Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखरा महानगरपालिकामा कार्यरत ६५६ जना स्वास्थ्य स्वयंसेविकाहरूलाई स्वास्थ्य सामग्री वितरण


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ ५ २०८०
  • 2.5K
    SHARES

पोखरा । पोखरा महानगरपालिकामा कार्यरत ६५६ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई स्वास्थ्य सामाग्रीहरू वितरण गरिएको छ । महानगरपालिकाको स्वास्थ्य महाशाखाद्वारा आयोजित स्वास्थ्य सामाग्री वितरण तथा वृहद भेलामा प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ लगायतले उनीहरूलाई ती सामाग्रीहरू वितरण गर्नुभएको हो ।

सो क्रममा प्रमुख आचार्यले नागरिकको स्वास्थ्य सुरक्षाको सवालमा महिला स्वास्थ्य स्वयंसेविकाहरुले गरेको सेवा र खर्चिएको समय उत्तिकै महत्त्वपूर्ण रहेको बताउनुभयो । “आफ्नो समय नागरिकको जनस्वास्थ्यमा लगाउने गरी विगत लामो समयदेखि यहाँहरू अहोरात्र खटिरहनु भएको छ, प्रमुख आचार्यले भन्नुभयो, निस्वार्थ सेवाको भाव सामाजिक रूपमा किट ब्याग बोकेर यहाँहरूले गौरवका साथ देखाउनु भएको छ, यहाँहरूको महानता, समर्पण र सेवा प्रति म नतमस्तक छु ।” सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सामाजिक योगदान अतुलनीय रहेको प्रमुख आचार्यले बताउनुभयो ।

महानगरको टोल टोलमा पुगेर स्वास्थ्य सचेतनाको जागरण ल्याउने र मानिसहरूलाई आफ्नो स्वास्थ्य प्रति सचेत गराउने स्वास्थ्य स्वयम सेविकाहरूलाई खटाई अनुसारको सेवा सुविधा दिन नसकिएको उल्लेख गर्दै उहाँले आगामी आर्थिक वर्षबाट यसलाई सम्बोधन गर्न विशेष पहल गरिने बताउनुभयो । “स्वयंसेविकाहरूको सेवा सुविधाका विषयमा हामीले पनि महसुस गरेकै विषय हो, उहाँले भन्नुभयो, आगामी आ.व देखी यसमा थप केही व्यवस्था गर्ने सम्बन्धमा विशेष पहल गरिनेछ ।” स्वास्थ्यका हिसाबले मानवीय सेवामा उनीहरूले दिएको समय अतुलनीय रहेको उहाँले बताउनुभयो ।

उप प्रमुख मन्जुदेवी गुरुङले आधारभूत सेवाको पहुँच नपुगेका दूर दराजमा पुगेर सरकारको उपस्थिति देखाउने स्वयंसेविकाहरूको योगदान उल्लेखनीय रहेको बताउनुभयो । महिला, बालबालिका र वृद्धावृद्धहरुलाई अप्ठ्यारो परेका बेला पहिलो सेवकको रूपमा उपस्थिति जनाउने महिला स्वास्थ्य स्वयंसेविकाहरू आफैमा अनुकरणीय भएको उल्लेख गर्नुभयो । “सरकारको तर्फबाट तपाँईहरुलाई जति सम्मान दिनुपर्ने हो, त्यो हुन सकिरहेको छैन, उपप्रमुख गुरुङले भन्नुभयो, पोखरा महानगरपालिकाको क्षमताले भ्याएसम्म आगामी बजेटमा तपाँईहरुका समस्याहरू सम्बोधन गर्ने प्रयत्न गरिने छ ।”

पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले स्वयंसेविकाहरूलाई आवश्यक सामाग्रीहरूको व्यवस्था गरिनु पर्ने बताउनुभयो । उनीहरूलाई आवश्यक सम्पूर्ण प्रकारका सामाग्रीहरू सहित सेवा निवृत्त पश्चात् पाउने उपादानमा समेत वृद्धि गर्नु पर्नेमा जोड दिनुभयो । यस्तै वडा नं. १७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले स्वास्थ्य स्वयंसेविकाहरुले टोल टोलमा पुगेर स्वास्थ्य शिक्षाको चेतना अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो ।

महानगरको स्वास्थ्य समितिका उपाध्यक्ष पूर्ण लामाले महानगरद्वारा सञ्चालित स्वास्थ्य संस्थाहरूको सेवा विस्तार र क्षमता अभिवृद्धि आवश्यक रहेको बताउनुभयो । महानगरद्वारा सञ्चालित अस्पताल, सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र, स्वास्थ्य चौकी लगायतको सेवा विस्तार गर्दै ती स्वास्थ्य संस्थाहरू विश्वासिला र भरपर्दा बनाउनु पर्ने बताउनुभयो । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बद्री अर्यालले महिला स्वास्थ्य स्वयंसेविकाहरू केवल व्यक्ति नभएर सरकारको प्रतिनिधिका रूपमा जनताको घरदैलोमा पुग्ने गरेको बताउनुभयो । देशभरि मातृ शिशु मृत्युदर घटाउने कार्यमा उनीहरूको योगदान महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख कृष्ण अर्यालले महिला स्वास्थ्य स्वयम सेविकाको सक्रियताका कारण सामाजिक रूपमा धेरै परिवर्तनहरू भएका बताउनुभयो । “बच्चाको नाभि काट्नका लागि पुरानो हँसिया राख्ने प्रवृत्तिको अन्त्य भएको छ, पखला लाग्दा पानी खानु हुँदैन भन्ने मान्यताको अन्त्य भएको छ, उहाँले भन्नुभयो, तपाँईहरुका कारण बालबालिकाहरूलाई पोलियो थोपा खुवाउनु पर्छ भन्ने सुरुवात भएको छ, समाजमा आयोडिनयुक्त नुन खानुपर्छ भन्ने मान्यताको सुरुवात भएको छ ।” यी सबै सुधारहरूमा महिला स्वास्थ्य स्वयंसेविका नै पहिलो हकदार हुने उहाँले उल्लेख गर्नुभयो ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुले विभिन्न खोप अभियान तथा भिटामिन खुवाउने कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन तथा सम्पन्न गर्नमा लागि निकै ठुलो योगदान गर्ने गरेका छन् । उनीहरूलाई महानगरपालिकाले झोला, प्राथमिक उपचारमा प्रयोग हुने औषधी सहितको किट बक्स, लाइट, छाता लगायतका सामाग्रीहरू वितरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४