काठमाडौं । पोखरा सांस्कृतिक सहर हो । यहाँ विभिन्न जातजातिको आ–आफ्नै संस्कार संस्कृति छन् । संस्कृति र संस्कार अनुसार विभिन्न सांस्कृतिक कार्यक्रम पोखरामा भई नै रहेका हुन्छन् । पोखरामा गाईजात्रा, माघेजात्रा, भैरव जात्रालगायतका जात्राहरु हुने गरेका छन् । त्यसैले पोखरालाई जात्रैजात्राको सहर भनेरपनि चिनिन्छ ।
तिनै जात्राहरु मध्येको एक जात्रा बाघजात्रापनि हो । एक सय वर्ष भन्दा अघिदेखि शुरु गरिएको यो जात्रा अहिले लोपोन्मुख अवस्थामा छ । पछिल्लो २३ वर्षदेखि यो जात्रा आयोजना हुन सकेको छैन । २०५७ सालमा तीन दिनसम्म नचाइएको बाघ जात्रा त्यसपछि हुन नसकेर लोपोन्मुख अवस्थामा पुगेपछि यस वर्ष नचाउने तयारी गरिएको छ । अबदेखि भैरब नाच र बाघ जात्रा ३÷३ वर्षको अन्तरमा गर्नेगरी यस वर्ष निकाल्ने तयारी गरिएको सचिव उलकले बताए ।
बाघजात्रा निकाल्दा ९० देखि एक सय जनासम्म जनशक्ति आवश्यक पर्ने तयारी समितिका संयोजक जवाहरलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार बाघ जात्रामा राजा रानी, मन्त्री, घोडासहित सेना, प्रहरी र जनतापनि पात्रका रुपमा समावेश हुन्छन् । भैरवनाच संरक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गले लाखेजात्रा, घोडाजात्रा र माघेजात्राको संयुक्त रुप बाघजात्रा भएको बताए ।
तयारी समिति सदस्य दीपेन्द्र श्रेष्ठले बाघजात्रा रैथाने र मौलिक जात्रा भएको बताए । उनले भने,‘यो कुनै जाति विशेषको जात्रा होईन बरु सम्पूर्ण पोखरेलीको हो । त्यसैले यसलाई सबै पोखरेली मिलेर सफल पारौं ।’
बाघजात्रापनि भैरव नाचकै गुरु कृष्णदेव प्रधानाङ्गले प्रशिक्षण गराउने समितिले जनाएको छ ।
बाघाजात्रा तयारी समिति बनाएर यस वर्ष आगामी भदौ १८, १९ र २० गते निकाल्ने तयारी गरिएको मूल आयोजक समितिका सचिव सुनिल उलकले जानकारी दिए । खर्चिलो हुने यस जात्राका लागि पोखरा महानगरपालिकादेखि वडासम्मले सहयोगको प्रतिबद्धता जनाएका छन् । शनिबार गरिएको बाघजात्रा तयारी सम्बन्धी छलफल कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतीराज तिमिल्सिनाले बाघ जात्रा पोखरेलीको गौरव भएकाले यसको संरक्षणमा हुन लागेको जात्रालाई सफल बनाउन महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाए । हाम्रो देश बहुजाति र बहुभाषी छ । यसका संस्कार संस्कृति गौरवपूर्ण छ,उनले भने,‘तर पछिल्लो समय धर्म संस्कृतिहरु लोपोन्मुख अवस्थामा छन्, त्यसलाई पुस्तान्तरण गर्नुपर्छ । त्यसका लागि नया पुस्तालाई तयार गर्न यस्ता जात्राहरु प्रदर्शन हुनुपर्छ ।’
पोखरा–२ का वडाध्यक्ष दीवसमान प्रधानाङ्गले संस्कृति सम्पती भएकाले यसलाई जोगाउन वडाले सहयोग गर्ने बताए । ‘आर्थिकको चिन्ता नलिनुस् हामी सहयोग गर्छौं, तपाईंहरु तयारी थाल्नुस’–उनले भने ।
पोखरा–३ का वडाध्यक्ष प्रकाश उदासले जात्राका लागि जात्राजस्तो नभई सुसंस्कृत हुनुपर्ने भन्दै यो पहिचानसँग जोडिएको विषय भएको बताए ।
पोखरा–११ का वडाध्यक्ष प्रेम कर्माचार्यले युवा डिढीले बिर्सिसकेको संस्कृति ढिला भएपनि हुन लागेकोमा खुशी व्यक्त गरे ।
पोखरा–२३ का वडाध्यक्ष रामकाजी गुरुङले लोपोन्मुख संस्कृति व्यूँताउन लागेकोमा धन्यवाद दिदै त्यसका लागि वडाले सहयोग गर्ने आश्वासन दिए । ‘संस्कार, संस्कृति पहिचान हो । यो बिर्सियौं भने पहिचान मेटिन्छ । त्यसैले संस्कृतिको सबै मिलेर जगेर्ना गरौं’–उनले भने ।
नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले पोखरा पर्यटनसँगै संस्कृतिको सहर भएको बताए । पर्यटक प्रकृतिसँगै संस्कृति हेर्न आउँछन्,उनले भने,‘बाघजात्रा नेवारको मात्र होईन, पोखरेलीको हो त्यसैले यसलाई सबै मिलेर जोगाउनुपर्छ ।’
पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्यले बाघजात्रा सांस्कृतिकसँगै व्यापारिक प्रवद्र्धनका लागि निकालिने गरेकाले यसको महत्व अहिलेपनि उत्तिकै रहेको बताउ । उनलेपनि बाघजात्रा निकाल्नका लागि नीजि क्षेत्रले दिल खोलेर सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नेवा मिस पुचःका अध्यक्ष संगीता बज्राचार्यले जात्रा आयोजनाका लागि आफूहरु दिनरात खटिन तयार रहेको बताईन् ।