Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेलम्चीबाट थप ३४ करोड लिटर पानी ल्याउने योजना अलपत्र


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ३० २०८०
  • 1K
    SHARES

काठमाडौं । सरकारले बाढीग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्स्थापनामा ढिलाइ गर्दा मेलम्चीको सुरुङमार्फत थप दुई वटा खोलाको पानी पनि काठमाडौं ल्याउने योजना अलपत्र परेको छ ।

१ असार २०७८ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स (पानी सुरुङमा हाल्ने क्षेत्र)मा क्षति त पुर्यायो नै, त्यसले मेलम्चीको सुरुङ हुँदै सिन्धुपाल्चोकका यांग्री र लार्के खोलाको पानी पनि काठमाडौंमा ल्याउने योजना समेत अन्योलमा धकेलिदिएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा मेलम्ची आयोजनाको अस्थायी हेडवर्क्सको स्तरोन्नति गरी १२ महिना नै खानेपानी आपूर्ति गर्ने व्यवस्था मिलाउने र मेलम्ची जलाधारको भौगोलिक अध्ययन प्रतिवेदनको सुझाबबमोजिम आयोजनाको दिगो सञ्चालन गर्ने उल्लेख छ । आयोजनाको दोस्रो चरण अन्तर्गत मेलम्चीमा यांग्र्री र लार्के जोड्ने गरी संरचना निर्माण कार्य अघि बढाइने बजेटमा उल्लेख छ । 

आगामी वर्ष सरकारले मेलम्ची खानेपानी आयोजनामा ५० करोड ८३ लाख खर्च गर्ने योजना बनाएको छ । तर, आयोजनाका प्रवक्ता राजेन्द्र पन्त यो रकम पुनर्स्थापनामै खर्च हुने बताउँछन् ।

मेलम्चीको मुहानले अन्योल

अधिकारीहरुका मेलम्चीको दोस्रो आयोजना तत्कालै कार्यान्वयनमा जाने अवस्था छैन । मेलम्चीमा बाढीले बितण्डा नमच्चाएको भए आर्थिक वर्ष २०७८/७९मा नै मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोककै यांग्र्री र लार्के खोलाको पानी पनि मेलम्चीमा मिसाउने गरी ‘मेलम्ची खानेपानी आयोजना-२’ निर्माणको लागि ठेक्का प्रक्रिया थाल्न सक्थ्यो ।

यही सम्भावनालाई हेरेर २० चैत, २०७७ मा काठमाडौंमा मेलम्चीको पानी वितरणको सुरुवात गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षभित्र यांग्री र लार्के खोलाको पानी काठमाडौंमा ल्याउने घोषणा गरेका थिए । तर, मेलम्चीका आएको बाढीले मेलम्चीको मुहान क्षतिग्रस्त पारेपछि सरकार अलमलमै बस्दा अर्को योजनामा समेत ब्रेक लागेको छ ।

सरकार मात्रै हैन, यसमा लगानी गर्न इच्छुक एशियाली विकास बैंक (एडीबी) पनि मेलम्ची खानेपानी आयोजनालाई क्षति पुग्ने गरी बाढी आएपछि सो क्षेत्रको भौगर्भिक अवस्थाबारे विस्तृत अध्ययन नगरी आयोजनामा लगानी गर्न तयार देखिएको छैन । मेलम्ची खानेपानी विकास समितिका निर्देशक एवम् प्रवक्ता राजेन्द्र पन्तका अनुसार एडीबीले सो क्षेत्रको अध्ययन र मेलम्ची आयोजनाको पुनर्स्थापनाबारे अध्ययन गरिरहेको छ ।

एडीबीले मेलम्ची खानेपानी आयोजनाको मुहान नै सार्नुपर्ने निष्कर्ष निकालेर नयाँ मुहानस्थलको खोजी गर्दैछ । सरकार भने मेलम्चीको बाढीग्रस्त मुहान टालटुल पारेर जोखिमयुक्त अवस्थामै सुरुङमा पानी हालेर बसेको छ ।

प्रवक्ता पन्त एडीबीको अध्ययनले औंल्याउने सुझाव र निष्कर्षको आधारमा मेलम्ची-२ आयोजनाबारे थप निर्णय लिने बताउँछन् । बाढी आउनुअघि एडीबी दोस्रो परियोजनामा पनि ऋण लगानी गर्न इच्छुक थियो ।

पन्तका अनुसार मेलम्ची खानपानी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन मन्त्रालयमा स्वीकृतिका लागि पेश भइसकेको छ । तर, मेलम्ची पहिलोको मुहानका लागि सुरुङ खन्नुपर्ने र नयाँ मुहान खोज्नुपर्ने भएकाले डीपीआर अनुसार तत्कालै आयोजना अघि बढाउन भने समस्या छ ।

