काठमाडौं । तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनको मतगणना चलिरहेको छ । तर नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले हार स्वीकार गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्ले भन्दा १० हजार मतले पछाडि परेपछि उनले सोमबार साँझ सामाजिक सञ्जाल फेसबकुमार्फत जनादेशलाई शिरोपर गर्ने बताएका छन् ।
अर्थात रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेको जितको घोषणा अब औपचारिकताका लागि मात्र बाँकी छ । किनकी तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनाल १६ हजार मतले पछाडि छन् ।
तनहुँ–१ मा रहेका ४२ वटा वडामध्ये सोमबार साँझसम्म ३३ वटाको गणना सकिएको छ भने ९ वटामा बाँकी छ । गणना गर्न बाँकी बन्दीपुर गाउँपालिका र ब्यास नगरपालिकाका वडाहरुमा यही अनुपातमा मत आए वाग्ले १० हजारभन्दा बढी मत अन्तरले विजयी हुने देखिन्छ ।
उपचुनावमा वाग्ले निर्वाचित हुन सक्छन् भन्ने मतदानअघि नै देखिएको थियो । नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले पनि अनौपचारिक सम्वादहरुमा यो रास्वपाको लहर आएको स्वीकार गरेका थिए । तर भारी मतान्तरको अनुमान गरेका थिएनन् ।
आइतबार मध्यरातबाटै मतगणनामा अग्रता लिएका वाग्लेले अरु उम्मेदवारलाई एक पटक पनि अगाडि आउन दिएनन् । अहिलेसम्म गणना भएको वडाहरुको मतको विश्लेषण गर्दा पनि देवघाट गाउँपालिकाबाहेक सबैतिर रास्वपाको लहरै चलेको देखिन्छ ।
गत वैशाख ३० मा भएको स्थानीय चुनानवमा आँबुखैरेनी गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षसहित ३ वडामा माओवादीले जितेको थियो । दुई वटा कांग्रेस र एउटा एमालेले जितेको थियो । यो पटक सबै वडामा रास्वपाले धेरै मत पाएको छ ।
आँबुखैरेनीको मत
| वडा नम्बर | रास्वपा | कांग्रेस | स्थानीय चुनावमा वडाको मत र विजयी दल |
| १ | १०६५ | २७६ | ८५९ (माओवादी) |
| २ | ८८१ | ३३६ | ६६७ (माओवादी) |
| ३ | १५१८ | ४०१ | १००८ (कांग्रेस) |
| ४ | ३३२ | २३७ | ४३३ (कांग्रेस) |
| ५ | ३७१ | १४९ | २८८ (माओवादी) |
| ६ | २८१ | ७०४ | ३९० (एमाले) |
आँबुखैरेनीको वडा नम्बर २ नेकपा माओवादीका गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानको आफ्नै वडा पनि हो । १ हजार २९२ मत खसेको यो वडामा वाग्लेले ८८१ मत पाएका छन् । जबकी नेकपा माओवादीले समर्थन गरेका नेपाली कांग्रेसका भट्टराईले ३३६ मत मात्र पाएका छन् । नेकपा एमालेका सर्वेन्द्र खनालले १०८ मत पाएका छन् ।
भानु नगरपालिका नेपाली कांग्रेसको पकड भएको नगर हो । तर यहाँ पनि रास्वपाको लहर नै चलेको छ । हालसम्म गणना भएको ९ वटै वडामा डा.स्वर्णिमले धेरै मत पाएका छन् । जबकी स्थानीय चुनावमा ७ वटा कांग्रेसले जितेको थियो ।
भानु नगरपालिका
| वडा नम्बर | रास्वपा | कांग्रेस | स्थानीय चुनावमा वडाको मत र विजयी दल |
| ३ | ७१६ | ४१८ | ९०८ (कांग्रेस) |
| ४ | ७५९ | ४८३ | ९७३ (कांग्रेस) |
| ५ | ७७६ | ५३१ | ९५५(कांग्रेस) |
| ६ | ६८४ | ५४९ | ८५६ (कांग्रेस) |
| ७ | ६५५ | ३१२ | ५८४ (कांग्रेस) |
| ८ | ८५६ | ४५८ | १०८२ (कांग्रेस) |
| ९ | ८१४ | ४५६ | १००९ (एमाले) |
| १० | ८४६ | ५५१ | १२९१ (कांग्रेस) |
| ११ | १२०२ | ५९३ | १०६३ (स्वतन्त्र) |
