काठमाडौं । कपनको सरस्वतीनगरीस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्य निरुको हत्यामा संलग्न रहेको आशंकामा झापाबाट एक जना पक्राउ परेका छन् ।
प्रकरणको अनुसन्धानका लागि गठित छानबिन समितिले झापाबाट विनोद विकलाई पक्राउ गरेको समिति उच्च स्रोतले बतायो ।
एआईजी किरण बज्राचार्यको नेतृत्वमा गठित समितिका एक उच्च अधिकृतले अनुसन्धानले सकरात्मक मोड लिएको बताउँदै थप विवरण केही समयपछि सार्वजनिक गर्ने जनाए ।
७ वैशाखमा पसलमा दिनदहाडै छुरा प्रहार गरेर पाण्डेको हत्या भएको थियो । प्रहरी प्रभाग, कपनको टोली घटनास्थलमा पुग्ने वित्तिकै त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।
तर, चिकित्सकहरुले मृत घोषित गरेका थिए । पोष्टमार्टममा संलग्न चिकित्सकहरुका अनुसार निराको शरीरमा कम्तिमा १९ पटक छुरा प्रहार गरिएको थियो ।
हत्या भएको एक साताभन्दा बढी समय भइसक्दा पनि आरोपी पक्राउ पर्न नसकेको भन्दै प्रशासनविरुद्ध आन्दोलन भइरहेको थियो । त्यहीबीच प्रहरीले शनिबार राति झापाबाट एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
निराले चलाएको ‘निरु किचेन’ बाट करिब ३ सय मिटर पर निराका श्रीमान योगेन्द्र आचार्यले इलेक्ट्रिक सामग्री पसल चलाएका छन् । योगेन्द्र र निराकी १० वर्षीया छोरी छिन् । काठमाडौंको मुटुमा भएको विभत्स हत्या अनुसन्धानमा ढिलाई भएको भन्दै प्रश्न उठेपछि प्रधान कार्यालयले शुक्राबार एआईजीको नेतृत्वमा समिति बनाएको थियो ।
पाण्डे झण्डै १० वर्षदेखि ‘निरु किचन’ चलाउँदै आएकी थिइन् । व्यवसाय राम्रो हुँदै गएपछि करिब तीन वर्षअघि उनी र श्रीमान् योगेन्द्र आचार्यले अर्को पसल पनि खोलेका थिए । अर्को पसल एक सय मिटरको दूरिमा थियो ।
वैशाख ७ मा सामान किनेको पैसा बुझाउन जाँदा एकजना महिलाले काउन्टरमा ३५ वर्षीया निरा रगतपच्छे भएर ढलेको देखेपछि परिवारलाई खबर गरेकी थिइन् । उनको शरीरको २० ठाउँमा चक्कुले हानेर हत्या गरिएको थियो । हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टिमले अनुसन्धान गरेको थियो ।