मेलम्चीको नयाँ मुहान निर्क्योल भएपछि यांग्री र लार्केबाट पानी ल्याइने सुरुङमार्फत मेलम्चीको नयाँ मुहानभन्दा माथि ल्याएर खसाल्ने गरी डीपीआर पुनरावलोकन गर्नुपर्ने अवस्था छ । दुई वटा खोलाको पानी मेलम्चीको सुरुङमा जोड्न खन्नुपर्ने थप सुरुङको लम्बाइ त्यसपछि मात्रै टुंगो लाग्ने छ ।

त्यसैकारण अहिले नै स्रोत सुनिश्चित गरेर ठेक्का लगाउनुपर्ने अवस्था छ । अझ मेलम्चीको बाढीका कारण सो क्षेत्रका खोलामा मुहानस्थलहरु बनाउँदा ठूला बाढीबाट पनि सुरक्षित रहने सुनिश्चित गर्नुपर्ने अवस्थाले यसअघिको डीपीआर पुनरावलोकन गर्नुपर्ने हुनसक्ने आयोजनाका अधिकारीहरु बताउँछन् ।

यसअघिको डीपीआरअनुसार यांग्र्री र लार्केको पानी सुरुङ बनाएर हालको मुहान अम्बाथानभन्दा माथि मेलम्चीमा ल्याएर मिसाउने र तयार रहेका मेलम्चीको विद्यमान संरचनाबाट पानी काठमाडौं ल्याउने योजना थियो । तर, मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा नै बाढीले क्षति पुर्याएको छ ।

आयोजना अधिकारीहरुका अनुसार अब यांग्र्री र लार्केको पानी ल्याउन बनाउने सुरुङ मेलम्चीको हाल तयार रहेको सुरुङमा सिधै जोड्नुपर्ने हुनक्छ । त्यो गर्नु परेमा यांग्री र लार्केमा आ-आफ्नै ‘पानी छान्ने संयन्त्र’ बनाउनुपर्ने हुनसक्छ ।

पूर्वतयारीमा सीमित

समितिका निर्देशक पन्त अहिले समितिको मुख्य ध्यान आयोजनाको पुनर्निर्माण सक्नेतर्फ केन्दि्रत छ । ‘मेलम्चीको दोस्रो आयोजना सुरु गर्न पूर्वतयारीका काम भइरहेका नै छन्,’ उनले भने, ‘उपयुक्त समयमा त्यसको पनि निर्माण सुरु हुन्छ ।’ मेलम्ची क्षेत्रको जोखिमको मूल्यांकन गरेर मात्रै नयाँ आयोजना निर्माणको प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

मेलम्ची खानेपानी आयोजनाका पूर्व प्रमुख घनश्याम उपाध्याय बनिसकेको सुरुङ जोगाएर यांग्र्री र लार्केको पानी ल्याउने विकल्प जीवितै राख्नुपर्ने बताउँछन् । ‘मेलम्ची आयोजना बनाउँदा हामीले माथिल्लो तटमा तीन किलोमिटरभन्दा माथि गएर भौगर्भिक अवस्था हेरेनौं,’ उनले भने, ‘अब यांग्री र लार्केमा हामीले माथिल्लो तटीय क्षेत्रको पनि गहन अध्ययन गरेर मात्रै काम गर्नुपर्छ ।

डीपीआरअनुसार मेलम्चीको मुहानबाट झण्डै १२ किलोमिटर टाढा रहेको यांग्र्री र लार्के खोलाको पानी मेलम्चीमा मिसाउन ११ किलोमिटर लामो सुरुङ खन्नुपर्ने देखिएको छ । विस्तृत परियोजना प्रतिवेदन -डीपीआर) अनुसार यो आयोजना बनाउन ४ वर्ष लाग्ने देखिन्छ । यसका लागि झण्डै ३० करोड अमेरिकी डलर अर्थात् झण्डै ३० अर्ब रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान छ । हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आएको छ भने यांग्री र लार्के खोला मिसाएपछि दैनिक ५१ करोड लिटर पानी आपूर्ति हुने प्रक्षेपण छ । यसबाट काठमाडौंमा पानीको अभाव टार्न मद्दत पुग्ने विश्वास छ ।

आयोजनाका लागि सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा जग्गा अधिग्रहणको काम चलिरहेको छ । आयोजनाको सुरुङ प्रवेश मार्ग, हेडवर्क्स, क्याम्पसाइट, माटो थुपार्ने ठाउँ लगायतका लागि जग्गा अधिग्रहण भइरहेको हो । ‘योजना पछाडि सरेको मात्रै हो, त्यो आयोजना पछि समितिमार्फत नै अघि बढ्छ,’ प्रवक्ता पन्तले भने, ‘सरकारले चाहेमा यस वर्ष बजेटमार्फत खारेज भएर गठन आदेशमार्फत फेरि ब्युँतिएको समितिले यो आयोजना निर्माणको काम गर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४