वडा नम्बर ९ केन्द्रीय सदस्य एवं सांसद शंकर भण्डारीको घर भएको वडा हो । १,६८८ मत खसेको यो वडामा रास्वपाका वाग्लेले ८१४ मत पाउँदा नेपाली कांग्रेसका भट्टराईले ४५६ मत प्राप्त गरे । नेकपा एमालेका खनालले ३८६ मत पाए ।
यस्तै वडा नम्बर ११ कांगे्रसबाट कारबाहीमा परेका गोविन्दराज जोशीको घर भएको वडा हो । यहाँ २०१४ मत खसेको थियो । यो पटक कांग्रेसले जोशीलाई फकाउने प्रयास मात्र गरेन, उनीमाथि गरिएको कारबाही समेत फुकुवा गरेको थियो । तर त्यसको कुनै प्रभाव देखिएन । यहाँ स्वर्णिमले नै धेरै मत पाएका छन् ।
स्थानीय निर्वाचनमा बन्दिपुर गाउँपालिकाको अध्यक्ष नेकपा एमाले र उपाध्यक्ष नेपाली कांगे्रसले जितेको थियो । तीन वटा वडा नेकपा एमालेले जित्दा नेकपा माओवादीले २ र नेपाली कांग्रेसले एउटा जितेको थियो । तर उपचुनावमा सबैतिर रास्वपाले धेरै मत पाएको छ ।
बन्दिपुर गाउँपालिकाको मत
| वडा नम्बर | रास्वपा | कांग्रेस | स्थानीय चुनावमा वडाको मत र विजयी दल |
| १ | ११३० | ६५२ | ९०९ (एमाले) |
| २ | ५५९ | ५८६ | ६५३ (माओवादी) |
| ३ | ४०४ | ३९० | ४०५ (कांग्रेस) |
| ४ | ६९० | ३९२ | ७४० (एमाले) |
| ५ | ६३२ | ३५१ | ५९१ (माओवादी) |
| ६ | ४४० | ३७० | ५४५ (एमाले) |
देवघाटको अग्रताको अर्थ रहेन
देवघाट गाउँपालिकामा भने रास्पवाका वाग्लेले भन्दा धेरै मत कांग्रेसका उम्मेदवार भट्टराईले पाएका थिए । तर स्थानीय चुनावमा आफनो दलले पाएको जति मत पाएनन् ।
साथै अरु पालिकामा पाएको मतका कारण स्वर्णिमले अग्रता कायमै राखे । स्थानीय चुनावमा देवघाटको अध्यक्षमा नेपाली कांगे्रस र उपाध्यक्षमा नेकपा माओवादी विजयी भएका थिए । ५ मध्ये तीन वटा वडा कांग्रेस र २ वटा एमालेले जितेको थियो ।
| वडा नम्बर | रास्वपा | कांग्रेस | स्थानीय चुनावमा वडाको मत र विजयी दल |
| १ | २७८ | ३३३ | ८९८ (एमाले) |
| २ | २०७ | ५८० | ८५८ (कांग्रेस) |
| ३ | २४९ | ३२२ | ५०४ (कांग्रेस) |
| ४ | १६८ | २७२ | ४१२ (एमाले) |
| ५ | १३८६ | ६९५ | १८०६ (कांग्रेस) |
४ मंसिरको चुनावमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३६१ मत पाएका विजयी भएका थिए । दोस्रो स्थानमा रहेका नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९१८ मत पाउँदा तेस्रो स्थानमा रहेका गोविन्दराज जोशीले ६ हजार ८८६ मत पाएका थिए भने चौथो स्थानमा रहेका रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए ।
समानुपातिकतर्फ यो क्षेत्रमा कांग्रेसले २० हजार १५८, नेकपा एमालेले १६ हजार ६८३, राष्ट्रिय स्वतन्त्र पार्टीले १२ हजार ७७३ र माओवादी केन्द्रले ७ हजार ३२६ मत पाएको थियो ।
यही आंकडाका आधारमा कांग्रेस नेताहरुले हिसाब थियो, एमालेले आफ्नो मत जोगायो भने स्वर्णिमले काट्ने कांग्रेसको मत माओवादी केन्द्रको मतले पूर्ति हुन्छ । र, थोरै मतान्तरमा हारजित हुन्छ । एमालेले चाहिँ कांग्रेसको मत स्वर्णिमले काट्दा आफ्नो मत जोगाउन सके सर्वेन्द्रले जित्न सक्ने दाबी गरेको थियो ।
तर रास्वपाका उम्मेदवार डा.स्वर्णिमले त्यो मत मात्र जोगाउनुका साथै सबै दलको मत पाएको देखिन्छ । अन्तर्राष्ट्रिय स्तरमै छवि बनाएका अर्थशास्त्री वाग्लेले कांग्रेसमा निरन्तर अवहलेना भएको भन्दै पार्टी परित्यागको घोषणा गरेका थिए । कांग्रेसमा ‘अवसर नपाएका’ क्षमतावान स्वर्णिम मतदाताको रुझान भएको रास्वपाबाट उम्मेदवार बनेपछि तनहुँ १ मा लहर नै चलेको देखिन्छ ।