काठमाडौँ । संसदमा विश्वासको मत नपाएर नेकपा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकार ढलेसँगै नेपाली कांग्रेस-नेकपा माओवादी नयाँ सरकार गठनको कसरतमा जुटेका छन् ।
तर उनीहरुबीच पहिले कसले सरकारको नेतृत्व गर्ने भन्नेमा अन्योल छ । तनहुँको उपनिर्वाचनका कारण पनि गण्डकी सरकार गठनमा केही समस्या देखिएको छ । स्रोतका अनुसार उपचुनावलाई देखाएर नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्वमा बार्गेनिङ गरिरहेको छ ।
‘सरकारको नेतृत्व पहिले पाए तनहुँमा चुनाव जिताउने नत्र फरक नतिजा आउन सक्ने धम्की नेकपा माओवादी केन्द्रले दिएको छ,’ स्रोत भन्छ, ‘तर नेपाली कांग्रेसले पहिले नेतृत्व गर्न खोजेको छ । चुनाव हार्ने डर पनि नेपाली कांग्रेसलाई उत्तिकै छ । त्यसैले शनिबार नै नयाँ मुख्यमन्त्री बन्ने बाटो रोकिएको हो ।
प्रदेश प्रमुखले चाहेमा उपधारा (३) अनुसार सीधै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र राज पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सक्छन् । नेकपा एमालेले पनि उपधारा (२) को पाटोलाई समाप्त पार्नका लागि आवश्यक मत नभएपनि विश्वासको मत सदनबाट मागेको नेकपा एमाले नेताहरूको तर्क छ ।
नेकपा एमालेलाई थाहा छ नि विश्वासको मत पाइँदैन भन्ने । अहिले उपधारा (२) अनुसारको सरकार हो । विश्वासको मत नपाएपछि उपधारा (३) अनुसार सरकार बन्छ,’ मन्त्री वेदबहादुर गुरुङले भने, ‘यसको प्रमुख कारण भनेको उपधारा (२) मा अब सरकार नबनोस् भन्ने नै हो ।
दुवै पार्टीले पहिले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने दाबी छोडेका छैनन् । नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले शीर्ष तहमा सहमति भएपछि सरकार बन्ने बताएका छन् । ‘प्रदेशभित्रको मात्रै कुरा होइन । केन्द्रीय स्तरका नेताहरूको पनि सहमति चाहिन्छ, उनले भने, ‘अबको नेतृत्व कांग्रेसकै हुन्छ ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले पनि नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । ‘आलोपालोको सहमति भएको छ । कसले पहिले नेतृत्व गर्ने भन्ने निर्णय आज हुन्छ । मैले बुझेको चाहिँ नेकपा माओवादी केन्द्रले नेतृत्व पहिले गर्छ ।