काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा भएको छलफलको विषय सार्वजनिक भइसकेको छैन । तर प्रधानमन्त्रीको सचिवालयले भने समसामयिक राजनीतिबारे छलफल भएको जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल’ नेताहरु मुछिएका बेला शीर्ष नेताहरुबीच सोही विषयमा छलफल भएको स्रोतले बतायो । यो प्रकरणमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनकी पत्नी मञ्जु खाँण देउवा पत्नी आरजु राणा देउवा लगायतको नामसमेत मुछिएपछि राजनीति तरंगित भएको छ । यद्यपि नेपाली कांग्रेसनेकपा एमालेले यसबारे चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् ।
नक्कली शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि दुई पटकसम्म प्रधानमन्त्री प्रचण्डलाई भेटेर छलफल गरेका थिए । उनले कसैलाई चोख्याउने र कसैलाई दण्डित गर्ने नियत राखिएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् । हाल नेकपा एमाले सचिव टोपबहादुर रायमाझी फरार रहेका छन् ।