीघ्र समस्या समाधान गर्न सरकारसँग माग गरे । उनले मदन भण्डारी राजमार्गले ओगटेको जग्गाको लगत कट्टा गर्न पनि माग गरे ।
प्रतिनिधि सभा सदस्य अमृतादेवी अग्रहरीले मधेशका कपिलवस्तु, रुपन्देही र नवलपरासीमा दैनिक ५ घण्टा लोडसेडिङ हुने गरेको भन्दै यसले जनजीवन प्रभावित भएको बताए । प्रतिनिधि सभा सदस्य अशोक कुमार चौधरीले थारु समुदायको ऐतिहासिक, पुरातात्विक जन्मदेखि मृत्युसम्म चाहिने डिबार ग्रामथानहरु सूचिकृत गर्न माग गरे । उनले थारु कला, संस्कृति, पर्यावरण क्षेत्रको विकास गर्न सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए । प्रतिनिधि सभा सदस्य असिम शाहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेर सही गरेको बताए । उनले भारतले नेपालको स्वाभिमान र सार्वभौम अस्तित्वमाथि निरन्तर आक्रमण गरिरहेको बताए ।
उनले भने ‘चलचित्र आदि पुरुषको कुरा मात्र होइन । यथार्थमा पनि कहिले बुद्ध उताको भनेको छ, कहिले सीता उता भनेको छ । कहिले कालापानी, लिम्पियाधुरा हाम्रो भनेको छ । कहिले सांस्कृतिक नक्सा भनेर हाम्रो ठाउँ नै गायब गराइएको छ । हाम्रो इतिहासमाथि छिमेकबाट यस्तो भइरहँदा हामीले भन्न सक्नुपर्छ कि यसले हाम्रो चित्त दुख्छ भनेर । हाम्रो स्वाभिमान र सार्वभौम अस्तित्वलाई अतिक्रमण गरेको छ भनेर । सरकारले स्वास दबाएर कोही न कोही कुनै न कुनै बेला बोल्नुपर्थ्यो । बालेनले बोले सही गरे । परराष्ट्रमन्त्री र सञ्चारमन्त्रीले यसलाई गम्भीर रूपमा लिनुपर्छ । नेपाली जनताको स्वाभिमानमा चोट पुग्ने यस्ता कुराहरू भावनात्मक नै किन नहुन सरकारले सम्बोधन नगरेपछि विभिन्न निकाय र जनस्तरबाट अहिले देखिएको जस्तो प्रतिक्रिया देखिनु स्वाभाविक हो ।
प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपाल भ्रमणमा आउने बुद्धिष्ट भिक्षु, भिक्षुणीहरूलाई विमानस्थलमा अपमानजनक व्यवहार हुने गरेको गुनासो आएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले भिक्षु, भिक्षुणीहरूलाई विमानस्थलमा फाष्टट्रयाकको व्यवस्था गर्न माग गरे । उनले भने ‘नेपाल भ्रमणमा आउने बुद्धिष्ट भिक्षु, भिक्षुणीहरू हुनुहुन्छ । उहाँहरूले नेपालको एयरपोर्टमा अपमानजनक व्यवहार व्यहोर्नुपरेको गुनासो उहाँहरूले गर्नुभएको छ । नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, एयरपोर्टमा भिक्षु, भिक्षुणीहरूका लागि फास्ट ट्र्याकको व्यवस्था गरियोस् । जुन धेरै बौद्धमार्गि देशहरूमा त्यो व्यवस्था छ । नेपालमा पनि त्यो व्यवस्था गरियोस् भनेर म सरकारसँग माग गर्न चाहन्छु ।
प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले किसानहरूका लागि मल, बिउ सहज रूपमा उपलब्ध गराउन र लम्पिस्किन रोग नियन्त्रणको प्रयास गर्न सरकारसँग माग गरे । प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउन १२० जना वकिलहरू लागि परेको भन्दै दोषीउपर निष्पक्ष छानबिन गर्न माग गरे । प्रतिनिधि सभा सदस्य ज्वालाकुमारी शाहले मधेसमा तापक्रम वृद्धिका कारण पानीको मुहान सुकेको भन्दै तराईमा पानी, बत्ती र सिँचाइको व्यवस्था गर्न माग गरे । उनले गुणस्तरीय शिक्षा र शिक्षकहरूको दरबन्दीको व्यवस्था मिलाउन किन ढिलाइ गरेको भनी सरकारलाई प्रश्न गरे ।