काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोले आफ्नो ज्यान असुरक्षित भएको बताएकी छन् । उनले कानुन विपरीतका काममा सहयोग नगर्दा आफूलाई ज्यान मार्ने धम्की आएको बताएकी हुन् ।
नगरपालिका २ निगौलमा निजी जग्गामा सार्वजनिक धर्मशाला बनाउन लाग्दा परेको उजुरीमाथि छलफलको क्रममा आफूमाथि आक्रमण प्रयास भएको उपमेयर महतोले बताइन् । जनकपुरमा पत्रकार सम्मेलन गर्दै उनले मेयर डा. दीपेन्द्र महतो निकटका व्यक्तिहरूलाई आफूलाई सुरक्षा खतरा रहेको बताएकी हुन् । गौशालाका मेयर महतो थमन विक हत्या प्रकरणमा निलम्बित एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीका छोरा हुन् ।
मेयरले आफू अनुकूल मिलेमतोमा मनोमानी ढंगबाट बजेट सिध्याउने दाउमा धमाधम नियम विपरीत काम गर्न दबाब दिने गरेका उनको भनाई छ । ‘मलाई नियोजितरूपमा मेरै कार्यकक्षमा ज्यान मार्ने प्रयास भएको छ । अफिसको समय सकिँदा भीडभाड नभएको मौका छोपेर पूर्वयोजना अनुसार वडाध्यक्ष र श्याम सुन्दर मण्डल र सुरेन्द्र महतोले ज्यान मार्ने प्रयास गर्यो,’ उनले भनिन् ।
निर्माणाधीन धर्मशालाको विषयमा न्यायिक छलफल भइरहेको बेला आफूमाथि आक्रमण प्रयास भएको उपमेयर महतोका दाबी छ । ‘ म आफैँ न्यायिक समितिको संयोजक भएपनि दुर्व्यवहार भएको छ,’ उनले भनिन्, ‘अब म आफैँ न्याय खोज्न कहाँ जाऊँ ? मलाई मेरो ज्यान असुरक्षित महसुस हुँदैछ ।