काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले संसदको हिउँदे अधिवेशन अन्त्य गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतमा रहेका कारण यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका थिए । उनले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषदले वैशाख १२ गते गरेको सिफारिसका आधारमा आज शुक्रबार राति १२ बजेपछि संसदको अधिवेशन अन्त्य गरेको बताएका छन् ।
संघीय संसदको दुवै सदनको चालु हिउँदे अधिवेशन आज मध्यरातबाट अन्त्य हुने भएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको वैशाख १२ गतेको सिफारिसमा कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले अधिवेशन अन्त्य गर्नुभएकाे छ ।
यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राती १२:०० बजेदेखि अन्त्य गरेको छु ।’
राष्ट्रिय सभामा १३ औं अधिवेशन अन्तर्गत यो हिउँदे अधिवेशनमा १९ बैठक बसेको छ भने प्रतिनिधि सभामा २८ बैठक बसेको छ ।
